|

बाँके : नेपालका विश्वविद्यालयमा पढ्ने संस्कृतिको विकास गर्न नेपालगन्जमा शैक्षिक मेला हुने भएको छ। विदेशका विश्वविद्यालयमा उच्च शिक्षा लिन जानेको संख्या बढ्दै गएपछि यहि फागुन १० र ११ गते नेपालगन्जमा पाँचौ संस्करणको शैक्षिक मेला आयोजना गर्न लागिएको हो। 

‘लर्न लोकल्ली, फिट ग्लोबल्ली’ भन्ने मुख्य उद्देश्यले ‘स्टडी इन नेपाल’ मेला आयोजना गर्न लागिएको ५ नं. प्रदेशका संयोजक भरत विष्टले जानकारी दिए। उनले मेलामा अध्ययनका लागि विदेशका विश्वविद्यालयमा जाने विद्यार्थीलाई नेपालमा पनि गुणस्तरिय शिक्षा दिने कलेज भएको जानकारी दिइने बताए। मेलामा नेपालका गुणस्तरिय शिक्षा दिँदै आएका शैक्षिक संस्था मार्फत विद्यार्थीले आवश्यक परामर्श पाउने मेला संयोजक विष्टले बताए।‘नेपालमा संचालनमा रहेका अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थाका बारेमा विद्यार्थीले जान्ने बुझ्ने अवसर पाउने छन्’ उनले भने। 

मेलामा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाले विद्यार्थीलाई निशुल्क परामर्श दिने भएका छन्।सो अवसरमा विद्यार्थीले विविए, एमविए, विआइटी, विआइएम, विएचएम, विटिटिएम, विविएम, विएचटिएम, विएएसडब्लु, विसिए, विविएस, विएस्सी, सिएसआइटी, विडेभ्स लगायत कोर्षका बारेमा जानकारी पाउने आयोजकले जनाएको छ। 

शैक्षिक मेलामा विश्वविद्यालय र शैक्षिक संस्थाले दिने शिक्षा, छात्रबृत्ती लगायतका विषयमा पनि विद्यार्थीलाई जानकारी दिइने भएको छ। नेपालमा अध्ययन हुने शिक्षा र अवसरका बारेमा मेलामा जानकारी दिइनेछ,’ पत्रकार सम्मेलनमा विष्टले भने। पत्रकार सम्मेलनमा ब्राइटल्याण्ड कलेजका प्रवन्धक राजेशकृष्ण खरेलले नेपालका शैक्षिक संस्थाले विश्व परिवेश सुहाउँदो शिक्षा दिँदै ‘लर्न लोकल्ली, फिट लोकल्ली’ शिक्षा आजको आवश्यकता भएको बताए। उनले उच्च शिक्षा आर्जनका लागि नेपाली युवा बाहिर जाने क्रम नरोकिँदा सम्म विकास सम्भव नभएको बताए। 

सो अवसरमा अलपाइन मेनेजमेन्ट कलेजका प्रिन्सिपल केशव पथिकले बाहिरी देश गएर पढ्ने संस्कार नेपालगन्जमा अहिले पनि विद्यमान रहेको बताए। उनले पछिल्लो चार वर्षमा नेपालगन्जका रैथानेका छोराछोरी नेपालगन्जको कलेजमा अध्ययनका लागि आउन थालेको बताए। ‘नेपालगन्जका शैक्षिक संस्थाले यहाँका अभिभावकलाई बुझाउन सकेनौँ,’ उनले भने, ‘जसको फलस्वरुप यहाँका रैथाने बाहिरी देश गएर पढ्ने संस्कृतिको विकास भयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.