|

उदयपुरः दुई तिहाई बुहमतको सरकारले एक वर्षसम्म गरेको कामको परीक्षा जनाताले लिने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन्। सरकारले एक वर्षमा के के काम गर्‍यो भन्दै टिका टिप्पणी भइरहेकाले जनताले परीक्षा लिने बताएका हुन्।

आइतबार ‘समृद्ध समाज निर्माण अभियान, साक्षर जिल्ला उदयपुरको पहिचान’ नाराका साथ साक्षर जिल्ला घोषणा कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन्। प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको एक वर्षे कार्यकालप्रति प्रश्न गरिरहेको भन्दै उनले भने, ‘पाँच वर्षपछि जनताले सरकारको जाँच लिनेछन्। अहिले सरकारको कसैले पनि विरोध नगरे हुन्छ।’

देश संघीयतामा गएपछि गठन भएका अघिल्ला सरकारले नगरेका काम अहिलेको सरकारले गर्नु परेको मन्त्री पोखरेलको गुनासो छ। ‘अघिल्ला सरकारले नगरेका धेरै काम यही सरकारले गर्नु पर्‍यो’, उनले भने, ‘यो एक वर्षमा सरकारले आधार तयार पारेको छ। अव त्यही आधारमा काम गर्दै जानेछौं। सरकारको कामको जाँच वा परीक्षा जनताले लिन्छन्', उनले भने, 'धेरै कानुनहरू बनेका थिएनन्। ती बनाउँदैछौँ। कर्मचारीको व्यवस्थापन थिएन। कर्मचारीको व्यवस्थापन गर्दैछौँ।’

सरकारको काम कारवाहीको विवरणबारे पोखरेलेले भने, ‘भोलि गर्ने कामको जग बसालेका छौँ। यसैमा घर बनाउने छौँ।’ जनताले बहुमतको सरकार गठन गर्ने अधिकार दिएकाले चुनावमा घोषणा गरेका प्रतिवद्धताकै आधारमा सरकार अघि बढेको उनको जिकिर थियो। ‘घोषणा पत्रमा सरकार गठन गरेर के के छ। एक वर्षमा, दुई वर्षमा, त्यही गर्दैछौँ’, उनले भने, ‘अव सरकारले गर्ने कामको आधार तयार भयो। त्यही अनुसार काम गर्दै जानेछौँ।’ सरकारको जाँच नीति तथा कार्यक्रम र चुनावी घोषणा पत्रकै आधारमा नेपाली जनताले लिने मन्त्री पोखरेलको दावी छ। 

उत्पादनमूलक शिक्षा

मन्त्री पोखरेलले शैक्षिक बेरोजगारीको संख्या घटाउन सरकार लागि परेको समेत दावी गरेका छन्। ‘हाम्रा छोराछोरी, भाइबहिनी शिक्षा लिन्छन्। तर, शैक्षिक बेरोजगार बन्छन्’, उनले भने, ‘अवको शिक्षा उत्पादनमूलक हुनेछ। प्रविधिक शिक्षा ७० प्रतिशत हुने छ भने ३० प्रतिशत मात्र वेरोजगारी शिक्षा हुनेछ।’ स्वरोजगारी, उत्पादन दिने, स्वाभिमानी बन्न सिकाउने शिक्षा लागू गर्न सरकारको जोड रहेको मन्त्री पोखरेलको दावी छ। संविधानमा उल्लेख गरिएको शिक्षा, स्वास्थ्य, रोजगार सवै नागरिकलाई पुर्‍याउने काममा सरकार अघि बढेको पोखरेलको भनाई छ।

तीनै तहका सरकारको समन्वय

संविधानअनुरुप गठन भएका तीनै तहका सरकारले समन्वय गर्न जरुरी रहेको मन्त्री पोखरेलले सुझाव दिएका छन्। ‘तिनै तहका सरकार मैले गर्ने की तैले गर्ने भनेर अल्मलिएका छन्’, उनले भने, ‘तिनै तहका सरकारले समन्व्य गर्न जरुरी छ। चैत्रभित्र बन्नुपर्ने सवै ऐन कानुन बनेपछि सवैको समस्या सामधान हुन्छ।’ तिनै तहका सरकारले एक अर्काप्रति दोष लगाएर जनताको कामबाट भाग्नु नहुने पोखरेलको आग्रह थियो। संविधान, ऐन, कानुनमा भएका अधिकारहरू तिनै तहका सरकारले समन्वय गरेर प्रयोग गर्नु पर्नेमा मन्त्री पोखरलेकाे जोड छ। उपप्रधानमन्त्री समेत रहेका पोखरेले ज्येष्ठ नागरिकलाई दिइने बृद्धभत्ता मासिक ५ हजार पुर्‍याउने सरकारी योजना रहेको बताएका छन्। 

उदयपुर साक्षर जिल्ला घोषणा

आइतबारदेखि उदयपुर साक्षर जिल्ला घोषणा भएको छ। नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको १२ वटा मापदण्ड पूरा गरिसकेकाले मन्त्री पाखरेलले साक्षर जिल्ला घोषणा गरेका हुन्। शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका प्रमुख हरिहर धितालका अनुसार सदरमुकाम गाइघाट बजारस्थित भगवती मन्दिर परिसरमा रहेको साक्षर स्तम्भको अनावरण गरिएको छ।

अनौपचारिक शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले साक्षर जिल्ला घोषणाका लागि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतले आफू र आफ्नो परिवारको नाम लेख्न, हस्ताक्षर गर्न, सामान्य हिसावकिताव राख्न सक्ने भएको तथ्यांक देखिएकाले साक्षर जिल्ला घोषणा गरिएको जानकारी दिए। ‘मोबाइल र क्यालकुलेटरबाट अंक र अक्षर चिनेर प्रयोग गर्न, १ देखि १०० सम्म गणना गर्न, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बनाउन जस्ता कार्य गर्न भएका छन्’ उनले भने, ‘केन्द्रले तोकेको मापदण्डभन्दा १.३२ प्रतिशत बढी साक्षर भइसकेको साक्षर जिल्ला घोषणा गरिएको हो।’

तथ्यांकअनुसार जिल्लामा ९६.३२ प्रतिशत सर्वसाधारण साक्षर भइसकेका छन्। जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका एक लाख ७४ हजार १०८ जना रहेकामध्ये हालसम्म एक लाख ६७ हजार ७०६ जना साक्षर भइसकेका छन्। बाँकी ६ हजार ४०२ जनालाई आगामी १ वषभित्रमा साक्षर बनाइसक्ने लक्ष्य लिइएको शिक्षा विकास समन्वय तथा इकाईले जनाएको छ।

साक्षरता शिक्षा २००४ सालबाट प्रारम्भ भएको हो। यसैसँगै २०१३ बाट योजनाबद्ध रूपमा प्रौढ साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। कोही पनि नेपाली जनता शिक्षाबाट वञ्चित हुन नदिने हेतुले सरकारले २०५६ सालमा अनौपचारिक शिक्षा केन्द्रको स्थापना गरी अभियान सञ्चालन गर्दै आएको थियो। साक्षर जिल्ला घोषण कार्यक्रम विभिन्न प्रकारका र्‍याली समेत आयोजना गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.