|

ताप्लेजुङ : फुङलिङ नगरपालिका–७ का ६० वर्षीय चङ्खबहादुर पर्वतेको आरनमा बिहान ७ बजे पुग्दा खुकुरीमा धार लगाउँदै थिए। आरनमा फलामका टुक्रा, फलामलाई पगाल्न चाहिने कोइला, दुई तीन वटा पुराना घन र बाँसको टाटीमा झुण्ड्याइएको एउटा रेडियो थियो।

उनी विभिन्न प्रकारका फलामका घरायसी हतियार बनाउँछन्। पर्वतेका आरनमा पुग्नेबित्तिकै उनले रेडियोको भोल्युम अलि घटाए अनि भने, ‘आरनमा बोल्ने साथी छैन। म त यै रेडियोको सहारामा काम गर्छु।’ 

चङ्खबहादुर एक्ला भने होइनन्। उनका सात भाइ छोरा छन्। तर, उनीहरुमध्ये केही रोजगारीका लागि विदेशिए त केही सहर पसे। ‘घरका केटाहरु (छोराहरु) सबैले घर छाडे,’ गम्भीर हुँदै उनले भने, ‘काम गर्नै मान्दैनन्। एक्लै भइयो। म मरेसँगै मेरो सीप पनि मसँगै जाला भन्ने पीर छ।’

छोराहरु घरमा हुँदा उनलाई आरनको काम गर्न सघाउँथे। ‘पहिले सानै हुँदा छोराहरुले आरनमा अलिअलि सहयोग गर्थे,’ चङ्खबहादुरले भने, ‘ठूलो हुँदै गएपछि यस्तो दुखिया काम नगर्ने भन्दै घर छाडे।’ बुढ्यौलीले पनि च्याप्दै लगेका उनलाई अहिले ठूला खालका फलाम पिट्न समस्या हुन थालेको छ। 

उनले फलामको हतियार बनाउन बुवाबाट ११ वर्षको उमेरदेखि नै सिक्न थालेका हुन्। यही सीपले बुढेसकालमा पनि प्रतिमहिना २५–३० हजार रुपैयाँसम्म कमाइ गरिरहेको उनको भनाइ छ। यस्ता सीपलाई बचाएर राख्नुपर्ने उनको सुझाव छ। ‘अहिले त स्थानीय सरकार पनि बनेको छ,’ चङ्खबहादुरले भने, ‘अब युवा लक्षित कार्यक्रम ल्याएर यस्तो पुराना र परम्परागत सीपहरुलाई युवाहरुमा माझ पुर्याउनु पर्छ।’ यस्तो कार्यक्रम ल्याए आफूले जानको सीप सिकाउन तयार रहेको उनले बताए।

चङ्खबहादुरको जस्तै मेरिङ्देन गाउँपालिका–५ थुकिमाका रद्रबहादुर बिकको आरनमा एक्लै छन्। उनका छोराहरुले पनि यस्तो पेशा नगर्ने भन्दै अन्य कामको खोजी गर्न घर छोडेको उनको भनाइ छ, ‘दुखिया पेशा भन्छन्,’ उनले भने, ‘हुन पनि हो, फलाम र आगोमा काम गर्दा खतरा चाहिँ छ।’

परम्परागत पेशाप्रति युवाको आर्कषण बढाउन स्थानीय सरकारले विषेश योजना नै बनाउनुपर्ने अगुवा युवा जीवन कालीकोटे बताउँछन्। ‘पहिले त यो पेशालाई दलित समुदायले मात्र गर्ने भन्ने मानसिकता थियो,’ उनि भन्छन् ‘त्यही कारण पनि युवाहरुको यस पेशाप्रति आर्कषणमा कमी आएको हो।’ कालीकोटेका अनुसार यस पेशाप्रति युवाहरुको आकर्षण घट्दै जानमा गाउँघरमा काम गरेपछि त्यसको ज्याला समेत अन्न तथा खाद्यान्नमा कटाउने गर्नु पनि हो। तर, यस पेशाबाट राम्रो आम्दानी हुने भएकाले आफू यही पेशमा रहेको उनले बताए। उनी मासिक ३० हजार रुपैयाँसम्म कमाइ गर्छन्। उनले बनाएका खुकुरी बेलायतसम्म माग हुने गरेको उनले बताए। उनले भने, ‘माग त धेरै छ तर बनाउन एक्लैले भ्याउँदिन्।’

घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका उद्योग विकास अधिकृत सुनिल आर्चायले फलामको हतियार बनाउने पेशाको संरक्षका लागि तालिम सञ्चालन हुँदै आइरहेको बताउँछन्। उनका अनुसार गत आर्थिक वर्षमा आठराई त्रिवेणी गाउँपालिकाका १० जनालाई तालिम प्रदान गरिएको छ। यस आर्थिक वर्षका लागि समेत सबै गाउँपालिकामा दलित लक्षित कार्यक्रम रहेको र स्थानीय तहसँग समन्वय गरेर क्षमता विकास लागयतका कार्यक्रम संञ्चालन गर्ने तयारी भैरहेको उद्योग अधिकृत आर्चायले बताए। तर, फलामका हतियार बनाउने समुदायका मानिसहरु कार्यालयमा यस्तो खालको तालिम चाहियो भन्दै नआएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.