विचार

आधुनिक नेपालको अविस्मरणीय दिन
SHARES

फागुन ७, २०७५

    नेपालको राष्ट्रिय दिवस कहिले हो भनेर एक पटक विवाद भएको थियो। यसको कारण के थियो भने फागुन ७ प्रजातन्त्र दिवस, बैशाख ११ लोकतन्त्र दिवस, जेठ १५ गते गणतन्त्र दिवस र असोज ३ संविधान दिवस भनेपछि कुन दिनलाई नेपालको राष्ट्रिय दिवस भनेर मनाउने भन्ने विवाद सायद भएको थियो। सरकारले गणतन्त्र दिवसलाई मान्यो क्यारे अहिले। तर नेपालको, नयाँ नेपालको, आधुनिक नेपालको प्रस्थान विन्दु भनेको चाहिँ फागुन ७ नै हो। माथि भनिएका सबै दिवसहरूले नेपालको महत्त्वपूर्ण समयलाई नै इङ्गित गरेका हुन् तर माथि भनिएका दिवसहरू नेपालीले देख्न पाएको कारण चाहिँ २००७ साल फागुन ७ गतेले ल्याएको युगान्तकारी परिवर्तनले मात्र सम्भव भएको थियो। 

    नेपालको इतिहासको त्यो कालखण्डको विश्लेषण गर्दा सात साल फागुन ७ गते नै प्रजातन्त्र स्थापना हुँदा त्रिपक्षीय समझदारी भएको पाइन्छ। आधुनिक नेपालको प्रस्थान विन्दु। नेपाली कांग्रेस, राजा र भारतका बीचमा भएको त्रिपक्षीय समझदारी जसमा १०४ वर्षसम्म सत्ता एकपक्षीय जहानियाँ हुकुमी शासनका रूपमा चलाएका राणाले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न सम्झेर शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्न राजी भएका थिए। नेपाली जनताको बोली र भावनाको प्रतिनिधित्व गर्दै जनक्रान्तिसम्मको निर्णय गरेर राणासँग क्रान्ति गर्न थालेको कांग्रेसले राणालाई घुँडा टेकाएको थियो। २००७ साल कात्तिक २६ गतेबाट सुरु भएको क्रान्तिलाई फागुन ७ गते सम्पन्न गरेको थियो प्रजातन्त्र स्थापनाको घोषणाबाट।

    नेपालको परिप्रेक्ष्यमा नेपालीहरूकै जहानियाँ शासनलाई जनक्रान्तिद्वारा निषेध गरी आम नेपालीहरूमै हस्तान्तरण गरिएको ऐतिहासिक अवसर थियो जसमा भारतले सहजीकरण गरेकै हो। राजाले राणाका विरुद्धमा साथ दिएकै हुन् र आम जनताका पक्षबाट नेपाली कांग्रेसले जनक्रान्तिको नेतृत्व लिएकै हो। भारतले त्यसलाई सहजीकरण गरेर नेपाललाई प्रजातान्त्रिक र स्वतन्त्र देशको रूपमा स्थापित हुन त्यो बेलामा मद्दत गरेकै हो किनभने भारतबाट अंग्रेज हटाउन पनि नेपालीहरूले भारतको स्वतन्त्रता संग्राममा साथ दिएकै थिए। नेपालीहरूको भित्री धारणा के पनि थियो भने भारतमा अंग्रेज कमजोर भएपछि मात्र नेपालबाट राणा शासन हटाउन सकिन्छ, नभन्दै त्यस्तै भयो पनि। 

    २००७ साल फागुन ७ गते त्यो बन्धनबाट नेपाल स्वतन्त्र भएको थियो र यहाँका जनता रैतीबाट सार्वभौम नागरिक भएका थिए। त्यो मामुली परिणाम थिएन। त्यसैले त्यो दिन नेपालको राष्ट्रिय दिवस यसकारणले भएको थियो कि नेपालको भाग्य स्वतन्त्र देशको रूपमा चम्केको थियो प्रजातन्त्रसहित।

    राजा राणाको सुनको पिँजडामा बन्दी थिए तर राणाले पनि राजाकै नाममा शासन गरेका थिए। सात साल फागुन सातले राजालाई संवैधानिक राजाको रूपमा स्वीकार गरेको थियो, जसको कार्यकारी जनताले चुनेको प्रधानमन्त्री हुन्थ्यो। हुन त त्यस्तो हुन झन्डै साढे आठ वर्ष लाग्यो। बेलायती किसिमको राजतन्त्रको परिकल्पना थियो जसलाई राजतन्त्रसहितको संसदीय व्यवस्था मानिन्थ्यो। बेलायत र भारतबाहेक अरू देशसँग कुनै सम्बन्ध नरहेको नेपाल एउटा अन्धकार युगमा बाँचेको थियो। तर २००७ सालको परिवर्तनले नेपाल विश्वको महत्त्वपूर्ण देशको रूपमा छर्लङ्गसँग विश्वमञ्चमा देखा परेको थियो। त्यसैले नेपालमा प्रजातन्त्र स्थापना युगान्तकारी घटना थियो किनभने यो भूखण्डमा नै नेपालमात्र यस्तो देश थियो जसलाई बेलायतले आफ्नो उपनिवेशमा अँचेट्न सकेको थिएन या भनौँ उपनिवेश बनाउन सकेको थिएन। या भनौँ उपनिवेश नहुने एउटा सानो तर बहादुर जनता भएको देश थियो जसले बारम्बार अंग्रेजलाई हराएका थिए नेपाल प्रवेश गर्न दिएका थिएनन्। तर दुर्भाग्य, आन्तरिक बन्धनमा थियो कुँवर राणाहरूको जहानियाँ शासनको। 

    २००७ साल फागुन ७ गते त्यो बन्धनबाट नेपाल स्वतन्त्र भएको थियो र यहाँका जनता रैतीबाट सार्वभौम नागरिक भएका थिए। अनि त्यो मामुली परिणाम थिएन। त्यसैले त्यो दिन नेपालको राष्ट्रिय दिवस यसकारणले भएको थियो कि नेपालको भाग्य स्वतन्त्र देशको रूपमा चम्केको थियो प्रजातन्त्रसहित। त्यस्तो प्रजातन्त्रको परिकल्पना गरिएको थियो जहाँ सबै नागरिक समान हुनेछन्, समानताका आधारमा सबैले छानेका आवधिक जनप्रतिनिधिले राज्य गर्नेछन् अर्थात् जनताले जनताका लागि जनताद्वारा शासन गर्नेछन्। स्वतन्त्र न्यायपालिका हुनेछ, जनताका प्रतिनिधिको व्यवस्थापिकाले कानुन बनाउने छ र सरकारले त्यस आधारमा जनताको सेवा गर्नेछ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले स्वतन्त्ररुपमा एक शरीरका विभिन्न अवयवझैँ काम गर्नेछन् जसले राज्यलाई कल्याणकारी राज्यको रूपमा विकसित गर्नेछ। 

    त्यो दिनको त्यो आदर्श कल्पना साकार हुँदै गर्दाको अवस्थालाई नै प्रजातान्त्रिक नेपाल भनिएको थियो। त्यो दिनको सुरुवात फागुन ७ गतेबाट भएको थियो। आधुनिक नेपालको त्यो दिन नै युगान्तकारी दिन थियो र नयाँ क्षितिजको उद्घाटन त्यही दिन भएको थियो। वास्तवमा त्यही दिनलाई नै नेपालको राष्ट्रिय दिवस बनाउनु पर्ने थियो। 

    आजको प्रजातन्त्रको जटिलता २००७ सालभन्दा धेरै फरक छ। एक्काइसौँ शताब्दीको प्रजातन्त्र र त्यसको शासन व्यवस्था प्रविधिजन्य बनिसकेको छ। तर पनि प्रजातन्त्रको मर्म उही हो र जनताको सेवा नै प्रजातन्त्रको पहिलो धर्म हो र गर्ने पर्ने कर्म हो। 

    धेरैको सहादत र त्यागले फागुन ७ गते आएको थियो। प्रजापरिषदको त्याग र बलिदानको फलस्वरूप तयार भएको नयाँ परिकल्पनाको प्रजातन्त्रलाई नेपाली कांग्रेसले मूर्तता दियो र नेपालले साँच्चै नयाँ युगको साक्षात्कार गर्न पायो। राजा त्रिभुवनले संविधानसभामार्फत् विधानसभा गठन गरी नयाँ गणतन्त्रात्मक संविधान घोषणा गर्ने वाचा पनि गरेका थिए। 

    ००७ साल फागुन ७ गतेले नेपालमा प्रजातन्त्रको स्थापना गर्‍यो। नयाँ संविधान संविधानसभाबाट आउने वचनबद्धता प्रकट गर्‍यो। राणाबाट जनताका प्रतिनिधिमा सत्ता हस्तान्तरण भयो। जहाँ राजा संवैधानिक रहने प्रावधान थियो। अनि नेपाल एउटा स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न देशको रूपमा परिचित हुँदै विश्वको नयाँ उदयमान प्रजातन्त्रको रूपमा भारत र चीनको बीचमा रहेको देशको रूपमा परिचित भयो। तर कसैको अधीनमा होइन, स्वतन्त्र हिमाली राज्यको रूपमा विश्वमा देखियो। यसैलाई युगान्तकारी घटना मानियो र नेपालको प्रजातन्त्रले विभिन्न आरोह र अवरोह पार गर्दै आजको अवस्थामा विकसित भएको छ। आजको प्रजातन्त्रको जटिलता ००७ सालमा भन्दा धेरै फरक छ। एक्काइसौँ शताब्दीको प्रजातन्त्र र त्यसको शासन व्यवस्था प्रविधिजन्य बनिसकेको छ। तर पनि प्रजातन्त्रको मर्म उही हो र जनताको सेवा नै प्रजातन्त्रको पहिलो धर्म हो र गर्ने पर्ने कर्म हो। 

    नेपालको प्रजातन्त्र कसैको पेवा त होइन तर प्रजातन्त्रका पक्षमा अनवरत सङ्घर्ष गरेकाले नेपाली कांग्रेसलाई नेपालमा र नेपाल बाहिर पनि प्रजातन्त्रको पर्यायको रूपमा लिइएको पाइन्छ। आज पर्यन्त किनभने प्रजातन्त्रमा कुनै खतरा आउँदा सबैभन्दा पहिले अग्रस्थानमा सङ्घर्षका लागि देखा पर्छ कांग्रेस। चाहे त्यो सत्रसालको घटनामा होस् या उनन्साठी सालको वा एकसट्ठी सालको घटनामा होस्। 

    २००७ साल लगत्तै न त संविधानसभा निर्वाचन नै भयो, न त संविधानसभाले संविधान बनाउने चाँजो नै पर्‍यो। कुनै पनि हालतमा संविधानसभाको निर्वाचन नहुने देखेपछि राजाबाट घोषणा हुने संविधान नै मानेर भए पनि आमनिर्वाचन गराउन कांग्रेसले मान्यो र निर्वाचन पनि भयो। त्यो निर्वाचनद्वारा निर्वाचित नेपाली कांग्रेसको एकमना सरकारलाई मात्र राजाले विना कारण विघटन गरेनन्। सँगै निरपराध संसदको पनि हत्या गरे र दलीय प्रतिनिधिहरूलाई विना कारण जेलनेल र सास्ती दिए। कति त विना कारण मारिए किनभने ती प्रजातन्त्रवादी थिए। यसरी प्रजातन्त्रको हत्या हुँदा पनि र जेलनेलको सास्ती दिँदा पनि सत्ताको मोहमा नफसी विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूले सदैव प्रजातन्त्र पुनर्स्थापनाका लागि जेल, नेल र प्रवासमा बसेर पनि प्रजातन्त्रको आदर्शलाई अनवरत साधना गरिरहे। साधना गरिरहे। अन्ततः कांग्रेसको नेतृत्वमा र वामपन्थीहरूको संयुक्त प्रयासको जनआन्दोलनले २०४६ साल चैत्र २६ गते प्रजातन्त्र पुनर्स्थापना भयो। २०५९ साल असोजबाट राजाले प्रत्यक्ष शासन गरेपछि फेरि २०६२ साल चैत्र २४ बाट सुरु भएको जनआन्दोलनले राजालाई पछि फर्कन बाध्य पार्‍यो। र, अन्ततः राजतन्त्र जानेसम्मको अवस्था सृजना भयो। त्यसपछिको घटनाक्रममा नयाँ संविधानसभाको पहिलो बैठकले मुलुकमा गणतन्त्र स्थापना गर्‍यो। यसमा तत्कालीन अवस्थामा जनयुद्धरत माओवादी पक्ष पनि शान्तिपूर्ण जीवनमा फर्कने चाहनाले ठुलो मद्दत पुगेको थियो र मात्र संविधानसभाको निर्वाचन हुन सकेको थियो।  

    दुईओटा संविधानसभा निर्वाचनपश्चात् मात्र संविधान बनेको थियो जुन विश्वमा कमै भएका राजनीतिक परिघटनाभित्र पर्छ। २०७२ साल असोज ३ गते संविधान घोषणा भयो जसको बेग्लै कथा छ। भारतीय दबाब र घुर्कीको कथा ताजै छ। र पनि नेपालमा प्रजातन्त्र यथावत् छ। प्रजातन्त्रप्रतिको नेपाली जिजीविषा माननीय र सराहनीय छ किनभने नयाँ संविधानले देखाएको समावेशी प्रजातान्त्रिक मार्ग विश्वका अरू प्रजातान्त्रिक देशहरूमा पनि मुस्किलले पाइन्छ।  

    यी सबै पृष्ठभूमिमा २००७ साल फागुन ७ गते नै स्पष्टरुपमा परिणाममुखी सतीसालको रुखझैँ उभिएको पाइन्छ। र, संसदीय प्रजातान्त्रिक व्यवस्थाको वैचारिक तथा प्रयोगधर्मको सूत्रधारका रूपमा काँगैसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको योगदान नै स्मरणीय छ। आज पनि नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा हुने सैद्धान्तिक नेताको रूपमा विपी कोइराला नै देखिनु हुन्छ। ००७ सालको जनक्रान्तिमा महानायकको रूपमा स्थापित विपी कोइराला नै आजको प्रजातान्त्रिक समाजवादको प्रणेताका रूपमा नेपालमा परिचित हुनुहुन्छ। उहाँको विचारमा पनि नेपालको नयाँ युगको सूत्रपात गर्ने दिन भनेको नै फागुन ७ नै थियो र सो दिनलाई विपी, गणेशमानजी र किसुनजीले मात्र होइन, स्वयं प्रजातन्त्रका विरोधमा लाग्नेहरू पनि फागुन ७ लाई नेपाली स्वतन्त्रताको प्रवेश दिवसको रूपमा मान्थे। नेपाली जनता सार्वभौम भएको दिनको रूपमा मान्थे। 

    प्रजातन्त्रले लोकतन्त्रको स्वरूप ग्रहण गरेपछि फागुन ७ गते आफैँमा परिचयविहीन हुन पुगेको छ। जुन दिन नेपालको नयाँ युगको प्रस्थान विन्दु थियो, त्यो दिन नै गुमनाम हुन थालेको बेलामा फेरि फागुन ७ गते हाम्रो आँगनमा टुप्लुक्क आएको छ। फागुुन ७ गते आउँछ र आफ्नो समयसँग जान्छ पनि तर कसैको हत्केलाले त्यसलाई छेकेर राखे पनि त्यसको महत्त्व र चमक हराउने छैन। युगान्तकारी घटनाले भन्दा पनि त्यसले नेपाली इतिहासमा पारेको प्रभावलाई हामी नेपालीले बिर्सियौँ भने हामी कृतघ्न हुने छौँ। प्रजातन्त्रका लागि सहादत दिनेहरूलाई हामीले बिर्सियौँ भने पनि हामी कृतघ्न सन्तान हुनेछौँ। हामीलाई नागरिक बनाउने यो दिनलाई बिर्सन थाल्यौँ भने हामीलाई इतिहासले धिक्कार्ने छ। 

    प्रजातन्त्र गहना होइन जसलाई देशले लगाएरमात्र बसोस्। यो त संस्कार हो जसलाई पालना गर्नु नै पर्छ। सचेत नेपालीहरूले प्रजातन्त्र बारम्बार ल्याउँछन्, पुनर्स्थापना गर्छन् तर जनप्रतिनिधिहरूले शासन गर्दा त्यसलाई, त्यसको आदर्शलाई आत्मसात् गरेनन् भने जनता निराश हुनेछन्। जनताले सामाजिक न्याय खोजेका हुन्छन्, सामाजिक न्याय प्रजातन्त्रमा मात्र सम्भव हुन्छ किनभने प्रजातन्त्रमा मात्र शासन पारदर्शी हुन्छ। आज यदि प्रजातन्त्र हुँदैनथ्यो भने मुलुकको अवस्था अझ दयनीय हुन्थ्यो। 

    फागुन ७ गते ल्याउनका लागि, प्रजातन्त्र स्थापनाका लागि, पुनर्स्थापनाका लागि लाग्ने सम्पूर्ण आदरणीय वीर सहिद तथा त्यागी संघर्षशील जनहरूमा नमन गरौँ र प्रजातन्त्रको आदर्शका लागि निर्भयका साथ लाग्न तिनै वीरहरूबाट प्रेरणा प्राप्त गरौँ। 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]