|

गुल्मी : पूर्व प्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशलाई संक्रमण फैलाउने रोगले जस्तै गरी भ्रष्टाचार नामको रोगले गाँजेको बताएका छन्। गुल्मीको मुसिकोट नगरालिका ७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङगणमा मुसिकोट नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले देशलाई गाँजेको भ्रष्टाचार रोक्न महायज्ञ लगाएर धर्मको डर देखाएर सम्भव नहुने भन्दै विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने अँगहरु बलियो हुनुपर्ने बताएका हुन्। 

‘मानिस पदमा पुगेपछि लोभ लालचमा फस्दो रहेछ’ उनले भने, ‘यो लालच, घुसखोरी, कमिशनखोरीतन्त्र, भ्रष्टाचार रोक्नलाई विधिको सुधार गर्नुपर्छ। पूरा प्रणालीलाई ठिक गर्नुपर्छ।' उनले काण्डै काण्ड भएको राजनीतिबाट स्वतन्त्र रहने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायपालिकाहरूमा नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक शुद्धीकरण हुनुपर्नेमा जोड दिए। उनले खर्चिलो चुनावको कराण देशमा घुसखोरी, कमिसनखोरी बढेको भन्दै खर्चिलो चुनावी प्रणालीको सुधार गर्नुपर्ने बताए। ‘चुनाव लड्दा करोडौं खर्च हुन्छ। त्यो खर्च सामान्य मान्छेले पुर्‍याउन सक्दैन त्यसैले ऋणधन गरेर चुनाव जित्छन्’ उनले भने, ‘त्यो खर्च त उठाउनुपर्‍याे। त्यसैले रातारात करोडौं धन कमाउन प्रवृति हावी हुन्छ।' 

उनले चुनावमा हुने आधारभूत खर्च राष्ट्रले तिरिदिने र कार्यकारी पदमा मात्र चुनाव गर्ने तथा संसदमा भने समानुपातिक प्रणालीबाट नेता छान्ने विधि अपनाउने हो भने भ्रष्टाचार हट्ने बताए। ‘कार्यकारी पद चुनावी गराउ, संसदलाई समानुपाति बनाऊँ, यसमा खर्च पनि कम छ। प्रदुषित राजनीति पनि हट्छ’ भट्टराईले भने। उनले प्रदुषित राजनीतिको निवारण गर्न जनता पनि सचेत भइ जनप्रतिनिधिलाई सचेत बनाउने र असल नेतालाई मात्र चुन्नुपर्ने कुरामा जोड दिए। ‘सबैभन्दा ठूलो कुरा विधिको शासन हो’ उनले भने ‘त्यसैले पहिला ब्यक्ति। पार्टी भन्दा पनि प्रणालीको सुधार आवश्यक छ।'

वैकल्पिक राजनीतिक शक्ति नया शक्ति नेपालका संयोजक समेत रहेका भट्टराईले नेपाल बाहेक विश्वको कुनै पनि देशमा स्थानीय तहको संविधानमै व्यवस्था नभएको भन्दै नेपालमा सहीदको रगतले स्थानीय तहको लागि संविधानमा व्यवस्था गरिएका २२ अधिकार जसरी पनि प्रयोग गर्न स्थानीय तहलाई आग्रह गरे। सबैभन्दा बलियो स्थानीय सरकार, त्यसपछि प्रदेश र केन्द्र सरकार हुनुपर्ने भन्दै उनले अब जनतालाई धनी बनाउने खालको समावेसी विकासको विचारधारा जन्माउनुपर्ने बताए। ‘साम्यबाद पुँजीबाद जस्ता विचारमा अब धेरै प्रश्नहरू आउन थाले’ उनले भने, ‘त्यसैले अब यी दुवै सिद्धान्तका राम्रा पक्षहरूलाई लिएर समावेसी विकास हुने मोडल हामीले ल्याउनुपर्छ।'

उनले देश विकासको निम्ति राज्यले पूर्वाधारको क्षेत्रमा नेतृत्व गर्नुपर्ने र नीजि क्षेत्रलाई कृषिसहित अन्य क्षेत्रहरुमा लगानी गर्न दिएको खण्डमा देशमा सन्तुलित विकास हुने बताए। उनले विकासको पहिलो पूर्वाधार सडक भएको भन्दै सडक सँगै अन्य पूर्वाधारको विकास गर्नुपर्ने र अर्काे प्राथमिकता शिक्षा हुनुपर्ने बताए। ‘हामीले अहिले घोकन्ते विद्या हावी भयो’ उनले भने, ‘अमेरीका जस्ता विकसित देशहरूले व्यवहारिक शिक्षा अँगाले त्यसैले उनीहरू विकसित भए। अब हामीले पनि सीपयुक्त व्यवहारिक शिक्षाको मोडल लिनुपर्छ।' उनले स्थानीय तहलाई जमिन खरिद बिक्रीमा नियमन गर्दै व्यवस्थित शहरीकरणको अवधारणामा जान सुझाव दिँदै संविधानले दिएका अधिकारलाई टेकी विकास कार्यमा हिड्न सुझाव दिए। उनले अब राजनीति शुद्ध हुनुपर्ने भन्दै असल राजनीतिको नारा लिएर आफू मध्यपहाडको यात्रामा निस्केको बताए।

मध्यपहाडी क्षेत्रका हरेक गतिविधिलाइ बुझेर यस क्षेत्रको बिकासको निम्ती एक प्रतिवेदन बनाएर प्रतिनिधि सभामा पेश गरी विकास गर्ने उद्देश्यका साथ आफू यो यात्रामा हिडेको भन्दै कुनै राजनीतिक प्रचारसँग आफ्नो हालको यात्रालाई नजोड्न आग्रह गरे। हरेक कुराले पछि परीरहेको मध्यपहाडलाई पुनर्जीवित बनाउने उद्देश्यका साथ आफू यात्रामा हिडेको उनको भनाइ छ। उनले जनयुद्धको विषयमा समेत प्रवेश गर्दै सात सालमा कांग्रेसले सुरु गरेको क्रान्तिलाई आफूहरूले टुंग्याएर हालको परिणाम ल्याएका तर काम गर्दा केही त्रुटिहरू भएको स्वीकार गरे। भट्टराईसँगै पूर्व मन्त्री हिसिला यामी सहितका अन्य केन्द्रीय नेताहरू कार्यक्रममा सहभागी थिए।

अन्तरक्रिया कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिका भित्रका सबै समस्या तथा आवश्यकता बारेमा डा.भट्टराइलाई ब्रिफिङ गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.