|

हेटौंडा : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको मानवबस्तीको बीचमा पर्खाल लगाउन  प्रदेश ३ सरकारले प्रक्रिया अघि बढाएको छ। प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसवर्ष पर्खाल लगाउन मात्र १५ करोड रुपैयाँ खर्चने भएको छ।

राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किने जनावरले बर्सेनी दुःख दिने गरेकोमा त्यसलाई रोक्न राष्ट्रिय निकुञ्ज र मानवबस्तीको बीचमा पर्खाल लगाएर छेकबार गर्न लागिएको हो। जंगल र मानवबस्तीको बीचमा पर्खाल लागाउन मन्त्रालयले बोलपत्र आब्हान गरेको छ। बर्सेनी वन्यजन्तुको आक्रमणबाट मानवको ज्यान जानुका साथै वन्यजन्तुले बाली नष्ट गर्दा किसानहरू हैरानीमा परेकाले पर्खाल लागाउन थालिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताए।

पहिलो चरणमा चितवनको राप्ती नगरपालिका १, ३, ६ नम्बर वडा र खैरहनी नगरपालिकाका १०, ११ र १३ मा आरसिसी पर्खाल निर्माण गरिने मन्त्रालयले जनाएको छ। गत माघ १८ गते ६ फिट अग्लो पर्खाल निर्माणको लागि बोलपत्र आब्हान गरी आवश्यक प्रक्रिया अघि बढाएकोमा चालु आर्थिक वर्षको असार मसान्तसम्म तोकिएको काम सकिने मन्त्री लामाले बताए।

प्रदेश भित्रको राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने अन्य स्थानमा पनि पर्खाल लगाइँदै  जाने योजना रहेको मन्त्री लामाले बताए। ‘मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दैछ। त्यसलाई घटाउनको लागि हामीले सबै क्षेत्रमा पर्खाल लगाउने निर्णय गरेका हौं’ मन्त्री लामाले भने। पर्खाल निर्माणले वन्यजन्तु र मान्छे दुबै सुरक्षित हुनुका साथै कृषि बाली पनि जोगिने विश्वास लिइएको छ। पर्खाल निर्माणबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका पाँच हजार बढी परिवार लाभान्वित हुने मन्त्रालयको अनुमान छ।

मन्त्रालयका निमित्त सचिव निर्मल गदालले प्रदेश ३ भित्र पर्ने सबै निकुञ्ज र मध्यवर्ती क्षेत्र भित्र जंगल र जमिनबीच पर्खाल लगाउने योजना रहेको बताए। यो वर्षबाट सुरु भएको काम क्रमागत रुपमा सबै क्षेत्रमा गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.