फिचर

पोखरामा थला परे डा. बाबुराम भट्टराई र डा.  उपेन्द्र देवकोटाका बेलायती गुरु
SHARES

'यहाँको नागरिकता मिलेन तै पनि नेपालमै मर्ने धोको'

फागुन ६, २०७५

    पोखरा : सुन्दर पोखराको एक छेउ, विन्ध्यावासिनी मन्दिरभन्दा केहि माथि। लामा गाउँ नजिकैको जगंलभित्र एउटा सानो घर। जस्तापाताले छाएको। घरमा एउटा मात्रै कोठा। काठको चार खुट्टे खाटमा सिरक ओढेर पल्टिएका ८२ वर्षका वृद्ध। अर्को खाटमा लुगाफाटो लथालिंग। सेतै कपाल, सेतै दारीका भएका उनी न सहजै हिँडडुल गर्न सक्छन् न प्रष्ट बोल्न नै। कोठामा रहेको दराजमा किताबको चाङ पनि उत्तिकै छ। कोठामा रहेको टेबलमाथि दुई वटा पुराना ल्पापटप, पुस्तकले भरिएको दुई वटा र्‍याक, भित्तामा सुन्दर तरिकाले लस्करै झुण्ड्याइएका ग्रिटिङ कार्ड।

    त्यो कोठामा थलिएका अरु कोहि नभएर नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र चर्चित चिकित्सक डाक्टर उपेन्द्र देवकोटाका गुरु हुन्। उनको नाम कलिङ स्मिथ हो। उनी बेलायती हुन्। स्मिथलाई नेपाली नाम पुतली बाजेका नामले चिन्ने गरिन्छ। उनी आफैँलाई अरुले पुतली बाजे भनेर बोलाएको औधी मन पनि पर्छ।

    बेलायत जस्तो विकसित देशको शहरमा हुर्केका उनी नेपालीहरूसँग दुःख साँट्न भनेर ३० वर्षको उमेरमा नेपाल आएका थिए। 

    नेपालको हिमाल, पहाड र हावापानी र नेपालीको आनीबानीसँग घुलमिल हुन थालेपछि नेपालबाट आफ्नो जन्म भूमी फर्केनन्।

    डा. भट्टराई र डा. देवकोटाका गुरु 

    वि.सं. २०२२ सालमा यूनाइटेड मिसनले नेपालमा बेलायतीहरूलाई पढाउन ल्याउने गर्थ्यो। उनलाई नेपाल मिसन यूनाइटेड मिसनले पुरा गरेको थियो। उनी काठमाडौं ओर्लेसँगै गोरखा गए। उनै पुतली बाजेले कुनैसमय पूर्व प्रधामन्त्री बाबुराम भट्टराईलाई र नेपालका स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटालाई अमरज्योती जनता मावि लुइँटेलमा कक्षा ९ मा पढाएका थिए।

    अनि पोखरा हानिए, बोर्डिङ खोल्न सुझाए  

    गोरखामा एक वर्ष पढाएपछि पोखरा आएर पृथ्वीनारायण क्याम्पसमा पढाउन थाले। उनले पिएन क्याम्पसमा दुई वर्ष पढाए। त्यहाँ पढाउने क्रममा पोखराका स्थानीयसँग उनको हिमचिम बढ्यो। उनीहरूले स्मिथलाई पोखरामा सरकारी स्कुल मात्र भएको सुनाए। स्मिथले भने प्राइभेट स्कुल खोल्न सल्लाह दिए।

    थला परेको खाटमा रहेका उनी ती दिन यसरी सम्झन्छन्, ‘म युनाइटेड मिसनसँग नेपाल आएपनि मलाई नयाँ स्कुल स्थापित गर्ने इच्छा थियो।’ स्मिथ र पोखराका केही साथी मिलेर पोखरामा प्राइभेट अर्थात् बोर्डिङ स्कुल खोल्ने तयारीमा जुटे। अहिलेको गण्डकी बोर्डिङ स्कुल, त्यो बेलामा नेपाली आर्दश विद्यालय थियो। सुरुवाती दिन सम्झिदैँ स्मिथ भन्छन्,‘४ कक्षा मात्र थियो शिक्षक पनि ४ जना थियौँ। पोखराको गाउँगाउँबाट पढ्न आउने ६० जना विद्यार्थी थिए।’ उनी थप्छन्, ‘हामीले हरेक वर्ष एउटा–एउटा कक्षा थप्दै गयौँ। १० कक्षा सम्म पुर्‍यायौ।’  गण्डकी बोर्डिङ स्कुलमा उनले २ वर्ष गणित र विज्ञान विषय पढाए।

    पुतलीको अध्ययनले नामै पुतली बाजे

    स्मिथलाई त्यसै पुतली बाजे भनिएको होइन, उनले नेपाल आउनु भन्दा अघि बेलायतमै रहँदा पुतली सम्बन्धी अनुसन्धान गरेका थिए। ‘म बेलायत जस्तो सुविधा सम्पन्न देशमा हुर्केँ। म जन्मेको सहरमा पुतली देखिदैँन। कलेज पढ्दा म र मेरा साथीभाई मिलेर क्याम्पिङका लागि सहरबाट केही टाढा जान्थ्यौँ,’ बेलायतको उच्च शिक्षाको विद्यार्थी जीवन सम्झँदै उनले भने, ‘त्यहाँ मैले पुतली देखेँ, साह्रै राम्रो लाग्यो मन पर्‍यो। क्याम्पिङमा मेरो एक जना मामा हुनुहुथ्यो, उहाँले पहिला नै पुतली देखेर छोप्नुभएको रहेछ। उहाँले मलाई पुतलीको बारेमा जानकारी दिनुभयो। त्यसपछि मलाई पनि यसमा इन्ट्रेस्ट बढ्यो।’

    पाँच वर्ष बेलायतमा पुतली संकलन

    तिनै मामाले उनलाई पुतली कसरी छोप्ने, छोपेर कहाँ राख्ने, छोप्न के–के चाहिन्छ सबै कुरा सिकाइदिए। सन् १९५० देखि १९५५ सम्म ५ वर्ष बेलायतमा आफ्नै देशको लागि पुतली सङ्कलन गरे। बेलायतमा पुतली देख्न मुस्किल थियो।

    नेपालका लागि पुतली संकलन

    जब उनी नेपाल आए यहाँ रङ्गीचङ्गी पुतली प्रशस्त देखे तर यसको अध्ययन कसैले गरेको पाएनन्। ‘पहिलो पटक नेपालको लागि पुतली सङ्कलन र यसको अध्ययन मैले गरेँ,’ उनले भने, ‘अरुले अध्ययन र संकलन त गरे तर नेपालको लागि गरेनन्। उनीहरूले बाह्य देशका लागि मात्र गरे।’ उनका अनुसार नेपालमा ६ सय प्रकारका पुतली छन्। उनले संकलन गरेका पुतली पिएन क्याम्पसको संग्रहालयमा अहिले पनि छन्। ‘पोखरामा रहेको अन्तर्राष्ट्रिय हिमालय संग्रलयमा पनि मैले पुतलीको काम गरे,’ उनले भने, ‘मैले त्रिभुवन विश्व विद्यालयको लागि ७ वर्ष ठेक्कामा पुतली संकलन गरेको थिएँ।’

    ठुलो काम सानो दाम

    पुतली बाजेले आफ्नो पूरा जीवन नेपालमा खर्चे त्यो पनि नेपालीका लागि। पुलती हराउँदै गइरहेको अवस्थामा पुतली बाजेले सङ्कलन गरेका पुतली भने देख्न पाइन्छ। नेपालका लागि यति ठुलो योगदान दिएका पुतली बाजे अहिले अशक्त अवस्थामा छन्। एक्लो जीवन बिताइरहेका पुतली बाजेको आयआर्जनको स्रोत पुतलीका बारेमा उनले लेखेका पुस्तक बिक्री बाहेक अन्य केही छैन। ‘पुस्तकबाट आउने थोरै रकम मात्र हो,’ उनी भन्छन्, ‘मेरो पुस्तक पब्लिस गरेर थोरै पैसा मात्र पाउँछु।’ उनी उनको देश बेलायतले दिने ३० प्रतिशत भत्ताले जीविका चलाइरहेका छन् त्यसैले खर्च टार्छन्। 

    नेपालमै मर्ने धोको

    आफ्नो जीवनको आधा उमेर नेपालमै बिताएका पुतलीबाजे भन्छन् ,‘म नेपालमै मर्न चाहन्छु, मेरो बाबाआमा पहिला नै बितिसक्नुभयो। बेलायतमा मेरो आफ्नो भन्ने कोही छैनन्। मेरो एउटा दाइ हुनुहुन्छ उहाँ पनि बेलायत छोडेर न्यूजिल्याण्ड बस्नुहुन्छ। मेरा इष्टमित्र अहिले नेपाली दाजुभाइ दिदीबहिनी हुन्। त्यसैले पनि नेपालमै मर्न चाहन्छु।’

    सरकारले नागरिकता दिएन

    अहिले पुतली बाजेको दिन सुतेरै बित्छ। उनी हिँड्न अन्य काम गर्न नसक्ने अवस्थामा छन्। केहि समय अघि रगत उल्टी हुने रोग लागेकाले उनी थलिएका हुन्। उनलाई भेट्न जानेलाई उठेर अभिवादन पनि गर्न नसक्ने अवस्थामा छन्। ओठ थर्थराउँदै भन्छन्, ‘म नेपाल बसेको ५२ वर्ष भयो। मलाई नेपाली भएर मर्न मन छ तर मलाई सरकारले नागरिकता दिएन। 

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]