|

बैतडी : लगातारको वर्षाले जिल्लाका कच्ची सडकहरूमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ। वर्षाले सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा समस्या आएको सवारी चालकहरुले बताएका छन्। 

जिल्लाको सतबाँझ–श्रीभावर, सिल्लेगडा–कटौंजपानी, पाटन–पञ्चेश्वर, देहीमाडौं–गिरेगडा, देहीमाडौं–सलेना, अनारखोली–कैलपाल, दुदिलाखान–गाँजरी, ढोल्यामोड–हाट लगायतका सडकहरूमा सवारीसाधन चलाउन अप्ठ्यारो भएको छ। वर्षाले सडक हिलाम्य भएपछि जोखिम मोलेर जीप सञ्चालन गर्नुपरेको जीप चालक शिवराज जोशीले बताए। 

केही दिन अघि परेको हिमपातले अवरुद्ध भएका सडक फेरि वर्षा हुँदा अवरुद्ध हुन थालेका छन्। सडकभरि हिलो भएकाले सवारी साधन सञ्चालनमा समस्या आएको महाकाली यातायातका सतबाँझ बुकिङ कर्लक कर्णबहादुर पाण्डेले जानकारी दिए। ग्रामीण सडकमा सवारी साधन नियमित नहुँदा यात्रुहरुलाई गन्तव्यमा पुग्न समस्या भएको छ। 

यसैबीच मौसममा आएको परिर्वतनले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा चिसो बढेको छ। हावाहुरीसँगै परेको वर्षाले चिसो बढेको हो।  चिसोले घरबाहिर निस्कन समेत समस्या भएको दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टले बताए। 

चिसोको समयका स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।  चिसोले रुघाखोकी, ज्वरो लगाएतका रोग लाग्नसक्ने भएकोले ख्याल गर्न जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदीशचन्द्र विष्टले सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.