|

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–१ सावदेनकी लाक्पा ओङमु शेर्पाले ५८ वर्षको उमेरमा मात्र नागरिकताको प्रमाणपत्र लिइन्। त्यो पनि जिल्ला प्रशासन कार्यालयले फक्ताङलुङ गाउँपालिकाको शिवा बजारमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमार्फत।

सावदेनबाट करिब साढे एक घण्टाको पैदल दूरीमा रहेको शिवा बजारमा आयोजना गरिएको शिविरमा आएकी शेर्पालाई निकै हतारमा थिइन्। चाउरी पर्न थालेकोे अनुहारमा लाक्षी (महिलाहरुले कपाल बाँध्न प्रयोग गर्ने एक प्रकारको धागो)को फुर्काले पसिना पुछ्दै शेर्पाले आफ्नो काम छिटो गरिदिन वडाध्यक्षलाई आग्रह गरिन्। उनले भनिन्, ‘घरमा कोही छैनन्। यहाँ फर्किएर गाईवस्तुलाई चराउन लानु छ।’

लेलेपकी फुपुडेमा भोटेले पनि ७० वर्षको उमेरमा घुम्ती शिविरमार्फत नै नागरिकता लिइन्। वृद्धाभत्ताका लागि नागरिकता आवश्यक भएकाले लिएकी बताइन्। वृद्धावस्थामा नागरिकता लिएकी फुपुडेमामा उत्साह देखिन्थ्यो। 

यहाँका ग्रामीण भेगका महिलामा शेर्पालाई जस्तै बाध्यता छ। बिहान खाना पकाएर छोराछोरीलाई खुवाउनेदेखि घरका सबै काम गर्ने जिम्मेवारी महिलाकै हुन्छ। पुरुषहरु मजदुरी गर्न बिहानै निस्कन्छन् र साँझमा मात्र फर्कन्छन्। त्यसैले घरको सबै काम महिलाहरुले नै गर्नुपर्ने बाध्यता रहेको छ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा चालु आर्थिक वर्षको माघसम्म चार वटा घुम्ती शिविर भएका छन्। एकीकृत घुम्ती शिविरमा नागरिकताको प्रमाणपत्रमा पुरुषको तुलनामा महिला बढी थिए। जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत असोजमा मैवाखोला गाउँपालिकाको साँघुमा १४८ जनालाई नागरिकता वितरण गरिएकोमा ८३ जना महिला थिए। पुसमा मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा आयोजित शिविरमा १८९ जनाले नागरिकता लिएका थिए। तीमध्ये १३६ जना महिला थिए। मेरिङ्देनमा आयोजना गरेको शिविरमा १३५ जनामध्ये ७३, फक्ताङलुङ गाउँपालिकाको सिवामा आयोजित शिविरमा नागरिकता १४८ मध्ये ८३ जना महिला रहेका छन्। 

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार अहिलेसम्म आयोजना भएको घुम्ती शिविरमा नागरिकता लिने महिला नै बढी छन्। ‘कतिपय महिलालाई घरबाट बाहिर निस्कने समय नहुँदो हरेछ। उनीहरुले यस्ता घुम्ती शिविर मार्फत सेवा लिएका छन्,’ प्रजिअ भण्डारीले भने, ‘सदरमुकामसम्म पुग्दा धेरै खर्च लाग्ने साथै समय पनि धेरै लाग्ने भएकाले महिलाहरुले नागरिकता नबनाउने रहेछन्।’

ग्रामीण भेगबाट जिल्ला सदरमुकामसम्म आएर नागरिकता बनाएर फर्कन कम्तीमा एक साताको लाग्दछ। पुरुषले सदरमुकाम आएर नागरिकता लिने भए पनि महिलाहरु भने यति लामो समय निकाल्न सक्दैनन्। त्यसैले समय समयमा ग्रामीण भेगमा घुम्ती शिविर आयोजना आवश्यक रहेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले बताए। घुम्ती शिविरमा नागरिकता वितरणका साथै मतदाता नामावली दर्ता, अपाङ्गता प्रमाणपत्र लगायतका सेवा एकै ठाउँबाट लिन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.