|

भद्रपुर (झापा) : माघे शुल्क पूर्णिमाका अवसरमा किचकबधमा मेला लागेको छ। 

किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतफुर्त पानी आउने गरेकोले पोखरीमा नुहाउँदा इच्छाएको मनकामना पूरा हुने विश्वास गरिन्छ। वर्षमा एकपटक लाग्ने यो मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारत र भुटानबाट समेत भक्तजन आउँछन्।  

भद्रपुर २ र ३ नं. वडामा रहेको किचकबध महाभारतकालीन कथावस्तुसँग जोडिएको छ। महाभारतको कथाअनुसार विराट राजाका साला किचकले पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राखेका थिए। पछि उनलाई भीमसेनले मुड्क्याएर मारे।

त्यसैकारण यो ठाउँलाई किचकबध नामकरण गरिएको किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव मदन कँडेलले जानकारी दिए। किचकबधमा दुई सय ५० वर्षदेखि स्वास्थानी पूर्णिमाका दिन मेला लाग्ने गरेको उनले बताए। यता किचकबध मेलामा सुरक्षा व्यवस्था कडा पारिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समितिले पर्यटन भित्राउन यो वर्ष मेलामा मुख्य आर्कषणको रूपमा हेलिकोप्टर सञ्चालनमा ल्याएको छ।

हेलिकोप्टरले किचकबधबाट कमलधाप हुँदै नेपालकै होचो भू–भाग केचनासम्म प्रतिव्यक्ति चार हजार पाँच सयमा अवलोकन भ्रमण गराउँदै आएको ट्राभल व्यवसायी एसोसिएसन भद्रपुरका अध्यक्ष गोपाल खनालले जानकारी दिए।

हेलिकोप्टर फागुन ८ गते सम्म सञ्चालन हुनेछ। साथै मेलामा विभिन्न मनोरञ्जनका खेल सामग्री प्रर्दशनमा राखिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.