|

जनकपुरधाम : दिनानुदिन क्रसर उद्योगले खोलाबाट अवैद्य रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आएको गुनासोका सामु निरिह देखिएको तीनै तहको सरकालाई चुनौती दिँदै जिल्ला समन्वयन समितिले ३९ क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गराउन निर्देशन दिएको छ। धनुषा र महोत्तरी जिल्लामा बिना दर्ता नै सञ्चालनमा रहेको तथा सरकारी मापदण्ड पूरा नगरेका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रहरूलाई तत्काल बन्द गर्न निर्देशन सहितको परिपत्र गरिएको हो।

धनुषा र महोत्तरीमा सञ्चालित क्रसर उद्योगले निगमनकारी निकायलाई चुनौति दिँदै अवैध रुपमा उत्खनन् गर्दै आएको बालुवा गिट्टी सहितको कामलाई तत्काल बन्द गर्न निर्देशन दिइएको जिल्ला समन्वयन समिति धनुषाका उपसभापति दिपक झाले जानकारी दिए। जनकपुरधाम उप–महानगरपालिका स्थित बेङ्गाशिवपुरमा विनोद साहले गरेको सुभास क्रसर उद्योग, धनुषाकै दक्षिणी सिमावर्ती क्षेत्रसँग जोडिएको नगराइन नगरपालिका ४ मा सञ्चालित कुमारी माँ गिट्टी उद्योग, सोही नपाको घोडघासमा अरुणकुमार साहले सञ्चालन गरेको जय माता दी स्टोन क्रसर उद्योग लगायतका अन्य उद्योगलाई बन्द गर्न निर्देशन दिइएको हो।

यसैगरी धनुषाको लबटोलीमा सञ्जय शर्माले सञ्चालन गरेको कमला माई क्रसर उद्योग, धनुषाकै मिथिला नगरपालिका अन्तर्गत चुरेको फेदमा रहेको तुलसीमा ज्ञानकुमारी देवीले सञ्चालन गरेको क्षिरेश्वरनाथ महादेव क्रसर उद्योग, गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन २७ उद्योगलाई बन्द गर्न दिर्नेशन दिईएको हो। 

जिल्ला समन्वयन समितिका उपसभापति दिपक झाले भने, ‘धनुषामा जति पनि क्रसर उद्योग सञ्चालनमा छन्। ती सबै मापदण्ड विपरित क्रसर उद्योगहरू रहेको अनुगमनको क्रममा पाइएको छ। मापदण्ड अनुसार खोला, बस्ती, वन, राजमार्गबाट हुनुपर्ने निश्चित दूरीका साथसाथै वातावरणीय परीक्षण प्रतिवेदन समेत नरहेकाले उद्योगहरू वर्तमान मापदण्ड अनुसार नभएकै कारण बन्द गर्न दिर्नेशन दिईएको हो।’ धनुषामा ९ क्रसर उद्योग र १८ बालुवा प्रशोधन केन्द्र सञ्चालनमा रहेको छ। 

महोत्तरीमा पनि उस्तै अवस्था 

जिल्ला समन्वय समिति महोत्तरी अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका १२ वटा अवैध क्रसर उद्योग बन्द गराएको छ। जिल्ला समन्वय समितिको अनुगमन टोलीले भगंहा नगरपालिका ४ बिर्तामा सञ्चालित महोत्तरी गोल्ड प्रालि, पञ्चधुरा वासिङ सेन्टर लगायत क्रसर उद्योग बन्द गराउँदै इजाजत प्रमाणित गर्न सात दिनको समय दिएको छ। समितिका अध्यक्ष सुरेशप्रसाद सिंहका अनुसार बन्द गराइएका क्रसर रातु नदीका हुन्।इजाजतविना यस्ता अझै तीनदर्जन क्रसर उद्योग मरहा र बिगही खोलामा चलिरहेका उनको भनाई छ । 

अनुगमन समितिको बैठकले क्रसर उद्योगको राजस्व असुली प्रक्रिया र क्रसर उद्योग दर्ता, नवीकरण लगायत सबै विवरण मागेको थियो।तर, कुनै पनि स्थानीय तह र उद्योगीले पत्रको जवाफ दिएनन्। जिल्ला समन्वय समितिको तथ्यांकमा महोत्तरीमा ६ वटा क्रसर उद्योग कानुन सम्मत सञ्चालनमा छन्। तर, अनुमति नलिई खोला–नालामा क्रसर राख्ने ५० भन्दा बढी क्रसर उद्योग रहेको सभापति सिंहको भनाई छ।

स्थानीय निकायले सञ्चालन गर्न दिएका क्रसर उद्योगबारे धेरै गुनासो आयो।टेन्डर दिइए पनि क्रसरको इजाजत नदेखिएको तथा कानुनी आधार खोज्दा स्थानीय निकायबाट जवाफ नआएकाले बन्द गराउन थालिएको समन्वय समिति सदस्य तथा महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीको भनाई छ। अनुगमनमा जिल्ला समन्वयन समिति समन्वय समिति अध्यक्ष संयोजक हुन्छ भने त्यसमा जिल्ला प्रशासन कार्यालय, जल उत्पन्न नियन्त्रण, जिल्ला वन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी र कोष तथा लेखा नियन्त्रणक कार्यालयका सदस्य हुन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.