|

पोखरा : पोखरामा भएको सफल पोखरा म्याराथनको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले हात पारेका छन्। ४२ किलोमिटरको दूरी दुइ घण्टा ४०.१० सेकेण्डमा पूरा गर्दै रिमालले उपाधि हात पारेका हुन्। उनलाई पच्छ्याएका सशस्त्रका खिमबहादुर खत्रीले दुइ घण्टा ४०.२० सेकेण्डा पूरा गरेर दोस्रो भए। त्यस्तै नेपाल प्रहरीका भूमिराज राईले २ घण्टा ४१ मिनेट १७ सेकेण्डमा दूरी पूरा गरी तेस्रो स्थानमा चित्त बुझाए। चौँथो बनेका नेपाली सेनाका पूर्ण तामाङले २ घन्टा ४२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरे। 

पहिलो, दोस्रो, तेस्रो र चौँथो भएका खेलाडीले क्रमश १ लाख रुपैयाँ र ट्रफी,  ७० हजार रुपैयाँ, ५० हजार रुपैयाँ र ७ हजार रुपैयाँ हात पारे। पूर्व खेलाडी मञ्चले आयोजना गरेको उक्त पोखरा म्याराथनको १० किलोमिटर तर्फको दौडमा नेपाली सेनाले कब्जा गर्‍यो।

१० किलोमिटर दौडमा पहिलो दोस्रो र तेस्रोमा नेपाली सेनाका विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझीले जित हासिल गरे। त्यस्तै १० किलोमिटर कै महिला तर्फको दौडमा नेपाल प्रहरीकी  राजपुरा पसाईं, सशत्र प्रहरी बलकी बृन्दा श्रेष्ठ, र नेपाली सेनाकी सरिता वंशी क्रमश पहिलो, दोस्रो र तेस्रो भए। त्यस्तै पोखरा म्याराथनको पाँच किलोमिटर दौडमा पुरुष तर्फ शहीद स्मृति माध्यामिक विद्यालयका तुलबहादुर घर्तीमगर पहिलो  र  बेसलाइन एकेडेमीकी ललिता लामिछाने महिला तर्फको उपाधि हात पारे।  उनीहरुले समान पाँच–पाँच हजार रुपैयाँ हात पारे।

पोखरा म्याराथन अन्तर्गतकै ४०० मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली, भरत अधिकारी र हेमबहादुर गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो भए। महिलातर्फ भने लक्ष्मी सुनार, अञ्जु बराल र पवित्रा विक क्रमश पहिलो, दोस्रो र तेस्रो भए। बिजयी हुनेहरुले पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ हात पारे। पोखरा म्याराथनमा रन फर फन नारा दिइएको थियो। त्यस्तै एक सय मिटर दृष्टिविहीनको दौडमा वी वान पुरुषतर्फ आदेश बस्याल पहिलो, सुनील राना दोस्रो र प्रेम क्षत्री तेस्रो भए। यस्तै वी टु प्रतिस्पर्धामा दुर्गादत्त पौडेल पहिलो, आशिष खड्गी दोस्रो र राम गुरुङ तेस्रो भए। यसमा पहिलो हुनेले पाँच हजार, दोस्रोले तीनहजार, तेस्रो हुनेले २ हजार रुपैयाँ हात पारे।

दृष्टिविहीन महिलातर्फको वी वानमा रितादेवी थापा, बिपना खनाल र माया गौतम पहिलो, दोस्रो र तेस्रो भए। वी टु तर्फ बिनिता पुन, सरिता घिमिरे र सुकु बिक पहिलो, दोस्रो र तेस्रो भए। उनीहरूले पनि पाँच, तीन र दुई हजार रुपैयाँ पाए। मंगलबार बिहान ६ः३० बजे सुरु भएको सफल पोखरा म्याराथनमा मुख्यमन्त्री पृथ्वी सुब्बाले पोखरा रंगशालामा एक राउण्ड दौडिएर उद्घाटन गरेका थिए।

भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले म्याराथनलाई गण्डकी प्रदेशले नै खेल पर्यटनको महत्वपूर्ण कडी भएको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.