|

दैलेख : दैलेखको नारायण नगरपालिका ११ चौराठाकी पवित्रा थापा मगर अहिले २१ वर्षकी भइन्। उनी दैलेख सदरमुकाममा बसेर सिलाई कटाईमा सक्रिय छन्। ३ वर्षदेखि सिलाई कटाईलाई आर्जनको माध्यम बनाइरहेकी छन्। 

उनले पारिवारिक अवस्थाका कमजोर भएकोले एसएलसीभन्दा माथिको अध्ययनलाई निरन्तरता दिन सकिनन्। आर्थिक उपार्जनको सजिलो उपाय सिलाई कटाई बनाएकी उनले मासिक २५ हजारसम्म आम्दानी हुने गरेको बताइन्।

उनी मात्र हैन दैलेख सदरमुकाममा मात्र करिब १ सय बढी महिला सिलाई कटाईको काममा व्यस्त छन्। दैलेख डुङ्गेश्वर गाउँपालिका ६ डाडाँपराजुलको सामान्य परिवारमा जन्मिएकी प्रकृति थापा मगरले दैलेख सदरमुकामको गणेशचौकमा एक कोठा भाडामा लिएर सिलाई कटाई व्यवसाय सञ्चालन गरेकी छिन्।

उनले व्यावसायिक रूपमै यो काम गर्न थालेको ५ वर्ष भइसक्यो। उनको पसलमा ३ वटा लुगा सिलाउने मेसिन छन्। भित्ताभरि ह्‍याङ्‍गरमा सिलाई सकेका र बिक्री गर्न राखेका कपडा सजाइएका छन्। २०६९ सालमा गैरसरकारी संस्थाको सहयोगमा सिलाई कटाई सिकेकी प्रकृति अहिले आफ्नो पेसाप्रति निकै सन्तुष्ट छिन्।

उनी भन्छिन्- ‘गरे त राम्रो छ। मैले अझ बढाएर केही दिदीबहिनीहरूलाई रोजगारी दिने लक्ष्य लिएकी छु।' उनले आफ्नो लगानी कटाएर मासिक ५० हजार रुपैयाँसम्म कमाएको बताइन्। उनले भनिन्- चाडपर्वको समयमा त अझै राम्रो कमाई हुन्छ।

अहिले एउटा मेसिनमा आफू सिलाउने र दुई वटा मेसिनमा दुई जनालाई सिप सिकाइरहेकी छिन्। उनका श्रीमान् सदरमुकाममै रहेको एउटा पेट्रोल पम्पमा काम गर्छन्। श्रीमतीको कामबाट उनी पनि निक्कै सन्तुष्ट छन्।

प्रकृतिका पति सर्वजित थापा मगरले गर्व गर्दै भने- अहिलेको जमाना र बढ्दो महँगीमा एक जनाको मात्रै कमाईले केही गर्न सकिँदैन। एक जनाले जति कमाए पनि खर्च चलाउन मुस्किल हुन्छ। त्यसैले मैले उनलाई पनि प्रोत्साहन गरिरहेको छु।' सर्वजितले थोरै लगानीबाट पनि व्यवसाय गर्न सकिने हुँदा अरूकोमा काम खोज्नुभन्दा स्वयम्ले नै व्यवसाय सुरु गरे राम्रो हुने सुझाव पनि दिए।

प्रकृति जस्तै नारायण नगरपालिका ९ मा पर्ने बाँसकोटकी सविता बिकेको पनि छ। पाँच वर्षअघिसम्म उनको दैनिकी चुल्होचौकामै सीमित थियो। दिनभर घरको काम साँझ बिहान चुल्होचौका। उनको घरमा रोजगार कोही थिएनन्।

२०६६ सालमा उनले  सिलाइ-कटाइ तालीम लिइन्। केही वर्ष अर्काको पसलमा काम गरेकी सविताले अहिले आफ्नै पसल खोलेकी छिन्। 

अहिले आफ्नो व्यवसायबाट सविता सन्तुष्ट छिन्। उनले ४ जनालाई रोजगारीसमेत दिएकी छिन्को।

सविता भन्छिन् ‘आखिर काम सानो ठुलो के नै हुन्छ र? जे गरे पनि आफ्नो आर्थिक उपार्जन गर्ने हो। म त निकै सन्तुष्ट छु आफ्नो पेसाबाट। अहिले स्थानीय सरकारले गाउँमा विभिन्न समस्यामा परेका महिलाहरूलाई यस्ता उद्यममा लगाउन सक्नुपर्दछ।' 

बाहुनकी छोरी, हातमा मेसिन!

कतिपय गाउँका नागरिकहरूमा अझै पनि सिलाइ-कटाइ दलित समुदायका मानिसहरूले मात्रै गर्छन् भन्ने अन्धविश्वास कायमै छ। महावु गाउँपालिकाकी बिन्दु उपाध्याय बाहुनकी छोरी हुन्। उनले सिलाइ-कटाइ सिक्दा गाउँभर बाहुनकी छोरीले मेसिन छुन थाली भनेर निकै चर्चा र विरोध भयो। उनका परिवारले पनि आफूहरूको नाकै काटिस् भनेर गाली समेत गरे। कक्षा १२ मा अध्ययन गर्दागर्दै विवाह गरेकी उनी आफू र श्रीमान् दुवैको आम्दानीको श्रोत नभएपछि केही गरौँ भनेर विकल्प खोज्न थालेको बताउँछिन्।

‘हाम्रो ठाउँमा सिलाइ-कटाइ व्यवसाय गरे केही होला जस्तो लाग्यो। त्यसपछि एउटा तालिम लिएँ’ उनी भन्छिन् ‘पहिले त गाउँमा बाहुन की छोरीले पनि मेसिन चलाउने हो भन्दै गिज्याउँथे, अहिले त सबैले सकारात्मक रूपमा लिएका छन्।’

उनले आफूले अझै पूर्ण रूपमा सिप नसिकेको अनुमान गरेर पुन: घरेलु तथा साना उद्योग विकास समितिमार्फत स्तरोन्नति तालिम समेत लिइन्। सदरमुकाममा उनको पनि आफ्नै व्यवसाय छ। ‘सुरुमा घरका सबै परिवार पनि खुसी थिएनन्, पछि राम्रो आम्दानी हुन थालेपछि घर परिवारसमेत अहिले खुसी हुनुहुन्छ।’ उनले थाहाखबर सँग भनिन्। अरूजस्तै उनले पनि मासिक रूपमा ३० देखि ४० हजार रुपैयाँसम्म कमाउने गरेकी छन्। त्यति मात्र नभएर उनी अहिले घरेलु तथा साना उद्योग विकास समिति दैलेखमार्फत सञ्चालन हुने सिलाइ-कटाइ सम्बन्धी आधारभूत तालीमको प्रशिक्षक भएर काम गरिरहेकी छिन्। 

पहिले बालिघेर, अहिले टेलर्स

कपडा सिलाउने, हलो जोत्ने जस्ता कामहरू कुनै एउटा निश्चित व्यक्तिलाई दिएर बाली घरे बनाउने चलन विगतमा थियो। अहिले यो शब्द परिवर्तन भएको छ। महिलाहरू आ–आफ्ना गाउँहरूमा पनि सिप सिकेर सिलाइ-कटाइको काममा लागेका छन्।

पहिले बालिघुरेकोमा सिलाउन जानेहरू अहिले टेर्लसमा जान थालेका छन्। दैलेखको गुराँस गाउँपालिका ६ मा पर्ने जोरेबाझँ गाउँकी पायल बिसीले सुर्खेतमा ३ महिना लगाएर सिलाइ-कटाइ प्रशिक्षण लिइन्। प्रशिक्षण सकिए लगत्तै उनले गाउँमै आएर एउटा मेसिन खरिद गरेर सिलाइ कटाइ केन्द्र खोलिन्। अहिले उनी आफ्नै घरमै बसेर ३५ हजारर रुपैयाँसम्म कमाउँछिन्। 

‘एसएलसीपछि सिलाइ-कटाइ सिकेर काम सुरु गरेकी हुँ, अहिले घरमा सबैलाई आवश्यक पर्ने खर्च यहीँबाट चलाउने गरेकी छु’ उनी थप्छिन् ‘घरमा हुने अन्य आम्दानी बचत भएको छ, घर परिवार पनि खुसी हुनुहुन्छ।’

सोही गाउँकै बुटा बिक पनि सिलाइ-कटाइकै पेसामा सक्रिय छन्। २ वर्षयता सिलाइ-कटाइको काममा लागेकी उनी पनि आफ्नो पेसाप्रति सन्तुष्ट छन्।

उनी भन्छिन्- ‘पहिले पहिले त बालिघरेहरूसँगै मान्छेहरू धाउँथे। आजकल आफूले पनि राम्रो गुणस्तरको कपडाको सिलाएर पठाउन थालेपछि धेरै मानिसहरू आउन थाल्नुभएको छ।’ बुटा लगानी बढाएर गाउँकै ४ जना दिदीबहिनीसँग मिलेर व्यवसाय विस्तारको योजनामा छिन्। 

यस्तै कथा दैलेखमा अरू महिलाको पनि छ। आठवास नगरपालिका ३ मा पर्ने राकमकर्णालीकी २१ बर्सिया विष्णु थापा (माझी) केही महिनाअघिसम्म अर्काको पसलमा ज्यालादारीमा काम गर्थिन्। ज्यालामा काम गरेर आफ्नो आवश्यक्ताअनुसार खर्च व्यवस्थापन गर्न समस्या भएपछि उनले पनि आफैँ व्यवसाय सुरु गर्ने निर्णय गरिन्।

पहिले अरूको काम गरे १० हजार रुपैयाँभन्दा केही बढी आम्दानी गर्ने उनी अहिले आफ्नै घरमा बसेर अरू महिला जस्तै मनग्य आम्दानी गर्न सफल भएकी छन्। ‘माधव नेपाल प्रधानमन्त्री हुँदा १० वटा नमुना सहर निर्माणको घोषणा भयो, बिस्तारै बजार बढ्ने अनुमान गरेर मैले पनि आफ्नै ठाउँमा व्यवसाय सुरु गरेकी छु’ उनले भनिन्।

उनको बजार क्षेत्रमा दैलेख र अछामका विभिन्न क्षेत्रका नागरिकहरूको जमघट हुने गर्दछ। उनका श्रीमान् पनि सोही बजारमै कष्मेटिक पसल गरेर बसिरहेका छन्। दुवै जना सानो व्यवसायमा संलग्न भएपछि आफूहरूको जीविकोपार्जनमा सहज भएको उनको अनुभव छ। उनी भन्छिन् ‘दिनानुदिन कयौँ दाजुभाइ तथा दिदीबहिनीहरू वैदेशिक रोजगारीमा जानुहुन्छ। तर घरपरिवारमै मिलेर केही व्यवसाय सञ्चालन गरेपछि राम्रो छ अहिले। विष्णुको अनुभवमा महिलाहरू उद्यमशील बन्न आवश्यक छ।

वर्षौयता खलो लिएर सिलाई गर्दै आएका भैरव गाउँपालिका ५ का ललिते नेपालीले भने ‘गाउँका अधिकांश चेलीबेटीले सिप सिकेका छन्, उनीहरू नै ज्याला लिएर काम गर्छन्।’ पहिलाको जस्तो बालिघेर चलन पनि अहिले हराउँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.