|

चितवन : एम्बुलेन्स चलाउन छाेडेर चालक आन्दोलनमा उत्रिएका छन्। जिल्लामा सञ्चालित एम्बुलेन्समा जिल्ला जनस्वास्थ्य कार्यालय र प्रशासनले अनुगमन सुरु गरेपछि एम्बुलेन्स चालकहरू हड्तालमा उत्रिएका हुन्।

चितवनमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरित सञ्चालन भइरहेको गुनासो बढेपछि अनुगमन गर्दा चालकहरू एम्बुलेन्स नै थन्काएर आन्दोलनमा उत्रिएका छन्। आफूहरूलाई जहाँ पायो त्यहिँ रोकेर कागज माग्ने, खोस्ने गर्दा विरामीसँगै चालकलाई पनि समस्या पर्ने भएकाले अनुगमनको विरोधमा आन्दोलित हुनु परेको संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन चितवनका अध्यक्ष सुमन घलेले बताए।

'हामी अनुगमनको विरोधी होइनौं। अनुगमन गर्नु राम्रो हो। तर प्रक्रियागत रुपमा गर्नुपर्‍यो', घलेले भने, 'चिठ्ठी काटेर, बोलाएर, जानकारी गराएर अनुगमन गरे हामी सहयोग गर्न तयार छौँ।' चालकहरू आन्दोलित भएपछि एम्बुलेन्स युनियनका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुगमनका क्रममा सहयोग गर्नुको साटो अवरोध गरेपछि लामिछानेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहले जानकरी दिए। 

यसैबीच प्रमुख जिल्ला अधिकारीले चितवनका विभिन्न स्थानमा सञ्चालित केही एम्बुलेन्स कागजपत्र, लाइसेन्स लगायतका मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको गुनासो बढेपछि अनुगमन सुरु गरिएको बताए। उनले साेमबार भरतपुरका मुख्य बजार बाहिर अनुगमन गरिएको र आज भरतपुर अस्पताल लगायत विभिन्न स्थानमा अनुगमन गर्दा केही चालकले अवरोध गरेको बताए। उनले भने, 'निमय, मापदण्ड अनुसार प्रक्रिया अनुसार अनुगमन भएको छ। अनुगमन भनेकै अकस्मात गर्ने हो। विरोध गर्नुको कुनै अर्थ छैन।' 

मंगलबार भरतपुर सरकारी अस्पताल लगायतका स्थानमा रहेका एम्बुलेन्समा अनुगमन टोलीले सोधपुछ गर्नथालेपछि चालकले अवरोध गरेका थिए। त्यसपश्चात जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा प्रहरीसहितको अनुगमन टोली र एम्बुलेन्स चालकका प्रतिनिधिबीच छलफल पनि भएको थियो। सो क्रममा विरामी र चालक कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी अनुगमन गर्ने र चालकले आवश्यक सहयोग गर्ने सहमति पनि गरेका थिए।

युनियनका केन्द्रीय अध्यक्ष लामिछानेलाई पक्राउ गरेपछि चालकले जिल्ला प्रहरी कार्यालय अगाडि एम्बुलेन्स लाइन लगाएर पार्किङ गरेकाछन्। बन्द हड्ताल लगायत जस्तोसुकै अवस्थामा पनि सञ्चालन हुनुपर्ने अत्यावश्यकीय सवारी साधान एम्बुलेन्स थन्क्याएर चालक आन्दोलित हुँदा विरामी प्रत्यक्ष प्रभावित भएका छन्। यद्यपि अहिलेसम्म एम्बुलेन्स नपाएर विरामीले दुख पाएको भन्ने घट्ना भने आइनसकेको विभिन्न अस्पताल स्रोतले बताएको छ।

सरोकारवाला पक्षले भने चालकको आन्दोलन लामोसमयसम्म जारी रहे विरामीलाई समस्या पर्ने भन्दै चाँडै समाधान गर्नुपर्नेमा जोड दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.