|

सिन्धुली : गाउँपालिकाका बेरोजगार महिला/पुरुषलाई रोजगारी दिने उद्देश्यसहित सिन्धुलीको तीनपाटन गाउँपालिकाले उपाध्यक्ष ‘उद्यमशीलता कार्यक्रम’ संचालन गर्ने भएको छ। गाउँपालिकाको बेरोजागरीको संख्या कम गर्न एक सय महिला तथा पुरुषलाई उद्यमशील बनाई स्वरोजगार बनाउने उदेश्यले ‘उपाध्यक्ष उद्यमशीलता कार्यक्रम’ ल्याइएको हो। 

चालु आर्थिक वर्ष २०७५/०७६ मा गाँउपालिकाका बेरोजगार एक सय जना महिला तथा पुरुषले रोजगारी पाउने गरी उपाध्यक्ष उद्यमशीलता कार्यक्रम ल्याइएको तीनपाटन गाउँपालिकाका उपाध्यक्ष पदममाया तामाङले बताइन्। उपाध्यक्ष तामाङका अनुसार गाँउपालिकाले सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ।

उपाध्यक्ष उद्यमशीलता कार्यक्रमअन्तर्गत बेरोजगार महिला तथा पुरुषलाई सुरुमा आवश्यक सीप सिकाई दक्ष बनाउनले र त्यसपश्चात् व्यवसाय गर्न अनुदानसहित सहयोग गर्ने उपाध्यक्ष तामाङले बताइन। उनले भनिन्,‘उपाध्यक्ष उद्यमशीलताको पहिलो लक्ष्य भनेको नै एक व्यक्तिलाई सीप सिकाई दक्ष बनाउनु भएकाले हामी एक सय जनालाई सीप सिकाउँछौँ, सीप सिकेका वा सीप भएकाहरूलाई लगानी गर्न तथा आवश्यक सामग्री के चाँहिन्छ हामी सहयोग गछौँ।’

उपाध्यक्ष तामाङले उक्त कार्यक्रममार्फत सीप सिकेपछि पनि अन्यत्रै काम गर्न जानुपर्ने, विदेशीनु पर्ने, वा पच्छुताएर बस्नुपर्ने  अवस्था आउन नदिने भन्दै कार्यक्रममा सहभागी भएका सबैले अनिवार्य रूपमा व्यवसाय सुरु गर्ने वातावरण सिर्जना गर्ने दावी गरिन्। स्थानीयको माग र गाउँपालिकाको सम्भावनाका आधारमा गाउपालिकामा भएका स्थानीय स्रोत साधानको अधिकतम प्रयोग गर्दै उक्त कार्यक्रमलाई प्रभावकारी बनाउनेतर्फ गाउँपालिका सचेत रहेको उनको भनाई छ।

स्थानीय स्रोत साधनको अधिकतम प्रयोग हुने धेरै विषयमा सीप विकास र उद्यमशिलता विकास तथा व्यवस्थापनसम्बन्धी तालिमलगायत प्रवर्द्धनात्मक कार्यक्रमहरू निरन्तर रूपमा संचालन गरिने उपाध्यक्ष तामाङले बताइन्। उक्त कार्यक्रममा सहभागी व्यवसायीहरूले उत्पादन गरेको वस्तुको विक्री वितरणका लागि स्थानीय बजारलाई नै व्यवस्थापन गर्ने, उत्पादीत वस्तुहरूको प्रचार प्रसार गर्न गाउपालिकाले सघाउने उनले बताइन्।

गाउँपालिकाका बेरोजगार नागरिकहरू उद्यमशील, व्यवसायी र आत्मनिर्भर हुने अपेक्षासहित उपाध्यक्ष उद्यमशिलता कार्यक्रम ल्याइएको उनको भनाई छ। तर उक्त कार्यक्रम गैरसरकारी संस्थामार्फत सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.