|

नवलपरासी : ललाइफकाई भारत पुराएर एक डान्सबारमा बन्धक बनाइएकी पश्चिम नवलपरासी सुनवल १२ की एक महिलालाई ६ महिनापछि सकुसल उद्धार गरिएको छ। रामग्राम १६ मा रहेको एक चाउचाउ फ्याक्टरीमा काम गर्दै आएकी परिवर्तित नाम मैना कुमारीलाई सोहि कम्पनीमा काम गर्ने पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुर बस्ने मनोज धोवीले गत असोज १० गते ललाइफकाई गरी भारतको डान्सबारमा  पुर्‍याएका थिए।

भारत महाराजगञ्ज थाना तहशिल निच्लोलस्थित रहेको करन रेकर्डिङ डान्स पार्टी एण्ड डिजे पार्टीमा बन्धक रहँदै आएकोमा सीमा प्रहरी चौकी महेषपुर र आफन्त नेपाल संस्थाको सहयोगमा मंगलबार उनको उद्धार गरिएको हो।  बन्धक महिलाले आफ्नी बहिनीलाई समेत ल्याउनका लागि दवाव दिइरहेको भन्दै आफन्तलाई खबर गरेपछि आफन्तले भैरहवास्थित आफन्त नेपाल संस्थालाई सहयोग गरिदिन आग्रह गरेका थिए।

महिलाको उद्धारका लागि महेषपुर आएको आफन्त नेपाल संस्थाको टोली र महेषपुर सीमा प्रहरी चौकीको संयुक्त टोलीले कोतवाली थाना ठुठीबारी प्रहरीसँग समन्वय गरेर बन्धक महिलालाई सकुसल उद्धार गर्न सफल भएको हो।

टोलीले महाराजगञ्ज ठुठीबारी बस्ने वर्ष २४ का सन्दीप सहानीलाई पक्राउ गरी कोतवाली थानामा बुझाएको छ। महिलालाई ललाइफकाई गरी भारत पुर्‍याएर बन्धक बनाउने पाल्हिनन्दन ३ का मनोज धोवीको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्।

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

पश्चिम नवलपरासीमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुस्ता गाउँपालिका १ बनदेवीका वर्ष ५७ का केवल चमार रहेको प्रहरीले जनाएको छ। चमारले सोही ठाउँ बस्ने एक ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बालिकाका आफन्तले कुडिया प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले हरिजनलाई पक्राउ गरेको हो।

हरिजनले मिठाइ किन्न पसलतर्फ जाँदै गरेकी बालिकालाई समातेर आफ्नै घरको ट्वाइलेटमा लगेर करणी गरेको खुल्न आएकोले निज हरिजनलाई पक्राउ गरि थप अनुसन्धान  सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.