|

नैतिक शिक्षाले गर्छ हानि

धर्मगुरुहरूले, पण्डितहरूले, पुजारीहरूले, पादरीहरूले, मौलानाहरूले, शिक्षकहरूले, मातापिताहरूले अनि अन्य अग्रजहरूले नैतिक शिक्षा सिकाएका छन्। बारम्बार सिकाएका छन्। हामी स्वयंले धर्मशास्त्रहरूमा र किताबहरूमा नैतिकताका कुरा अध्ययन गरेका छौँ। कसलाई थाहा नहोला चोर्न हुन्न भनेर? कसलाई थाहा नहोला झुट बोल्न ठिक होइन भनेर? व्यभिचारी ठिक होइन भन्नेहरू नै कामुक छन्। हिंसा गर्न ठिक होइन भनेर बुझेकाहरू नै बढी हिंस्रक छन्। बेस्सरी मातेर रक्सी सेवन गर्नु ठिक छैन भन्नेहरू को हुल छ यो संसारमा। किन मानिसहरू गल्ती बोध गर्दै गल्ती गरिरहेका छन्। अवश्य कहीँ त कमी भएकै छ, हामीले पाएको संस्कारमा।

छोपिएका, लुकाइएका वा प्रतिबन्धित गरिएका कुराहरूले नै हामीलाई मोहनी लगाउँछ। अग्लो पर्खाल पछाडिको रहस्यले नै त उत्सुकता जगाउँछ। नराम्रो कुरा हो गर्नुहुन्न भन्ने नैतिक शिक्षाको बन्देजले नै त हामीलाई त्यस्तै कुरा गर्न कुत्कुताउँछ। एक अर्थमा नैतिक शिक्षा दिएकाहरूले हामीलाई बिग्रिन्न खुल्लेआम आमन्त्रण गरेका हुन्। बालकहरूले अनुशरण गर्दछन्। तर आदेश मान्न बालकलाई उसको अहंताले रोक्दछ। हरेक दिन जुवा खेल्ने बुबाले जुवा खेल्न हुन्न भन्ने नैतिक शिक्षा दिएमा परिणाम के हुन्छ? चुरोट तान्ने गुरुले चुरोट तान्न हुन्न भन्ने दिएको नैतिक शिक्षाको परिणाम के हुन्छ? अनुसरण गर्ने तर आदेश नमान्ने छोराले जुवा खेल्ने नै भयो। अनि विद्यार्थीले चुरोट त तान्ने नै भयो।

यसरी संस्काररत हुँदै गर्दा जब हामी वयस्क हुँदै जान्छौँ, हामीमा सही र गलत छुट्टाउने केही चेतना विकास हुन्छ। हामीमा ज्ञानी बन्ने चाहना पनि हुन्छ। तर, हामीले परिवर्तनको आधार हाम्रो आफ्नै अन्तरमनलाई बनाउदैनौं। हामीले सही र गलतको मापन समाजले श्रृजना गरेको नैतिक आचरणलाई बनाउछौं। यहीनेर हामीले पहिलो भूल गरेका हुन्छौँ। किनकि नैतिकता सिकाउने तर पालना नगर्ने समाजलाई अनुशरण गर्दा हामी पत्तै नपाई द्वैध चरित्रको बनिसकेका हुन्छौँ। अब हामीलाई व्यभिचारी गर्न हुन्न भन्ने थाहा हुन्छ तर अर्काको छोरीबेटी देख्दा र्‍याल काढ्छौँ। घुस खानु नराम्रो हो भनेर थाहा हुन्छ तर रुपैयाँ देखेपछि इमान बिर्सन्छौँ। यहीँनेर निरन्तर संर्घष चलिरहेको हुन्छ। समाजले निर्धारण गरेको नैतिक आचरणमा खरो उत्रन चाहने तपाईं र यथार्थमा मानसिक विकारले ग्रसित तपाईंबीच जति बढी अन्तर छ, पीडा त्यति नै ठूलो हुन्छ। समाजको अगाडि हामी सधैँ राम्रो मात्र बनेर देखिन खोज्छौँ तर यथार्थमा सधैँ सफल भइरहेका हुँदैनौँ। बेला बेलामा हाम्रो असली चरित्र छर्ल‌ंग हुन्छ। अनि यस्तै अवसरहरूमा अरूका अगाडि हामी राम्रो देखिन विभिन्न तर्क वितर्क दिएर आफ्नो बचाउ गर्छौं। तर, पनि आफूले गल्ती गरेको महसुसले भित्र भित्र हीन बनाउँदै लगेको हुन्छ। इच्छा लाग्छ परिवर्तनको। कोसिस पनि गर्छौं तर त्यो सम्भव भइरहेको हुँदैन। किन त्यस्तो भइरहेको छ त? हामीले हाम्रो आफ्नै मनको विकारसँग गरेको व्यवहारमा कतै कमी त अवश्य भएको छ ! 

सबै किसिमका मानसिक विकारहरू हिंसा, रिस, बास्ना, अहङ्कार, राग, द्वेष, लोभ, शङ्का सबै माथि बस पाउने उपाय एकै हो। किनकि मानसिक विकारहरू समस्या नभएर केवल समस्याका सूचकहरू मात्र हुन्। समस्या त तनावपूर्ण मस्तिष्क हो। त्यसैले आफूमा भएको कुनै एक वा दुई विकारको उपचार गर्नु भनेको केवल मूर्खता मात्र हो।

हामी आफ्नै लागि नभई समाजको लागि राम्रो बन्ने धूनमा छौँ। त्यसैले अरूले गरेको व्यवहार र अरूले भनेको कुराले हामीलाई पार्नुको प्रभाव पार्दछ। खासमा समस्याको जड पनि यही हो। हामी आफ्नै लागि राम्रो बन्नुपर्ने हो। अरूले गरेको व्यवहार र भनेका कुराले खासै प्रभाव पर्नु नपर्ने हो तर त्यसो हुन सक्दैन। तर अझै केही बिग्रेको छैन। उपाय छ परिवर्तनको। मानसिक विकाररहित मनको स्वामी बन्ने बाटो अझै खुल्ला छ।

सबै किसिमका मानसिक विकारहरू हिंसा, रिस, बास्ना, अहङ्कार, राग, द्वेष, लोभ, शङ्का सबै माथि बस पाउने उपाय एकै हो। किनकि मानसिक विकारहरू समस्या नभएर केवल समस्याका सूचकहरू मात्र हुन्। समस्या त तनावपूर्ण मस्तिष्क हो। त्यसैले आफूमा भएको कुनै एक वा दुई विकारको उपचार गर्नु भनेको केवल मूर्खता मात्र हो। जस्तै तपाईं रिसाहा प्रवृत्तिको हुनुहुन्छ भने तपाईँले रिसलाई मात्र नियन्त्रण गर्ने बारेमा सोच्नुहुन्छ भने त्यो रोगको उपचार नगरी केवल रोगको लक्षणको उपचार गर्नु मात्र हो। मानिलिऊँ कुनै मानसिक चिकित्सकको सहाराले तपाईँले रिसमा काबु पाउनु भो भने पनि अब रिसको साटो तपाईंमा बासना वा लोभ जाग्न सक्छ किनकि वास्तविक समस्या त मस्तिष्कको अवस्था हो, जुन जस्ताको त्यस्तै छ। रूपान्तरण त साङ्गोपाङ्गो मस्तिष्कको गर्न जरुरी छ। अनि राम्रो कुरा के हो भने तपाईँमा भएको कुनै एक मानसिक विकारलाई आधार बनाएर मस्तिष्कको रूपान्तरण गर्न सकिन्छ। यहाँनेर हामी हिंसाको उदाहरणका रूपमा लिएर र्निविकार हुने तरिकाको चर्चा गछौं। 

विकार हाम्रै चित्तमा

यो उदाहरणलाई एकचोटि मनन गरौँ। एउटा अवस्थामा ‘क’ लाई रिस उठ्छ। उसले आफ्नो बच्चामाथि हात उठाउँछ। अनि बच्चालाई गाली गर्न थाल्छ 'तेरै भलाइको लागि कुटेको हुँ।' अर्को अवस्थामा ‘क’ लाई रिस उठ्छ। उसले आफ्नो श्रीमतीमाथि हात उठाउँछ। प्रतिक्रियामा श्रीमती माइती जान्छे। उसलाई मनमा भित्रभित्र बेकार श्रीमतीमाथि हात उठाएँछु भन्ने महसुस हुन्छ। हामीमध्ये धेरै यस्ता समस्याबाट ग्रसित छौँ। यहाँनेर हामीले पहिलो गल्ती गर्‍यौँ अरूमा दोष पन्छाएर। हामी चोखिन खोज्यौँ। रिस र हिंसाका कारण त्यो बच्चा र महिला हुँदै होइन, ‘क’ आफैँ हो। अधिकांश अवस्था वासना, राग, द्वेष, हिंसा, रिसलगायतका मानसिक विकारको केन्द्र हाम्रो आफ्नो मन नै हो। अरूले गरेको व्यवहार हुँदै होइन। यदि ‘क’को मनमा हिंसा नहुने हो भने उसलाई कसरी रिस उठ्न सक्छ। मान्छेले आफूसँग जे छ त्यही त दिने हो नि। आफूसँग नभएको कुरा दिन कसरी सम्भव छ र?

विकारलाई सामान्य रूपमा लिने

दोस्रो गल्ती त्यतिबेला गरेका हुन्छौँ जब हामीले गरेको हिंसालाई कि त असल नियत राखेर गरिएको हिंसा हो भनेर हिंसालाई सही साबित गर्छौं वा बेकार हिंसा गरेछु भनेर हीनता महसुस गर्दछौँ। गल्ती गरे भनेर पश्चात्तापमा पर्दछौँ। हिंसा मात्रै होइन हाम्रो मनका सबै विकारहरू सामान्य हुन्। हामी भगवान् त होइन नि विकाररहित हुन्। हामीले गरेको हिंसा वा रिस वा अरू कुनै मानसिक विकार सबै सामान्य हुन्। त्यसलाई राम्रो वा नराम्रो भनेर अतिको रूपमा व्याख्या गरिनुहुँदैन। यदि हामीले मनको विकार बुझ्ने सन्दर्भमा यी दुई अतिमा आफ्नो मस्तिष्कलाई लगायौँ भने हामीमा परिवर्तन सम्भव छैन। त्यसकारण हामीले गरेका सबै कुरा सामान्य हुन् भनेर बुझ्यौँ मात्र भने पनि हामीमा साँच्चै परिवर्तन आउँछ। 

तर, एउटा समस्या छ। हामी यस्तो संस्कारमा हुर्केका हौँ, जहाँ हिंसालाई राम्रो हो भनेर पुष्टि गर्छौं या नराम्रो हो भनेर चिन्तित हुन्छौँ। र हामीले वर्षौंदेखि यस्तै देख्दै, भोग्दै र गर्दै आएका छौँ। यसकारण यस्तो प्रवृत्तिबाट मुक्त हुन हामीले केही असहज महसुस गर्नेछौँ। तर, हाम्रो यस्तै बुझाई विकाररहित मनको स्वामी बन्ने सन्दर्भमा तगारो हुँदै आएकै कारण आज हामी यो अवस्थामा छौँ। हिंसाले झन्झन् महत्त्व पाइरहेको छ। त्यसैले मानसिक विकारको बुझाइको सन्दर्भमा परिवर्तन ल्याउनु जरुरी छ। 

युद्धको सन्दर्भमा कुरा गर्दा अरूको सेना मार्ने बहादुर कहलाउँछ। वीर राष्ट्रसेवक कहलाउँछ। तर, अरूले आफ्नो सेना मार्दा, हत्या गर्ने व्यक्ति निर्मम हत्यारा कहलाउँछ। आफ्नो सैनिक मर्दा वीरगति प्राप्त हुन्छ, सहादत हुन्छ, अर्काको सैनिकको केवल मृत्यु हुन्छ। राष्ट्रका आन्तरिक द्वन्‍द्वका सन्दर्भमा पनि राज्यले आतंकवाद देखेकालाई, तटस्थ बसेका तेस्रो पक्षले विद्रोह देख्छन् र राज्यको विरोधमा लागेकाहरूले क्रान्ति देख्छन्। आखिर एउटै हिंसाका रूप, कसरी फरक-फरक हुन सक्छन्? जसले जति नै व्याख्या गरे पनि हिंसा हिंसा नै हो त्यो कहिल्यै ठिक हुन सक्दैन। हामीले हेर्ने अधिकांश सिनेमाका नायकहरू केवल हिंसा गर्दछन्। हामीले पढेका अधिकांश शास्त्रहरूमा भगवानले पनि हिंसा गरेका छन्। त्यो सबै केवल हाम्रो विकृत मस्तिष्कको उपज हो। राष्ट्रको नाममा, न्यायको नाममा परिवर्तनको नाममा, वर्ग सर्घषको नाममा, धर्मको नाममा, कुनै पनि नाममा गरिने हिंसा केवल हिंसा मात्रै हो। अनि हिंसालाई आफू अनुकूल उपयुक्त तवरले राम्रो भनेर पुष्टि गरिने परिपाटीको अन्य गरिने हो भने हिंसा आफैँ विलय भएर जाने छ। सामाजिक र व्यक्तिगत दुवै सन्दर्भमा समस्या उस्तै छ।

तर हिंसालाई राम्रो मात्र होइन, नराम्रो भनेर व्याख्या गरिरहनु पनि निको कुरा होइन। कुनै चिजलाई जब हामी राम्रो वा नराम्रो दुवै मान्दैनौँ त्यसको महत्त्व स्वतः घटेर जान्छ। अनि जसको महत्त्व कम हुन्छ त्यो स्वतः विलय भएर जान्छ। तर, यदि हिंसालाई नराम्रो हो भन्ने मानसिकताबाट हामीले मुक्ति पाएनौँ भने, त्यसले महत्त्व पाउँछ र त्यो सशक्त हुन्छ। अनि फेरि जहाँ नराम्रो छ, त्यहाँ राम्रो पनि छ। अनि जहाँ नराम्रो र राम्रो छ, त्यहाँ द्वन्द्व छ। हिंसा छ। आखिर हिंसा मानव मनको एउटा महत्त्वपूर्ण प्रवृत्ति हो। यसै सन्दर्भमा यदि हिंसालाई सराप्यौँ भने त हामीमा हीन भावले जरा गाड्नेछ। यस्तो अवस्थममा मनको परिवर्तनलाई हामीले असम्भव देख्नेछौँ। तर, हामीले हिंसालाई त केवल रूपान्तरणको विधि बनाउन जरुरी छ। हिंसा मात्रै होइन सबै किसिमको विकारलाई रूपान्तरको विधि बनाउनु जरुरी छ।

हिंसाका सन्दर्भमा मात्रै होइन हामीले हरेक किसिमका मानसिक विकारसँग यसरी नै व्यवहार गदै आएका छौँ। अनगिन्ती बलात्कारको घटनामा दोषीहरूले आफूले बलात्कार नगरेर आफूलाई बाध्य पारिएको बयान दिएका छन्। मध्यरातमा एक्लै छोटो कपडा लगाएर हिँडेर बलात्कारका लागि निमन्त्रणा दिएका कारण आफूले बलात्कार गरेका हुँदा दोष आफ्नो नभएर बलात्कृत केटीकै हो भनेर बयान दिने गरेका छन्। तर, बास्नाको स्रोत त ती बलात्कारीकै हुन् नि। 

अन्तमा फेरि एकपटक

फेरि एकचोटि थाहा पाऊँ, मनलाई विकाररहित बनाउने सन्दर्भमा ध्यान दिनुपर्ने कुरा भनेको पहिलो कुनै पनि विकार हिंसा, रिस, बास्ना, अहंकार, राग, द्वेष, लोभ, शंका आदि उत्पन्न हुनुको कारण बाहिरी जगतमा छैन। तिनको घर त हाम्रो आफ्नै मस्तिष्क नै हो। त्यस कारण मानिसले आफूले गरेको हरेक कर्मको दोष र जस आफैँले लिनुपर्छ। अरूको अगाडि राम्रो भइदिनुभन्दा आफू जस्तो छ उसै गरी व्यवहार गनुपर्छ। अरूले गरेको तारिफ र दुर्व्यवहारलाई सामान्य रूपमा लिनुपर्छ, किनकि तिनीहरूले गरेका कार्यहरूको कारणको स्रोत पनि उनीहरू कै मस्तिष्क नै हो। त्यस्तै मानसिक विकारलाई राम्रो भनेर पुष्टि गर्ने र नराम्रो भनेर हीनता महसुस गर्नु पनि हुँदैन। मानसिक विकारलाई सामान्य रूपमा लिँदै जाँदा विकाररहित मस्तिष्कको स्वामी बन्न सकिन्छ। अन्तिम, म आफ्नो विकारमाथि विजय प्राप्त गर्छु गर्छु भनेर दृढ संकल्प लिन पनि जरुरी छैन। त्यो क्रमशः आफ से आफ हुँदै जाने कुरा हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.