|

सुनसरी : अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुनसरीको इटहरीमा शुरु गरेको छ। नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ।

एन्फा सुनसरीका अध्यक्ष केशव कार्कीका अनुसार शनिबार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल स्थलमार्ग हुँदै सोमबार राति इटहरी आइपुगेको हो। बन्द प्रशिक्षण मंगलबारबाट इटहरी रंगशालामा शुरु भएको छ। भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले भारत र इरान जस्ता बलिया टोलीलाई पराजित गर्दै फाइनल खेलेको थियो। भारतलाई पराजित गरेकाले टिमको मनोबल उच्च भएको कप्तान निरु थापाले बताइन्।

साफलाई लक्षित गर्दै नेपाल फर्किए लगत्तै महिला टोलीलाई बन्द प्रशिक्षणमा राखिएको र साफ महिला च्याम्पियनसिपको उपाधि रक्षा गर्ने दाउमा रहेको प्रशिक्षक हरी खड्काले बताए। प्रशिक्षणकै क्रममा साफ खेल्ने अन्तिम टोलीको नामावली सार्वजनिक गरिने उनले जानकारी दिए। राष्ट्रिय टिममा अहिले २३ खेलाडीलाई समावेश गरिएको छ। साफका लागि अन्तिम २० सदस्यीय टोलीको घोषणा हुने उनले जनाए। इटहरीमा बन्द प्रशिक्षण गर्दा यहाँको मौसममा ‘फिट’ हुन सजिलो हुन्ने भएकाले इटहरी रंगशालामा प्रशिक्षण सुरु गरिएको सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनुरोध थापाले बताए।

साफ महिला च्याम्पियनसिप यसअघि श्रीलंकाले आयोजना गर्ने निर्णय भएको थियो। तर श्रीलंकामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने भएपछि दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले निर्धारित समय भन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको थियो। घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.