|

डडेल्धुरा : प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य आगडि बढाउने बताएका छन्। पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले ल्याएको समानसमेत धमाधम लैजान थालेका बेला डडेल्धुरा पुगेका प्रधामन्त्री ओलीले वर्तमान सरकारले नै यसको काम सम्पन्न गराउने दाबी गरेका हुन्।

डडेल्धुराको अमरगढी नगरपालिका–१ दूधकाँडेमा निर्माण गएिको स्याउले १३२/३३/११ केभी सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस सव स्टेशनबाट सुदू्रपश्चिम प्रदेशको विद्युत् आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पश्चिम सेती जलविद्युत आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गरे।

सव स्टेशनले सुदूरपश्चिमको विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने उनको भनाइ थियो। ‘अब हामी पश्चिम सेती निर्माण गर्नेछौँ। म प्रधानमन्त्री हुँदाहुँदै सुरु हुन्छ', उनले भने, ‘म प्रधानमन्त्री हुँदाहुँदै यहाँका धेरै बाटाहरू बन्छन्।’

उनले विद्युतीकरण हुन बाँकी रहेका सुदूरपश्चिमका दुरदराजका ठाउँमा पनि यस सव स्टेशनबाट विद्युत् विस्तारमा टेवा पुग्ने दाबी गरे। ‘पश्चिम सेतीको निर्माण बाहेक अरू यहाँको सम्पूर्ण बिजुली यस सव स्टेशनले नियमित गर्न र नियमित ढंगले सप्लाइ गर्न सक्दछ।’

सुदूरपश्चिम विकासमा पछाडि परिरहनू पर्दैन

प्रधानमन्त्री ओलीले अब सुदूरपश्चिम विकासमा पछाडि परिरहनु नपर्ने बताएका छन्। ‘अब सुदूरपश्चिम पछाडि परिरहनुपर्ने, विकासमा पछाडि पर्नुपर्ने आवश्यकता छैन’ उनले भने, ‘हामीले यहाँ सब स्टेशन बताएका छौँ। जहाँ विद्युत् पुगेका छैन त्यहाँ विद्युत् हामी पुगाउँछौँ।’

सरकारले विद्युत्, सडकलगायतका विकासका पूर्वाधार नपुगेका क्षेत्रमा सडक, विद्युत् विस्तार गर्ने उनको भनाइ थियो। ‘बाटाहरू जहाँ पुगेका छैनन् त्यहाँ हामी सडक पुर्‍याउँछौँ' उनले भने, ‘कृषिको आधुनिकीकरण, महिलाको उत्थान, महिला जागरण कार्यक्रमहरू संचालन गरिरहेका छौँ।’

कहिँकतै कसैले भ्रष्टाचार गरेको भेटे त्यसलाई नछोड्ने

फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्याकाण्डमा संलग्नलाई सरकारले कारबाही गरेर छाड्ने बताएका छन्। ‘केही घटनाहरू तत्काल पत्ता लाग्दैनन्। अनेकौ घटनाहरू जस्ता भएका छन्', उनले भने,–‘तर यो सरकार यस्ता कुराहरुलाई दृढताका साथ छानबिन गर्ने पत्ता लगाएरै छाड्छ।’

अहिले अख्तियार दुरुपयोग अनुसन्ध आयोगका सदस्यहरू राजीनामा दिएर भाग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले केही पनि कारबाहीबाट भाग्न नपाउने दाबी गरे। ‘अख्तियार दुरुपयोग अनुसन्ध आयोगका सदस्यहरूले समेत राजीनामा दिएर भाग्नुपर्ने अवस्था छ, कारबाहीबाट उम्किनका लागि’ उनले भने, ‘तर, कोही पनि कारबाहीबाट उम्किन पाउँदैन। कोही पनि कारबाहीबाट जोगिन पाउँदैन। कारबाही हुन्छ।’

उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए। कहिँकतै कसैले भ्रष्टाचार गरेको भेटे त्यसलाई नछोड्ने उनको भनाइ थियो। उनले भने,–‘म भ्रष्टाचार गदैन। अरुलाई पनि गर्न दिँदैन। कोही भ्रष्ट भएको देखियो। फेला पर्‍यो भने त्यसलाई छोड्दिन।’

तुइन विस्तापित हुन्छन्

उनले बाँकी रहेका ठाउँका तुइन विस्तापित गर्न पनि सरकार लागिपरेको बताएका छन्। महाकाली नदीमा रहेका तुइन विस्तापित गर्नका लागि भारत उत्तराखण्डका प्रदेश प्रमुख र मुख्यमन्त्रीसँग सहकार्य गरेर अगाडि बढेको बताए। उनले तुइन विस्तापित नहुने ठाउँमा केबुलकार बनाउने बताए।

सब स्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण : पुन

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले सव स्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार गरेको बताएका छन्।

‘यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पूर्वाधार तयार भएको छ’, उनले भने–‘पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानी बोर्डमा छलफल भइरहेको छ।’

दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सब स्टेशनबाटै डडेल्धुरा, बझाङ, दार्जुला, डोटी, बैतडी र अछाममा वितरण भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेल्धुराको स्याउलेमा उक्त सब स्टेशन निर्माण गरिएको हो।

यसअघि नेपाल विद्युत प्राधिकरणले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्‍याई फेरि करिब एक सय किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो। अत्तरिया–डडेल्धुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेल्धुरा र डोटीको दिपायलमा भएका ३३/११ केभीका सव स्टेशनमार्फत विद्युतलाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेसन सञ्चालनमा आएपछि सुदूपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत प्रवाहको गुणस्तरलाई पनि बढाएको बताए। सवस्टेशनका कारण सुदूरपश्चिम क्षेत्रको विद्युत् प्रवाहको गुणस्तर तथा विश्वसनीयता मजवुत भएको उनको भनाइ थियो।

सबस्टेशनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा सुरु गरिएको थियो। प्रसारण लाइनको निर्माणका लागि ८ पुस २०७२ मा इष्ट इन्डिया उद्योगरवाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो।

कम्पनीले ८ असार २०७५मा निर्माण सकी सवस्टेसन सञ्चालनमा आएको थियो। सब स्टेशनमा १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ।

जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्चसमेत गरी सबस्टेशनको ४५ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

जसरी भए पनि पश्चिम सेती बन्नुपर्छ : मुख्यमन्त्री भट्ट

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको वषौँ बितिसकेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले पश्चिम सेती निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्। उनले जसरी भएपनि पश्चिम सेती बन्नु पर्ने उनको भनाइ थियो।

‘पश्चिम सेती बन्नुपर्छ। सुदूरपश्चिमको विकासमा यसको महत्पूर्ण भूमिका रहन्छ’ उनले भने,–‘समग्र राष्ट्रको विकासमा पश्चिम सेतीले टेवा पुर्‍याउँछ। जुनजुकै तरिकाले भएपनि हुनुपर्छ।’

सब स्टेशनको उद्घाटन कार्यक्रममा प्रधामन्त्री ओलीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिंह बोहरा, नेपाल विद्युत् प्राधिकारणका कार्यकारी प्रमुख घिसिङलगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.