|

दाङ : नेपाली चलचित्रका एक्सन नायकका रूपमा कुनै समयमा चिनिएका नायक निखिल उप्रेतीले नेपालमा नेपाली चलचित्रको भन्दा विदेशी चलचित्रको मार्केटिङ हुदाँ यहाँबाट करोडौँ रकम बाहिर गएको बताएका छन्। उनले त्यति नै रकम बाहिरबाट ल्याउनलाई नेपाली दाजुभाइहरू खाडी मुलकमा गई काम गर्दा पनि त्यति रकम नेपाल आउन नसक्ने भन्दै मनोरञ्जनको नाममा सजिलैसँग करोडौँ रकम बाहिरिएको उनले बताए।

उनले नेपाली चलचित्र उद्योग बचाउन सबैले नेपाली चलचित्र र कलाकारलाई माया नगरे फेरि विदेशी चलचित्रले बजार लिने बताए। एक अर्कालाई दोष दिनुभन्दा सबै कलाकारले कमीकमचोरी सच्चाएर अगाडि बढेमात्रै नेपाली चलचित्र उद्योगको संरक्षण हुने उनको भनाइ थियो।

नायक उप्रेतीले पुराना कलाकारको भोगाइ र नयाँ कलाकारको सिकाइ बीचमा फ्युजन भयो भने उत्कृष्ट फिल्म बन्ने बताए।  मंगलबार तुलसीपुरमा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रममा नायक उप्रेतीले पुराना कलाकारसँग नेपाली सिनेमासम्बन्धी दशकौँको अनुभव र भोगाइ भएको बताउँदै उनले दुवैको फ्युजन गर्दा उत्कृट चलचित्र निर्माण हुने तर्क गरे।

उनले भने 'पुराना कलाकारसँग नेपाली सिनेमासम्बन्धी दशकौँको अनुभव र भोगाइ छ, नयाँ कलाकारहरूले पनि नेपाली फिल्मको बारेमा धेरै सिकेर र पढेर यो क्षेत्रमा आउनु भएको छ, त्यसैले यी दुई पक्षको मिलन भयो भने पक्कै पनी राम्रो फिल्म बन्ने सक्छ।'

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नायक उप्रेतीले भैरवको सिक्वेलको स्क्रिप्टको काम अन्तिम चरणमा भएकाले छिट्टै फिल्मको औपचारिक घोषणा हुने र लगत्तै फ्लोरमा जाने बताए।

त्यसैगरी भैरवमा संचिता लुइँटेल हुने सम्भावना कति छ भन्ने पत्रकारको जिज्ञासामा निखिलले भैरवको सिक्वेलले संचिताको डिमान्ड गर्ने सम्भावना प्रवल रहेको बताए। उनले फिल्म कमिट्मेन्ट सिक्टी आवर छायांकन प्राविधिक कारणले केही समय रोकिएको भए पनि केही महिनापछि फेरि फिल्मको बाँकी छायांकन गरिने बताए। निर्माताको लाखौं रुपैयाँ खर्च भइसकेकाले केही समय लागे पनि फिल्म बन्नेमा कुनै शंका नभएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.