|

पाँचथर : पाँचथर र इलामको सीमावर्ती राँके बजार यस क्षेत्रको पुरानो बजार हो। मेची राजमार्ग यही बजार हुँदै गएको छ। बाह्रै महिना चिसो र हुस्सुसँग लुकामारी खेलिरहनु राँके बजारको विशेषता नै हो। 

पछिल्लो समय राँकेको पहिचान माथि उल्लिखितबाहेक अन्यले वस्तुले पनि बनाउँदैछ। होटल र किराना पसलमा सजाएर बिक्रीका लागि राखिएका अकबरे खुर्सानीले भरिएका बट्टाले यहाँको पहिचान नै फेरिदिएको हो।

पारदर्शी बट्टामा राखिएका रातो अकबरे खुर्सानीले यस बजारलाई सुन्दरता दिएको छ। बजारमा एकैछिन सवारी साधन रोकिनासाथ व्यापारीहरु ‘खुर्सानी लानुहोस्, लानुहोस्’ भन्छन्। व्यापारी चन्द्र तामाङका अनुसार ताप्लेजुङमा रहेको पाथीभारा मन्दिर जाने सिजनमा खुर्सानी अन्य सिजनभन्दा बढी बिक्री हुने गरेको छ। यस क्षेत्रमा आउने र मेची राजमार्ग हुँदै यात्रा गर्नेहरुले कोसेलीको रुपमा लाने गरेको व्यवसायी चन्द्र तामाङ बताउँछन्। ‘यात्रुहरूले कोसेली लान्छन्। थारैले मात्र आफ्नै प्रयोगका लागि लान्छन्,’ उनले भने, ‘यही क्षेत्रमा उत्पादित खुर्सानी भएकाले यात्रुहरुले रूचाउँछन्।’


पाँचरको चिलिङ्देन, फाक्तेप, पौवासारतापसँगै छिमेकी इलामको फाकफोकथुम क्षेत्रमा उत्पादित अकबरे खुर्सानीको बिक्री केन्द्र नै राँके हो। यहाँका खुर्सानी रसिलो, पीरो र वास्नादार हुन्छन्। 

राँके बजारमा अकबरेपछि ललीपप (दूधबाट बनेको मिठाइ) बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्। यस्तै, बदाम, कागती, किवी, छुर्पी र घीउको बिक्री राम्रो रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.