१० स्थानीय तहले सवारीसाधन खरिदमा सके चार करोड

|
प्रतीकात्मक तस्विर

संखुवासभा : गाँउपालिकाको केन्द्र पुग्ने सडक छैन। सडक नपुगेका स्थानमा  गाडी खरिद गर्ने जनप्रतिनिधिको होडबाजी चलेको छ। संखुवासभाको विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले ७ किलोमिटर सडक सुचारु भएको पाइन्छ। ७ किलोमिटर सडक सञ्चालनमा रहेको भोटखोला गाउँपालिकामा ४० लाख ७५ हजार रुपैयाँमा स्कर्पियो गाडी खरिद गरिएको हो।

किमाथांका–जोगवनी सडकअन्तर्गत भोटखोलाको ठाडो खोलाबाट वरुण दोभानसम्म यातायात सञ्चालन हुन्छ। सात किलोमिटर सडकमा हिउँदको समय मात्र गाडी चल्ने गरेको भोटखोला ३ का स्थानीय वाङ्दाबी भोटेले बताए। ‘सडक सञ्जाल नपुगी गाडी नै किनेर गाउँपालिको लागि बोझ मात्र थप्ने काम भएको छ’, उनले भने, ‘केन्द्रसम्म गाडी लैजान नसक्ने अवस्था नै छैन। गाँउपालिकाले गाडी र मोटर साइकल खरिद गरेकोमा उनले आपत्ति जनाए।

गाडी गाँउपालिका केन्द्र जाने भन्दा पनि सदरमुकाम खाँदबारीमै मात्र सञ्चालन हुने गरेको पाइएको छ। सडक सञ्जाल नै नपुगेको भोटखोलामा प्रत्येक वडाले समेत मोटरसाइकल समेत खरिद गरी सकेका छन्। विलासी जनप्रतिनिधिले सदरमुकाममै गाडी चलाउने मात्र खरिद गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। सर्वसाधारण पैदल ४\५ दिन लगाएर सदरमुकाम खाँदबारी सेवा लिन आउने गरेका छन्। भोटखोलाले विभिन्न विभिन्न कारण देखाउदै गाँउपालिकाको सम्पर्क कार्यालय भन्दै सदरमुकाम खाँदबारीमा घर भाडामा लिएर कार्यालय स्थापना गरेको एक वर्ष भएको छ। 

गाँउपालिकाले गाडी खरिदसँगै चालक, इन्धन र मर्मत खर्च  गर्नुपर्नु भएकाले यो उपयुक्त नहुने भोटखोला ४ वाङ्छेर भोटेको भनाइ छ। पूर्वाधार विकासको बजेट यातायात खरिदमा खर्च गर्नु उपयुक्त नभएको भोटेले बताए।  भोटखोलामा अहिले सम्म विधुत्, सञ्चार, इन्टरनेट र सडक पुग्न नसकेकाले कार्यालय सदरमुकाम खाँदबारी राख्नु परेको कार्यालयको जनाएको छ।

भोटखोलाका हरेक कामको लागि सदरमुकाम मै भएकाले गाडी खरीद गर्नु आवश्यक भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेको भनाइ छ। गाँउपालिकामा केन्द्रमा बैक, विद्युत्, सञ्चार, इन्टरनेट नभएकाले गाउँमै योजना सम्झौता भए पनि खता खोल्नका, पैसा झिक्न सदरमुकाम खाँदबारीमा नै धाउदाँ जनताले सास्ती पाएको गुनासो गरे।  

गाउँगाउँमा सिंहदरबार भनिए पनि दुर्गमका जनताले अझै सदरमुकाममै धाउनु पर्ने बाध्यता रहेको अध्यक्ष भोटेले बताए। इन्टरनेट नभएका कै कारण गाँउपालिकामा बैंक आउने नसकेको बताए। 

गाउँपालिकाले गाडी ४० लाख ७५ हजार रुपैयाँमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्केले बताए। महिन्द्रा कम्पनीको पिकप स्कर्पियो एक्टेन डबल क्याब गाडी गरिद गरेको प्रमुख प्रशासकीय अधिकृत मास्केले जानकारी दिए।  गाँउपालिकाका पुरानो चार वटा मोटरसाइकल भए पनि सदरमुकाम खाँदबारीमा नै रहेको पाइएको छ।  

यता सभापोखरी गाउँपाकिाले पनि ४० लाख ५० हजार रुपैयाँमा महिन्द्रा कम्पनीको पिकअप स्करपियो एक्टेन डबल क्याब गाडी गरिद गरेको गाउँपालिका प्रमुख रत्न सुब्बाले जानकारी दिए। सभापोखरी गाउँपालिकाले तीन थान मोटरसाइकल खरिद गरेको छ। पाँचखपन नगरपालिकाले ३६ लाख रुपैयाँमा महिन्दा कम्पनीको फोरएचडी स्करपियो गाडी खरिद गरेको थियो। गाडी केहि महिना अघि सुनसरीको भण्टाबारीमा दुर्घटनामा परेकाले सञ्चालन नहुने अवस्थामा रहेको नगरपालिकाले जनाएको छ। त्यस्तै दुई लाख ५० हजारका दरले आठ थान मोटरसाइकल पनि नगरपालिका कार्यालयले जनाएको छ। पाँचखपनले  २० लाख रुपैयामा ८ वटा बाइकल खरीद गरेको छ। नगरपालिकाले ४५ लाखमा एक ब्याक लोडर समेत खरिद गरेको जनाएको छ। 

सिलिचोङग गाउँपालिकाका सडक सञ्जाल नपुगेसम्म गाडी खरीद नगर्ने जनाएको छ। गाउँपालिका प्रमुख रामबहादुर राई भने अरुण नदीमा पुल नबनेसम्म गाडी खरिद नगर्ने बताए। सिलिचोङ गाउँपालिको जान अरुण नदी तरेर भोजपुर जिल्ला पुगेर सिलिचोङ पुगिन्छ।

अरुण नदी पक्की पुल नभएकाले गाँउपालिकाको विकासको बाधक भएको छ। सिलिचोङ गाउँपालिकाले २ लाख ८५ हजारको दरले तीन वटा मोटरसाइकल भने खरिद गरेको जनाएको छ। गाउँपालिकाले ८ लाख ५५ हजार ३ वटा मोटरसाइकल खरिद गरेको गाँउपालिका कार्यालयले जनाएको छ। अधिकांश वडामा सडक सञ्जाल पुगेका सिलिचोङमा अरुण नदीमा पक्की पुल नहुँदा चार पाङग्रे  सवारी साधन लैजान सक्ने अवस्था भने छैन। 

चिचिला गाउँपालिकाले महिन्द्रा कम्पनीको पिकप स्कर्पियो एक्टेन डबल क्याब भएको गाडी ३६ लाख ६० हजार रुपैयाँमा खरिद गरेको गाउँपालिका कार्यालयले जनाएको छ। चिचिला गाउँपालिकाले दुई लाख ६५ हजार नौ सयको लागतमा एक थान होन्डा मोरसाइकल खरिद गरेको छ भने दुई लाख ५६ हजार पाँच सय ४८ को लागतमा एक पल्सर मोटरसाइकल खरिद गरेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र घिमिरेले जानकारी दिए। चिचिलामा दुई लाख १६ हजार ४ सयका दरले कुल आठ लाख ६५ हजार ६ सयको चारवटा यामाहा मोटरसाइकल  खरिद  गरिएको छ। 

त्यस्तै मकालु गाउँपालिकामा मकालु गाउँपालिका गाडी खरिदको प्रक्रियामा छ। मकालुमा दुई लाख ४० हजारका दरले चार लाख ८० हजारको दुई थान मोटरसाइकल खरिद गरेको छ। केही महिनाअघि वडा नम्बर ५ को एक थान मोटरसाइकल सदरमुकाम खाँदबारी आएको बेला अज्ञात समूहले जलाइ दिएका छन्। 
खाँदबारी नगरपालिकामा जनप्रतिनिधि आए पछि ३० लाखमा एउटा बोलेरो गाडी खरीद गरेको छ। नगरपालिकाले ३८ लाख २५ हजारमा एउटा ब्याकोलोडर पनि खरिद गरेको नगरपालिका कार्यालयले जनाएको छ। खाँदबारी नगरपालिकामा यस अघि नै दुईवटा गाडी सञ्चालनमा छन। हाल नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि जम्मा तीनवटा गाडी चालु अवस्थामा छन्।
 
चैनपुर नगरपालिकाको पुरानो टाटाको एउटा गाडी सञ्चालनमा भइरहेको छ। नगरपालिकाले जनप्रतिनिधिलाई फिल्ड जान आवश्यक भन्दै  पाँच लाखको  एक थान मोटरसाइकल खरिद गरेका जनाएको छ।  मादि नगरपालिकाकाले आर्थिक वर्ष २०७४\७५ मा महिन्द्राको एउटा गाडी २३ लाख ८५ हजारमा खरिद जनाएको छ। यता धर्मदेवी नगरपालिकाले ३२ लाख ६० हजारको लागतमा महिन्द्राको एउटा गाडी खरिद गरेको छ।

धर्मदेवी नगरपालिकाले नगर प्रमुखको प्रयोजनको लागि भन्दै दुई लाख ५५ हजार चार सयमा यमाहा मोटरसाइकल खरीद गरेको छ। उपप्रमुखका लागि भन्दै यमाहाको एक स्कुटर एक लाख ७४ हजार चार सयमा खरिद भएको प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले जानकारी दिए। धर्मदेवीमा दुई लाख १७ हजार नौ सयका दरले आठवटा मोटरसाइकल १७ लाख ४३ हजार दुई सयको लागतमा खरिद गरिएको बताइएको छ।

हाल तीन वटा मोटरसाइकल नगरपालिका कार्यालयमा रहेको छ भने पाँच वटा मोटरसाइकल वडामा चलाइएको छ। त्यस्तै सो नगरपालिकाले ३९ लाख ३४ हजारमा एक जेसीबी पनि खरिद गरेको जनाएको छ।  संखुवासभाका १० स्थानीय तहले चार करोड रुपैयाँभन्दा बढी सवारीसाधन खरिदमा खर्चिएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.