विचार

व्यक्ति, समूह र देश
SHARES

फागुन ८, २०७५

    सुविधाका लागि मान्छे पहिले आफ्नो बारेमा सोच्छ। वर्तमान परिपाटीमा यो स्वाभाविक पनि हो। ‘म खाउँ म लाऊँ सुखसयल वा मोज म गरूँ... भनी दाह्रा धस्ने षठदेखि छक्क परी, चिता खित्का छोडी अभयसित हाँस्यो मरी मरी’ भनेर कविशिरोमणि लेखनाथ पौडेलले त्यत्तिकै लेख्नु भएको थिएन। उहाँका पालामा नेपालको जनसङ्ख्या पनि सानो थियो। कुनै न कुनै रूपमा नैतिकताको अवशेष पनि बाँकी रहेको थियो। अहिले त म को हुङ्कारबाहेक केही सुन्न पाइँदैन नेपाली राजनीतिमा। राजनीतिमा मात्र होइन समाजमै पनि अरूका बारेमा सोच्ने संस्कार मरिसकेको अवस्था छ।

    किन यस्तो भयो? पुँजीवादलाई महान् ठान्ने पण्डितहरूलाई सोध्नु पर्ने प्रश्न हो। तर उनीहरूसँग यसको कुनै उत्तर हुँदैन। पुँजीवाद भनेको स्वतः प्रणाली हो। म, मेरो परिवार, मेरा आफन्त, मेरो वर्ग। यत्ति हो पुँजीवादको आफ्नो प्रणाली। मानवता मरेको, युद्धद्वारा सबैलाई दबाउने प्रणाली हो पुँजीवाद। बन्दुकबाट समाजवाद जन्मिँदैन यो एक्काइसौँ शताब्दीमा। समाजवाद निर्माणका लागि चाहिन्छ– हामी, हाम्रो समाज र हाम्रो देश। त्यसैले नेताहरूले अहिले समाजवादको भाषण नगर्नु बेस। आजको हाम्रो तात्कालीक कार्यनीति हो– आत्मनिर्भर गाउँ, आत्मनिर्भर नगर, आत्मनिर्भर प्रदेश अनि आत्मनिर्भर राष्ट्र।

    हामीलाई मोटर बनाउने कारखाना चाहिएको छैन। हामीलाई झमेलाको चिनी कारखाना पनि चाहिएको छैन। हामीलाई चाहिएको छ– आफूलाई खान पुग्ने खाद्यान्न, दाल, तरकारी, अचार र मासु। विदेशबाट आयात गरिने मैदालाई आफ्नै खेतबारीको गहुँले विस्थापित गर्नु परेको छ। टल्किने चामल, हिउँजस्तो सेतो चिनी, त्यस्तै सेतो मैदा हामीलाई चाहिन्न। हामीलाई चाहिएको छ, कोदो, फापर, जौ, चिनो, कागुनो र मकै। विज्ञानले प्रमाणित गरिसकेको ‘सेतो विष’ चिनीबाट बनेका मिठाईहरू पनि हामीलाई चाहिएको छैन। हामीलाई गुड, सक्खर र खाँडसारी भए पुग्छ।

    एक तह वा तीन तह, जति तह भए पनि संसदीय प्रणालीमा प्रतिपक्ष पनि बलियो हुनुपर्छ। सत्तापक्षलाई तथ्यको कोर्राले हानेर तह लाउने बुद्धि हुनुपर्भछ। नेपालको कुनै पनि तहमा त्यस्तो बुद्धि भएन। सङ्घीयतालाई जनताको घर घरमा लैजा, भनेर हुङ्कार गर्न सक्ने भए सत्तापक्षको पसिना काढिने थियो।

    जसले जे जे गफ गरे पनि स्वाभिमान र आत्मसम्मान मर्दै गएको देश हो हाम्रो। घरभित्रको शत्रुलाई गाली गरेर वैदेशिक प्रभुको भजन गाउने देश हो हाम्रो। नेपालभित्र पाखा र खेतका गराहरू बाँझै छोडेर अर्काको भूमिमा सबैभन्दा निकृष्ट काम गर्न लाज नमान्ने नागरिकहरूको देश हो हाम्रो। कुनै नेताको भाषणले देश समृद्ध हुँदैन। नेता त सारथि मात्र हो देशलाई समृद्ध बनाउने रथको।

    यस्तो मुलुकका नेताहरूले समाजवाद राग गाउनु भनेको समाजवादप्रति व्यंग गर्नुजस्तै हो। त्यसैले पहिले राज्य नियन्त्रित पुँजीवादको विकास गर्ने कुरामा राज्यको ध्यान जाओस्। राज्य नियन्त्रित भन्ने बित्तिकै दलाल पुँजीवादको टुप्पी ठाडो हुन्छ। अर्को कुरो, भ्रष्टाचार बढ्यो भन्नुको कुनै तुक छैन। पुँजीवादमा नबढेको भ्रष्टाचार अरू कुन प्रणालीमा बढ्छ? यहाँनेर चीनको अभूतपूर्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तङस्याओ फिङको सेतो बिरालो र कालो बिरालोको भनाइ सम्झनु पर्छ हामीले। पहिले विकास गर, पछि शासन गर। चीनभन्दा पहिले नेपालमा पनि चलेको रहेछ यो चलन, चन्द्रशमसेरको पालामा। पहिले घुस खान देऊ पछि सर्वस्वहरण गर। सर्वस्वहरण गर्न मिल्ला कि नमिल्ला– तर तारेखमा छोड्दा भ्रष्टाचार गरेको ९९.९ बराबरको बिगो तोक्न सकिन्छ।

    शुद्ध पुँजीवादको कल्पना नगर्दा हुन्छ। शुद्ध पुँजीवाद खोज्नु भनेको सगरमाथालाई जुरुक्क उचालेर राजविराजको विमानस्थलमा राखेर त्यसमाथि चढ्न खोज्नु मात्रै हो। किनभने पुँजीवाद अशुद्ध मात्रै हुन्छ। त्यसैले जापानका प्रधानमन्त्री, दक्षिण कोरियाका राष्ट्रपतिलगायतका दर्जनौँ उच्चपदस्थ नेता, बैङ्कका मुख्यप्रबन्धकहरु भ्रष्टाचार काण्डमा पक्राउ परेकै छन्। यो भन्दा पनि ठुलो विषय पुँजीवादको सिद्धान्त हो। त्यो सिद्धान्तले भन्छ– आफ्नो माल बिकाउन प्रदान गरिने कमिसन सार्वजनिक गरिनु हुँदैन। अर्थात् अन्तर्राष्ट्रिय पुँजीवादी संस्थाहरूले भ्रष्टाचारलाई आफ्नो विकासको अभिन्न अङ्ग बनाएका छन्। ठुला कम्पनीहरूको सम्बन्ध देशका ठुला मान्छेसँगै हुन्छ। त्यसैले त हवाइजहाजको खरिद बिक्रीको कमिसन, जति हल्ला गरे पनि त्यो हल्लाभित्रै रुमल्लिएर घुमिरहन्छ। त्यो कहिल्यै बाहिर आउँदैन।

    आफूभन्दा बाहिरको कुरामा त्यति ध्यान नदिनुस्। गाउँपालिका सरकारले कम्तीमा पनि खाद्यान्नका लागि दाहिने देब्रे हेर्नु नपरोस्। गाई, भैँसी, खसी, भेडा, कुखुरा पाल्न जो कोहीले पनि सक्छन्। चामल उमार्ने खेत नहुनेले पनि आलु, मकै, कोदो, फापर, जुनेलीको खेती गर्न सक्छन्। ज्ञान पाए भने बेमौसमी खेती पनि लगाउन सक्छन्। गाउँपालिकाका अगुवाहरूले कृषि र पशुपालनमा आफ्ना मतदातालाई नेतृत्व गरुन्।

    हाम्रो प्रकृतिले हामीलाई सबैखाले वरदान दिएको छ। अहिलेका हाम्रा नगरपालिका, विकसित गाउँपालिका जस्तै छन्। उपमहानगर या महानगरमा पनि चार कोठे घर बनाउनेहरूले, कम्तीमा सागपातका लागि बजार जानु पर्दैन। मेरो परिवारले छत खेती गरेको देखेको छु मैले काठमाडौँ सहरमा। सागसब्जीको त कुरा नगर्दा हुन्छ। छतमा फलेको मिठो काँक्रो र आलु पनि मैले खाएको छु।

    मुख्य कुरो हो, काम गर्ने कि नगर्ने! काम नगरे भोकै मर्नु पर्छ भन्ने सबैलाई थाहा छ। कतिपय  मुलुकमा काम गरेर पनि आत्महत्या गर्नु पर्छ। तर नेपालको प्रकृति यस्तो छ जहाँ काम गर्नेले भोकै मर्नु पर्दैन। केन्द्रीय शासन हुँदा कतिपय क्षेत्रमा भोकमरी पनि हुन्थ्यो। तर संघीय राज्य प्रणालीमा काम गर्ने कोही भोकले मर्नु पर्दैन।

    एक तह वा तीन तह, जति तह भए पनि संसदीय प्रणालीमा प्रतिपक्ष पनि बलियो हुनुपर्छ। सत्तापक्षलाई तथ्यको कोर्राले हानेर तह लाउने बुद्धि हुनुपर्छ। नेपालको कुनै पनि तहमा त्यस्तो बुद्धि भएन। सङ्घीयतालाई जनताको घर घरमा लैजा, भनेर हुङ्कार गर्न सक्ने भए सत्तापक्षको पसिना काढिने थियो। तर नेपालको प्रमुख प्रतिपक्ष कहिले डाक्टर केसीको अनसन जिन्दावाद भनेर होहल्ला मच्चाउँछ, कहिले आफ्नै पार्टीको हेलिकोप्टर र लिमोजिनलाई यो हाम्रो होइन, कम्युनिस्ट पार्टीको हो भने ताली ठोकीठोकी उफ्रिन्छ र तथ्य बाहिर आएपछि थकाई मार्न बसे जसरी थ्याच्च बस्छ।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]