|

दाङ : तुलसीपुर उपमहानगरपालिका-४ मा रहेको सिद्ध चमेरे गुफा ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गुफा हो। पर्याप्त व्यवस्थापन र प्रचारप्रसार नभएका कारण अपेक्षित रुपमा विकसित हुन सकेको छैन।

पछिल्लो समय यो ठाउँ पर्यटकीय गन्तव्य बन्न थालेको छ। मुलकोटमा रहेको गुफा हेर्न आउनेहरूको सङ्ख्या क्रमिक रूपमा वृद्धि हुँदै गएको छ। सार्वजनिक बिदाको दिनमा त सयौँको सङ्ख्यामा गुफा हेर्न आउन गरेको स्थानीय सीताराम पुनले बताए।

गुफा तुलसीपुर बजारदेखि करिब १० किलोमिटर टाढा पर्छ। गुफासम्म जाने सडक कच्ची छ। वर्षायाममा त्यहाँ पुग्न कठिन हुन्छ। तुलसीपुर-सल्यान सडकखण्डको हर्नेटीबाट गुफा जान सकिन्छ। गुफा समुद्र सतहबाट करिब एक हजार ३५० मिटर उचाइमा छ। गुफाभित्र करिब एक हजार जना मानिस अटाउँछन्। गुफा ३० मिटर अग्लो, १६ मिटर लामो र सात मिटर चौडा छ।

गुफाको तल्लो तलामा एक हजारभन्दा बढी मान्छे अट्ने आकारको छ भने अन्य तलामा सयौँको सङ्ख्यामा मानिस रहन सक्छन्। चमेरे गुफाको वातावरण निकै शान्त छ। गुफाका भित्ताहरूमा शिव, बाघ, सर्पलगायतको आकृति देख्न सकिन्छ। गुफामा सोलार र बिजुली बत्तीको व्यवस्था गरिएको छ। गुफा भित्र र बाहिर दुईवटा शिवजीको मूर्ति रहेको छ। स्थानीयका अनुसार यो गुफा २०५५ सालबाट मात्रै चर्चामा आएको हो।

मुलकोटको लेकबाट दाङको दक्षिणतर्फ हेर्दा तुलसीपुर, घोरनेटी, पर्सेनी, विजौरी, हलवार, खाद्रे वनहरी र अन्य समथर मैदान देख्न सकिन्छ। पर्यटन विकासको अत्यन्तै सम्भावना बोकेको चमेरे गुफाको व्यवस्थापन र प्रचारप्रसार हुन सक्ने हो भने विदेशी पर्यटकहरू ल्याउन सकिने व्यवस्थापन समितिका अध्यक्ष भुपबहादुर पुन बताउँछन्। चालु आर्थिक वर्षमा प्रदेश ५ सरकारले गुफाको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

फोटोहरू

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.