|

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन्। तेस्रो अधिवेशनको आठौँ बैठकलाई बुधवार बिहान प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रदेश सभामा बैठक सम्बोधन गर्दै पशुपति शर्मादेखि निर्मला हत्या प्रकरणसम्मको चर्चा गरेका छन्।

पशुपति शर्मालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनाए अरे, कता हो मैले सुनेँ, लुट भाई लुट, गरी खाए केही काम लाग्दैन लुटेर खा भनेर कसैले गीत गाए। तर जनताले मन पराएनन् अनि आफै हटाए।’

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंहलाई समेत लक्षित गरी ब्यंग गरेका थिए। सांसद् सिंहलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अर्को सांसदले त्यस्तो राम्रो महान् गीत। नेपालीलाई टुटेर खान सिकाउने गीत किन हटाएको यूटूवबाट राख्नु पर्छ भन्दै २५ हजार दिने बताएका छन्।’
त्यही प्रसङ्गमा प्रधानमन्त्रीले गायकले भावनामा एउटा गीत लेखेको, युट्युबमा पनि हालेको तर सबैले राम्रो गरेनौ भाइ भनेपछि हटाएकोले यो कुरा सिद्धिसकेको बताए। ‘सरकारले केही भनेको छैन सरकारले किन केही भन्नुपर्छ,’ ओलीले भने, ‘सरकार यत्ति भन्छ सुवाटोमा हिडौं।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्या प्रकरणमा संलग्न जो भए पनि पक्राउ पर्ने दाबी गरे। ओलीले निर्मलाकाण्ड अत्यन्त दुःखद भएको बताए। उनले भने ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो। अत्यन्त दुःखद कुरा हो।’  

हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको उनले बताए। सरकारले हत्यारा पत्ता लगाउन थुप्रै अनुसन्धान गरेको पनि उनले बताए। तर, कहिलेकाहीँ अपराधीले प्रमाण नछाड्ने भएकाले समस्या हुने उनले बताए। तर, सरकारले हत्यारा पत्ता लगाएरै छाड्ने उनले बताए।

प्रधानमन्त्रीले मुलुक समृद्धिको बाटोतर्फ अग्रसर रहेको बताएका छन्। मुलुककका सीमित व्यक्तिहरू पनि अभावमा रहँदासम्म मुलुक समृद्ध भयो भन्न नहुने उनले बताए। ‘अहिले पनि गरिबी ९० प्रतिशत हट्यो भनेर मुलुकलाई समृद्ध भयो भन्न मिल्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘१० प्रतिशत त बाँकि नै छ नि। १० प्रतिशत मान्छे भोको हुँदासम्म, देश समृद्ध भयो भन्न सकिँदैन।’

सुदूरपश्चिम प्रदेशमा समृद्धिका लागि ठूला आधार रहेको प्रधानमन्त्री ओलीले बताएका छन्। ‘पञ्चेश्वर भारतले नै बनाउँछ। लाभ नभएपछि बनाउँदैन कि भन्ने हो तर औपाचरिक रूपमा बनाउने भनेको छ। बनाउँछ,’ प्रधानमन्त्री ओलीले भने।

विपक्षी दलले सरकार अधिनायवादतर्फ जान थालेको भन्ने हल्ला चलाएको प्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाए। लोकतान्त्रिक विधिबाट जनताले चुनेर पठाएको सरकार गठन भएकाले जनमतको कदर गर्न उनले आग्रह गरे।

‘यो सरकार अरूले ल्याएको लोकतन्त्रमा बनेको होइन। मुलुकमा लोकतन्त्र ल्याउन आफैँ लडेको हो,’ प्रधानमन्त्री ओली भने, ‘मुलुकमा लोकतन्त्र ल्याउन हामीले जेलनेल भोगेका छौँ, सङ्घर्ष गरेका छौँ। त्यसैले लोकतन्त्रको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो ।’

सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री ओलीले प्रदेश राजधानीको निर्णय पनि उपयुक्त भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.