'सुन तस्करीका ठूला माछालाई जालमा पार्ने काममा तीव्रता दिइएको छ'

|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने काम अगाडि बढेको जानकारी दिएका छन। विगतमा भएका राजनीतिक आन्दोलमा सहिद घोषणा गर्न बाँकी रहेका मृतहरूलाई सहिद घोषणा गर्ने प्रक्रियालाई सरकारले अगाडि बढाएको उनको भनाइ थियो।

राष्ट्रियसभाको बुधबारको बैठकमा मन्त्री थापाले सांसदहरूले मन्त्रालयसँग सम्बन्धित रहेका विगतका बैठकमा सोधेका प्रश्नहरूको जवाफ दिँदै सहिद घोषणा गर्न छुटेका राजनीतिक आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने क्रम अगाडि बढेको बताएका हुन्। उनले भने, 'आन्दोलन र द्वन्द्वमा मृत्यु भएका सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको र छुटेकालाई पनि सहिद घोषणाको प्रक्रिया अगाडि बढाइएको छ, छिटै घोषणाको प्रक्रिया पूरा हुन्छ।'

निर्मला प्रकरणको अनुसन्धान तीव्र

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीहरूलाई खोज्ने काम तीव्र पारिएको दोहोर्‍याएका छन्। मन्त्री थापाले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाही गरिएको र अनुसन्धानलाई तीव्रता दिइएको बताए। उनले भने, 'महिला हिंसासँग सम्बन्धित र विशेष गरी निर्मला पन्तको हत्यासँगसँगै सम्बन्धित प्रश्न उठिरहेको छ। यी अपराधका घटना निर्मुल पार्न राज्यले पहल गरिरहेको छ।  हत्याको अनुसन्धानको क्रममा लापरबाही देखाउने प्रहरीलाई कारबाही भएको छ।' उनले यो घटनामा विगतमा भन्दै आएका कुराहरू यसरी दोहोर्‍याए, 'हत्यारालाई कानूनको कठघरमा ल्याउन हाम्रो प्रयासलाई तीव्रता दिएका छौँ।'

अनुसन्धानमा गल्ती गर्ने प्रहरीलाई अपराधमा मुछिएको पाइए फौजदारी अभियोग लगाउने तयारीमा सरकार रहेको मन्त्री थापाले बताए। उनले प्रहरी अधिकारीहरूमाथि पनि छानबिन भइहरेको बताए।

सुन तस्करीका ठूला माछालाई जालमा ल्याइने

गृहमन्त्रीले सुनतस्करीको सञ्जाल ध्यवस्त पार्न राज्य सफल भएको दाबी गरे। उनले गृह मातहतका निकायले दण्ड दिनका लागि अपराधीहरूलाई अदालतमा पुर्‍याएको र तिनलाई त्यहाँबाट सजाय हुनेमा विस्वस्त रहेको बताए। सुन तस्करीको सञ्जाल ध्वस्त बनाइएको दाबी गर्दै मन्त्री थापाले भने, 'छिटपुट रूपमा नयाँ सञ्जाल अबलम्वन गरिरहेका छन्, त्यसलाई पनि सरकारले ध्वस्त नै पार्नेछ।'

सुन तस्करीका मुख्य दोषीहरूलाई पनि कानुनी कारबाहीमा ल्याउने प्रयास भइरहेको मन्त्री थापाले बताए। उनले भने, 'ठूला माछा जालभन्दा बाहिर छन्, तिनलाई पनि कानुनी कठघरामा ल्याउने प्रयत्न भइरहेको छ।'

त्यसैगरी यातायातमा रहेको सिन्डिकेटलाई सरकारले कानुनी रूपमा अन्त्य गरेको अब यातायात क्षेत्रलाई व्यवस्थित गर्ने काम बाँकी रहेको मन्त्री थापाले बताए। उनले कानुन बनाएर यातायातलाई कम्पनी अन्तर्गत ल्याउने प्रयास भइरहेको छ।

त्यसैगरी घरमै हत्या गरिएका पूर्वराजदूत केशव झाका हत्यारा खोज्ने काम भइरहेको गृहमन्त्रीले बताए।

राष्ट्रियसभा सदस्यहरूले सिंहदरबारमा सर्वसाधारणको प्रवेशलाई सहज बनाउन पनि गृहमन्त्रीलाई आग्रह गरेका थिए। जसको जवाफमा मन्त्रीले भने, 'सिहदरबार प्रवेश सरल र सहज बनाइयोस् भन्ने विषय सुरक्षासँग जोडिएको विषय र संवेदनशील विषय हो। सहज पहुँच होस् भन्नको निम्ती आवश्यक तयारी गरिरहेका छौँ।'

सांसदले राष्ट्रियसभाका विगतका बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित रहेर प्रश्न गरेका थिए। सांसदले सरकारको जवाफ माग गरेका विषयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई निर्देशन दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.