समाज

जनता आवास : घर बने तर शौचालयको समस्या
SHARES

फागुन ८, २०७५

    सिन्धुली : जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकामा चालु आर्थिक वर्षमा ३८ वटा घर धमाधम निर्माण भइरहेका छन्। आवासविहीन सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौली नगरपालिका ९ को मुसहर बस्तीमा यस आर्थिक वर्षमा ३८ घरहरू निर्माण गरिएको हो।

    जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीमा ५० वटा घर निर्माण गर्नुपर्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ। जसमध्ये गत आर्थिक वर्षमा दुधौली नगरपालिका ९ को मुसहर बस्तीमै ६ वटा घर निर्माण भइसकेको छ। यस आर्थिक वर्षको एक करोड बजेटले ३८ वटा दुई कोठे घर निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका निमित्त प्रमुख इन्जिनियर दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।

    कार्यक्रमअन्तर्गत यस वर्ष रीना सदा, लिङदेन अधिकारी, पार्वती सदा, गोविन्दा समुसहरनी, शोभा मुसहर, साने मुसहर लगाएत ३७ जनाका घरहरू निर्माण भरइका उनको भनाई छ। जनता आवास कार्यक्रमअन्तर्गत गत वर्ष मुसहर बस्तीका विल्टु सदा, सनिया मुसहर, रितलाल सदा, रमनी सदा, डब्कु सदा र रामबृद्ध सदाको घर निर्माण गरिएको छ।

    जिल्लामा निकै ढिलो गरी सुरु भएको जनता आवास कार्यक्रम समन्वयन समिति सिन्धुलीले दुधौली नगरपालिका ९ को मुसहरबस्ती, कमलामाई नगरपालिका १ डाडी गुराँसेका हायू बस्ती र साविक बाशेश्वर गाविसको सार्की दलित बस्तीमा कार्यक्रम संचालनका लागि अध्ययन, अवलोकन गरेको थियो।

    जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ का आधारमा समितिले अध्ययन, अवलोकन गरेका तीन स्थानमध्ये दुधौली नगरपालिका ९ को मुसहर बस्तीमा अधिकाशं मुसहर, अति विपन्न, गाउँ बल्कमा बसोबास गरेका, फुसको छाना, माटा टाटीको घेरा बेरा र अव्यवस्थीत बसोबास क्षेत्र भएकाले मुसहर बस्तीलाई छनोट गरी घरहरू निर्माण गरिएको उनले बताए।

    दुधौली नगरपालिकाले सडक, खानेपानी र शौचालय व्यवस्थापन गर्ने, विपन्न परिवारको १० प्रतिशत श्रमदान र सरकारले विनियोजन गरेको १ करोड २३ लाख रकममा ५० वटा घर निर्माण हुने इन्जिनियर घिमिरेले बताए।  

    शौचालयको समस्या

    जनता आवास कार्यक्रम अन्तर्गत घरसहित शौचालय, खानेपानीको पनि व्यवस्था हुनुपर्छ। तर जनता आवासअन्तर्गत निर्माण भएका प्रायः घरहरूमा शौचालय निर्माण हुन सकेका छैन्न्।

    जनता आवास कार्यक्रममा छनोट भएका जिल्लाका मुसहर समुदायमा पर्याप्त जग्गा नभएकाले घरसँगै शौचालय निर्माण हुन नसकेको घिमिरेको भनाई छ। ‘घर बनाउन त जग्गा नभएर समस्या छ। जनता आवासमा छनोट भएका व्यक्तिको नाममा ३, ४ धुर पनि जग्गा छैन्, घर त मुस्किलले बन्छ। अब शौचालय कहाँ बनाउनु। यो शौचालयको निर्माणमा साच्चै समस्या छ’ उनले भने।

    सिन्धुली जिल्ला खुल्ला दिशा मुक्त जिल्ला घोषणा भइसकेको अवस्थामा अहिले निर्माण भइरहेका जनता आवास कार्यक्रममा घरमा शौचालय बनाउन नसक्नु चुनौतीको कुरा भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]