तीन महिनाको इन्धन खर्च : प्रमुख दाहालको ४५ हजार, उपप्रमुख शाहको ९४ हजार

|

चितवन : चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद चर्किँदै गएको छ। उपप्रमुख पार्वती शाह ठकुरीले आफ्ना असन्तुष्टि सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो। धेरै विवाद हुन थालेपछि प्रमुख र उपप्रमुख दुवै महिला भएको महानगरलाई नजिकबाट नियाल्नेहरू झगडालु सासू-बुहारी बस्ने घरसँग दाँज्न थालेका छन्। 

यदि साँच्चैको सासू र बुहारी हुँदा हुन् त विवाद समाधानका अनेकन उपायहरू हुन्थे। जस्तै: अंशबण्डा गर्ने, छुट्टिएर बस्ने, टाढा नदेखिने ठाउँँमा बस्ने। तर महानगरका प्रमुख रेणु दाहाल र उपप्रमुख ठकुरीलाई त्यो विकल्प छैन। उनीहरुबीच मिलेर बस्नुको बिकल्प छैन। जनप्रतिनिधिलाई नागरिकले विवाद गर्न, छुट्टिएर बस्न भनेर निर्वाचित गरेर पदमा पठाएका पनि होइनन्। तै प्रमुख र उपप्रमुखबीच विवाद झन् झन् चुलिँदै गएको छ।

महानगरको समृद्धिका लागि भने प्रमुख र उपप्रमुखमात्रै होइनन् सबै राजनीतिक दल, महानगरवासी, निजी क्षेत्रलगायत सबै जना एकजुट भएकै छन्। विकासले गति लिएकै छ। सिटीहल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायत ठूला र निक्कै महत्त्वाकांक्षी आयोजनाहरू अघि बढेकै छन्। शिक्षा, स्वास्थ्य, पर्यटन, सडक पूर्वाधारलगायत क्षेत्रको काम पनि भइरहेकै देखिन्छ।

उपप्रमुख शाहको असन्तुष्टि

महानगरमा विकासका गति जुन गतिमा अघि बढेको छ, त्योभन्दा कम छैन आन्तरिक विवाद। महानगरमा भित्रभित्रै सल्किएको आगो 'परालको कि भुस'को? भन्ने धेरैले अड्कल काट्नसमेत सकेका छैनन्। चाँडै निभाउनेतर्फ नलाग्ने हो भने यसले महानगरको समृद्धि यात्रालाई नै अवरोध सिर्जना गर्न सक्ने भन्दै सरोकारवाला चिन्तित बनेका छन्।

खासगरी महानगरका जनप्रतिनिधिबीच पहिलैदेखि नै आरोपप्रत्यारोप हुने गरेको थियो। तर, गत मंगलबार उपप्रमुखसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले २५औँ कार्यपालिका बैठक बहिष्कार गरेर मिडियामार्फत असन्तुष्टि सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो। उपप्रमुखको असन्तुष्टि कर्मचारीले जनप्रतिनिधिलाई नटेरेको, प्रमुखले पेलेर जाने गरेको र आफूलाई म्यासेन्जरमा आएको धम्कीबारे चासो नदिएकोमा आदि छन्।

घरभाडा नदिँदा आरोप : प्रमुख प्रशासकीय अधिकृत

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आफूलाई नटेर्ने गरेको उपप्रमुख ठकुरीको अरोप छ। आफूलाई प्रमुखकै अगाडि झर्केर बोल्दा पनि प्रमुख दाहालले समस्या समाधानका लागि कुनै पहल नगरेको उनको आरोप छ। तर, उपप्रमुख ठकुरीको आरोपलाई प्रशासकीय अधिकृत सुवेदी ठाडै अस्वीकार गर्छन्। उनले सुरुवात उपप्रमुखबाटै भएको जिकिर गरेका छन्।

आफ्नै घर हुदाँहुदै पनि घरभाडा पाउन गरेको आग्रह आफूले इन्कार गरेपछि उपप्रमुख रुष्ट बनेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको दाबी छ। उनले भने, 'समन्वय गर्ने ठाउँमा गरेकै छु, उहाँले मिडियामा ममाथि विभिन्न किसिमका आरोप लगाउनु भएछ, तर त्यस्तो केही भएको छैन।'

धम्कीबारे महानगर : प्रमुख दाहाल

उता जनप्रतिनिधि र कर्मचारीबीचको असन्तुष्टिको आपसी छलफलबाट समाधान खोज्नुपर्ने महानगर प्रमुख दाहालको भनाइ छ। 'विभिन्न परिस्थितिका बाबजुत यहाँसम्म आएका छौँ,' प्रमुख दाहालले भनिन्, 'आगामी दिनमा पनि हातेमालो गर्दै महानगरको समृद्धिका लागि अघि बढ्नुपर्छ।'

उनले समस्या समाधानका लागि पहल नगरेको भन्ने आरोपको खण्डन गर्दै आफूले पटकपटक छलफल गरेको दाबी गरिन्। यस्तै, न्यायिक समितिका संयोजकसमेत रहेका उपप्रमुखलाई आएको धम्कीबारे महानगर गम्भीर रहेको प्रमुख दाहालको जिकिर छ। उनले भनिन्, 'धम्कीबारे महानगर गम्भीर छ, आवश्यक अनुसन्धानका प्रक्रिया अघि बढाएका छौँ।'

धम्कीबारे नेपाली कांग्रेस चितवनले आपत्ति जनाएको छ। सचिव उत्तम जोसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनप्रतिनिधिमाथिको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता घटना आगामी दिनमा पुनः नदोहोर्‍याउन पनि चेतावनी दिइएको छ।

सुविधा विवाद

जनप्रतिनिधिले सरकारबाट पारिश्रमिक पाँउछन्। पारिश्रमिकसँगै विभिन्न सेवा सुविधा पनि पाउँछन्। भरतपुर महानगरपालिकाका प्रमुख दाहालको मासिक पारिश्रमिक ४२ हजार रुपैयाँ छ। त्यसबाहेक सवारी साधन, इन्धन र घर भाडाको सुविधा पनि छ। वडा नम्बर १० मा महानगर आफैँले मासिक ३३ हजार ६०० रुपैयाँ सोझै घरधनीलाई दिने गरी प्रमुख दाहालका लागि घर भाडामा लिएको छ। इन्धनबापत प्रमुख दाहालले गत असोजमा १४ हजार, कात्तिकमा १९ हजार र मंसिरमा १२ हजार रुपैयाँ लिएको महानगरपालिकाका लेखा अधिकृत षडानन्द अधिकारीले जानकारी दिए। तीन महिनाको अवधिमा प्रमुख दाहालले इन्धनबापत ४५ हजार रुपैयाँ खर्च गरेकी छिन्।

उपप्रमुख ठकुरीले सरकारबाट मासिक पारिश्रमिक ३७ हजार रुपैयाँ पाउँछिन्। त्यसबाहेक इन्धन र सवारी साधनको सुविधा पनि लिँदै आएकी छिन्। उनको वडा नम्बर १२ मा घर छ। आफ्नै घर भएकालाई घरभाडा दिन नमिल्ने भएकाले घरभाडाको रकम उपलब्ध गराउन नसकिएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले बताए। 'उपमेयरज्युले घर भाडाबापतको रकम व्यवस्थापन गर्न मलाई भन्नुभएको हो। तर यहाँ आफ्नै घर हुदाँहुदै प्रबन्ध गर्न नमिल्ने व्यहोरा जनाएँ,' सुवेदीले भने, 'यसैलाई इस्यु लिएर विवाद गर्नुभएको हो।'

उता उपप्रमुख ठकुरीले घर भाडाको विषयमा निराधार दाबी गरेकी छिन्। उनले भनिन्, 'विषयान्तर गर्न विनाप्रमाणको आरोप लगाइएको हो।'

उपप्रमुख ठकुरीले इन्धनवापत गत असोजमा २४ हजार, कात्तिकमा ३८ हजार र मंसिरमा ३२ हजार रुपैयाँ खर्च गरेको महानगरका लेखा अधिकृत लामिछानेले जानकारी दिए। उपप्रमुखले तीन महिनाको अवधिमा इन्धनमा मात्रै ९४ हजार रुपैयाँ खर्च गरेकी छिन्। यो रकम प्रमुख दाहालले प्रयोग गरेकाे भन्दा दोब्बर हो। तर, कार्यक्रमहरूमा उपप्रमुख ठकुरीभन्दा प्रमुख दाहाल बढी हिँड्ने गरेको महानगरका कर्मचारीहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.