|

धनगढी : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपामा अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी थप सशक्त भएर अघि बढ्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विषम परिस्थितिमा पार्टी एकता भएको बताउँदै यो एकता सामान्य विषयमा नबाझिने बताएका हुन्।

‘एक वर्षको अवधिमा सरकारले धेरै काम गरेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘बाँकी रहेको ४ वर्षमा जनताको सबै अपेक्षा पूरा गर्ने छौँ।’ वर्तमान सरकारको कामले आगामी निर्वाचनमा पनि नेकपाको दुई तिहाइ निश्चित भएको उनले दाबी गरे। ‘सत्ताको फाइदा लुट्न सरकारका गएका होइनौँ। हामी त देश बनाउन सरकारमा गएका हौँ’ प्रधानमन्त्री ओलीले भने '३ वर्षभित्र अल्पविकसित देशबाट मुक्त बनाउँछौँ र १० वर्षमा देशलाई विकसित राष्ट्र बनाउँछौँ।’

विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्लो तहसम्मको एकतालाई छिट्टै टँगाउनु पर्ने बताएका थिए। समय/समयमा एकतामा फाटो ल्याउने प्रयास गरिए पनि त्यो सम्भव नभएको उनको भनाइ थियो। उनले भने, ‘हामीले जनताको अगाडि जे बोलेका थियौँ त्यो पूरा गर्छौं। तर पार्टी एकतामा विलम्ब हुँदैन। अब केही दिनभित्र हामीले पार्टी एकता प्रक्रियालाई टुँगाउनु पर्नेछ।’

प्रतिपक्षीहरूले सरकारले काम गरेन भनेर फैलाएको हल्लाको तुक नरहेको प्रचण्डले बताए। सरकारले अघि सारेका योजनाहरू अबको ४ वर्षमा पूरा हुने गरी आधार तयार भइसकेको अध्यक्ष प्रचण्डको भनाइ थियो। प्रचण्डले सरकारको प्रशंसा गर्दै भने, ‘सरकार जसरी अगाडि बढिरहेको छ यसले राम्रो प्रभाव पारेको छ। सामाजिक सुरक्षाभत्ता र प्रधानमन्त्री  रोजगार कार्यक्रमले नेपाली जनतालाई ठूलो राहत पुग्छ।’

भेलालाई नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि सम्बोधन गरेका थिए। उनले पनि पार्टी एकता र सरकारको गतिमा गम्भीर रहेको बताए। नेता नेपालले नेपाली जनताको आवश्यकता कम्युनिस्ट सरकारले मात्रै पुरा गर्न सक्ने दाबी गरे। उनले कम्युनिस्ट पार्टी अधिनायकवाद तर्फ उन्मुख हुन नसक्ने बताए। ‘हामीलाई गम्भीर आरोप लगाइँदै छ’ नेता नेपालले भने ‘नेकपा कहिले पनि अधिनायकवादको बाटोमा जाँदैन।’ सुदूरपश्चिममा व्याप्त कुरीति रहेको भन्दै उनले जनप्रतिनधिहरूलाई यसका विरुद्धमा अभियान चलाउनसमेत निर्देशन दिए।

महासचिव विष्णु पौडेलले पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताए। उनले आगामी एक साताभित्रै पार्टी एकताको प्रक्रिया टुंगोमा पुग्ने दाबी गरे। 'तीन महिनाभित्रै एकता गर्छौं भनेका थियौँ। नौं महिना बितिसकेको छ' महासचिव पौडेलले भने 'अब एक साताभित्रै धेरै काम सम्पन्न हुन्छ।'

नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम रावलले नेकपाको अत्यधिक मत रहेको सुदूरपश्चिममा सरकारले विकास निर्माणकालागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका थिए। अर्का स्थायी कमिटी सदस्य लेखराज भट्टले पनि सुदूरपश्चिमको विकास नभइसम्म देश विकास हुन नसक्ने भन्दै सरकारले सुदूरपश्चिको विकासमा चासो दिनुपर्ने बताए।

भेलामा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा मन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगरको पनि उपस्थिति रहेको थियो। गत जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता हुँदा कार्यकर्तामा निक्कै ठूलो उत्साह छाएको थियो। तर, पछिल्लो समय तल्लो तहसम्मका कमिटी तथा जनवर्गीय सङ्गठनको एकताले पूर्णता पाउन नसक्दा कार्यकर्तामा निराशा पैदा भएको छ।

हजारौँ कार्यकर्ताका बीच बुधबार नेतृत्वले दिएको सन्देशबाट तत्लो तहससम्म पार्टी एकता थप मजबुत हुने अपेक्षा छ। पार्टी एकतापछि गुटबन्दी बढेको आरोप लागिरहेका बेला सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलाले नेताहरूलाई मात्र नभई कार्यकर्तालाई पनि उत्साहित बनाएको छ। भेलापछि प्रधानमन्त्री लगायतका शीर्ष नेता तथा मन्त्रीहरू राजधानी फर्किएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.