|

आधुनिक धरान
धरान कुनै समयमा आतंकको पर्यायको रुपमा थियो। टोले पानी गुण्डाहरुको विगविगीको प्रतिक थियो। कुनै समय धरान केरला र संघाइको उपनामले चिनिन्थ्यो। धरान आउने बस्ने जो कोही कम्यूनिष्ट नभइ धरै नपाउने। यतिसम्मकि अहिलेसम्म जतिले धरानको राजनीतिक प्रतिनिधित्व गर्न पाए ति सबैको पृष्ठभूमि कम्युनिस्टनै थियो। चाहे त्यो पञ्चाययतकालमा होस वा बहुदलीय वा गणतान्त्रिक कालखण्डमा। राजनीतिक रुपले सचेत तर धरानको विशिष्ठ नेतृत्व गर्ने बेलामा अचेत प्रतिनिधिहरुले राजनीतिक नेतृत्व गरे, गरिरहेका छन्। पञ्चायतकालमा कोशी अञ्चलको सदरमुकामको पगरी गुथेको यो शहर लिम्बू जातिलाई शाहकालमा ‘सुब्बा’ पगरी गुथाएको जस्तो मात्रै थियो। खानु पिउनु नास्ती सुब्बालाइ सास्ती भने बराबर। विराटनगरको अगाडि धनकुटा मुनी यो सहरको दाल गलेन। अहिले यो सहर पानी राजनीतिमा भुसुक्कै डुबेको छ। काकाकुलमा बाँचेको शहरको थाप्लोमा सभामुख ओनसरी घर्तीले १५० फिट अग्लो ‘थाउजेण्ड बुद्ध’ बनाउने परिकल्पनाको सिल्यान्यास गरेर गइन। अनेकान बौद्ध भिक्षुहरुले बुद्धको प्रतिमासंगै सम्पन्नताको आधारशिला तयार हुने मन्त्रोचरणसहितको प्रबचन दिएर गए। कपाली नै सही धेरैले धरानको सम्पन्नताको सपनामा तमसुक गरिदिएका छन्। 

आखिर धरान के हो? केही समय अगाडिसम्म माओवादीले यसलाई कोचिला प्रदेशको खातामा प्रस्ताब गरे। लिम्बुवानजन्य संगठनले यसलाई लिम्बुवानको तहसिल राजधानी भन्छन्। किरतसम्बद्धहरु यो नगरलाइ किरातलेण्ड भन्छन्। मधेसीले मधेसभन्दा पर्तिर सोच्न नसकिने ठान्छन्। विराट, मोरङ, पूर्व कोशी नजाने अनेकन नामले शुशोभित गर्दै यसलाई ‘नो मेन्स लेण्ड’ बनाइसकेका छन्। धरानको ऐतिहासिक रुपरेखा बुझेपछि बल्ल यसको नालीबेली खुुट्याउन सकिने विषयमा यो लेख परिलक्षित छ।

विजयपुर र धरानको ऐतिहासिक सम्बन्ध 
धरान नगरको ऐतिहासिक पृष्ठभूमि विजयपुर सहरको स्थापनाको धेरै पछिबाट सुरु हुन्छ। विजयपुर राज्यका प्रथम राजा विजयनारायण राय (वि.सं. १६४१-१६६६) ले विजयपुर सहर बनाइ त्यहीँ विजयपुर राज्यको राजधानी बनाएका थिए। विजयपुर धरान नगरभित्रकै एउटा ऐतिहासिक महत्वको क्षेत्रको रुपमा आज पनि उही नामले चिनिन्छ। तत्कालीन विजयपुरको काखमा रहेको नयाँ बस्ती नै आजको धरान हो। लगभग १६औं शताब्दीमा स्थापित विजयपुर सहर करिव दुई सय वर्षसम्म विजयपुंर राज्यको राजधानीको रुपमा अस्तित्वमा रह्यो। पछिल्लो समयमा धरान सहरको उर्लदो भौतिक विकासले प्राचीन विजयपुर सहर छायाँमा पर्दै गयो।

सुनसरी धरान नगरको पुरानो अनुहार।

इतिहासकार इमानसिंह चेम्जोङका अनुसार ( ‘विजयनारायण राय नाम गरेका राजाले लिम्बुवान फेदाप थुमको मुरेहाङ खेबाहाङ राजासंग मित्रता कायम गरेर उनकै सर-सल्लाहबाट साँगुरीगढी र वाराताप्पा गढीको मध्यस्थानमा एउटा नयाँ सहर बसाइ त्यसलाई उनकै नामबाट सुशोभित गरी, त्यो सहरको नाम विजयपुर राखे।’

अर्का इतिहासकार महेशचन्द्र रेग्मीले पनि विजयपुरबारे उल्लेख्य चर्चा गरेका छन्। उनको अंग्रेजी भाषाको पुस्तक ‘नेपालको आर्थिक इतिहासको अध्ययन’ (A study in Nepal Economic History) अनुसार ‘विजयपुर राज्यले सुदूरपूर्वका पहाडि जिल्लाहरु धनकुटा, पाँचथर, इलाम, ताप्लेजुुङ, तेह्रथुम र संखुवासभा, यसैगरी तराइका जिल्लाहरु मोरङ, सुनसरी र झापामा शासनसत्ता कायम गरेको थियो।’

(Farther east, The Kingdom of Vijayapur controlled the whole of the far eastern hill district Dhankutta, Panthar, Ilam, Terathum, Taplejung and Sankhuwasava as well as the Tarai districts of Morang, Sunsari and Jhapa.)

रेग्मीले विजयपुर राज्यको ऐतिहासिक पहलुलाई केलाउँदै गोर्खा राज्यको विस्तारको क्रममा विजयपुर नेपालको सह(राज्यको रुपमा आएको प्रसंग पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्(‘यसरी नै पल्लो किरात क्षेत्र (वर्तमानका पहाडी जिल्लाहरु धनकुुटा, पाँचथर, इलाम, तेह्रथुम र संखुवासभा ) लाई  पृथ्वीनारायण शाहले आन्तरिक स्वायत्तता उपयोग गर्ने गरी त्यहाँ बसोबास गर्ने लिम्बूू समुदायलाई सुुनिश्चित गरिदिएका थिए ।’ (सन् १७७४ को लालमोहर अनुसार।) 

(Similarly, in the Pallo Kirat areas (covering the present districts Dhankutta, Panthar, Ilam, Terathum, Taplejung and Sankhuwasava) Prithivi Narayan Shah gaurented internal autonomy in the Limbu community. According to a real order issued in 1774.)

भवानी बराल र कमल तिगेला लिम्बूले पनि आफ्नो पुस्ताक लिम्बुवानको राजनीतिमा लेखेका छन् ‘पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्नु अघि कामदत्त सेनलाई बर्खास्त गरी बुद्धिकर्ण राय विजयपुरका राजा बने। पृथ्वीनारायण शाहको राज्य विस्तारका क्रममा विजयपुर सह(राज्य (किपट लगायतका स्वायत्तता उपयोग गर्ने गरी भएको लालमोहर अनुसार) को रुपमा नेपालमा एकीकृत भएको हो। विजयपुरको एकीकरण पछि यो क्षेत्र बस्ती विकाससँगै लिम्बुवानको तहसिल राजधानी रहेको विजयपुर, धरान नामले चिनिन थाल्यो ।’

राणाहरुले बसाएको सहर

यसरी सप्तकोशी पूर्वमा रहेको हालको सुनसरी जिल्लाको पूर्व(पश्चिम राजमार्ग चारकोशे झाडी उत्तर, महाभारत पर्वत सृङखलाको फेदी विजयपुर शहरको काखमा फैलिएको घना चारकोशे झाडीलाइ वि.सं. १९५० बाट फाँड्ने आदेश राणा प्रधानमन्त्रीले दिए। वि.सं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेरले फाँडिएको जमिनलाइ चन्द्रनगर (हालको पुरानो बजार) को नाममा बस्ती बसाउने आदेश गरे। वि.सं. १९९० मा अर्का राणा प्रधानमन्त्री जुद्ध शमसेरले जुद्धनगर (हालको मुख्य नयाँ बजार) बस्ती बसाए पछि धरान नगर स्थापनाको सुरुवात भयो। चन्द्रनगर र जुद्धनगर नामको दुई बस्ती नै आजको धरान नगर हो। वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री पद्म शमसेरको पालामा स्थानीय ऐन बनेको थियो। सोही ऐन बमोजिम २००६ सालमा मुक्तिनाथ बास्तोला प्रमुख रहेको एउटा कमिटी बन्यो।

धरान नगरको पुरानो छाताचोक ।

पं. छविलाल पोखरेल, अभिनारायण उपाध्याय लगायत पाँच जनाको कमिटीले ‘धरान बजार सफाइ कमिटी’को रुपमा काम ग¥यो। नगरपालिकाको प्रारम्भिक स्वरुपको यो स्वतस्फूर्त कमिटी थियो। वि.सं. २००७ सालको परिवर्तनपछि आएको पहिलो स्थानीय ऐन अनुसार २०१७ साल साउन ३२ गते गठित धरान नगरपालिका नै पहिलो स्थानीय जननिर्वाचित स्थानीय निकाय थियो। वि. सं. २०१७ साल मंसीर १५ गते नवगठित नगरपालिका बोर्ड बैठकको विविध निर्णयले यसको पुष्टि गर्दछ। 

वि.सं. २०१० सालमा बेलायती सेनामा नेपाली नागरिकलाई भर्ति गर्ने उद्वेश्यले बेलायत सरकारले गोर्खा सैनिक भर्ती केन्द्र ‘बृटिश गोर्खा डिपो’ (बिजिडी)को स्थापना गरेपछि यहाँको जनघनत्व ह्वात्तै बढ्यो । 

र, २०१७ साल साउन ३२ गते यो क्षेत्रलाई राजनीतिक (प्रशासनिक इकाइको रुपमा धरान नगरपालिका घोषणा गरियो ।

यो नगरको प्रशासनिक क्षेत्रफल पनि विभिन्न समयमा विस्तार हुँदै आएको छ। वि.सं २०३५ सालमा यो नगरको पूर्वपट्टि रहेको तत्कालिन बाँजगरा गाउँ पञ्चायत र पश्चिम पट्टिको घोपा गाउँ पञ्चायतलाई यसै नगरमा मिलान गरियो। वि.सं. २०७१ साल वैशाख २५ गते र २०७१ साल मंसीर १६ गते नगरको पूर्व र पश्चिमका छिमेकी गाविसहरु पञ्चकन्या तथा विष्णुपादुका गाविस नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार नगरमा गाभी धरान उप(महानगरपालिका घोषणा गरिएको छ ।

समशीतोष्ण हावापानी पाइने यो नगर पहाड र तराइको संगमस्थल (भावर प्रदेश) मा पर्छ। दक्षिणमा चारकोशे जंगल उत्तरमा महाभारत पर्वत श्रृङ्खलाको काखमा रहेको यो शहर वि. सं. २०१८ सालको राजनीतिक(प्रशासनिक विभाजन अन्तरगत कोशी अञ्चल, सुनसरी जिल्लाको मुख्य शहर र जिल्लाकै पहिलो जेठो नगरपालिका हो। १९२.६१ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो नगरमा वर्षेनी सालाखाला २६२६ मिलिमिटर वर्षा हुनेगर्छ। पछिल्लो राष्ट्रिय जनगणना(२०६८ अनुसार यसको कुल जनसंख्या १ लाख ३७ हजार ७०५ रहेको छ। २६ डिग्री उत्तर अक्षांश र ८७ डिग्री पूर्व देशान्तरमा रहेकोे धरानको उचाइ समुद्र सतहदेखि ३०५ मिटरदेखि १७९७ मिटरसम्म छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.