|

इलाम : पूर्वी पहाडको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको पाँचौँ संस्करणका लागि तयारी तीव्र पारिएको छ। फागुन २३ गते सुरु हुने गरी तय भएको प्रतियोगिताका लागि मैदान सम्याउने, पारापिट बनाउने र सहभागिता जनाउने १० वटा क्लबको टुङ्गो लगायतका ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।

तयारी तीव्र भइरहँदा प्रतियोगिताको आयोजना मिति तीन दिनपछि धकेलियो। कारण थियो, छिमेकी जिल्ला झापाको झापा गोल्डकप चौथो संस्करणसँग मिति जुध्नु। एन्फाले तय गरेको मिति अनुसार माइभ्याली फागुन २३ बाट सुरु हुनेपर्ने थियो। तर झापा गोल्डकप १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने भएका कारण त्यसको असर माइभ्याली गोल्डकपमा परेको हो।  

माइभ्याली गोल्डकप आयोजक समितिका अध्यक्ष धिरेन चेम्जोङले झापा गोल्डकपको मितिका कारण माइभ्यालीको मिति सरेको बताए। ‘झापा गोल्डकपको फाइनल २७ गते पुग्दा हाम्रो आयोजनालाई समेत प्रभाव पर्‍यो। माइभ्यालीमा सहभागीमध्ये आयोजक र दार्जिलिङबाहेकका अन्य केही टिम झापा गोल्डकपमा समेत सहभागी हुने तय भएको छ’, उनले भने, ‘फागुन २३ गतेको प्रतियोगिताको लागि  २२ गतेको झापाको खेलका आधारमा ‘टाइसिट’ बनाउने कुरा पनि भएन। त्यसैले प्रतियोगिताको मिति सार्नुपर्‍यो।’

एन्फाले तय गरेको देशका २३ वटा गोल्डकप प्रतियोगिताको तालिकाअनुसार फागुन १५ गतेदेखि २५ गतेसम्म झापा गोल्डकपको मिति तय गरिएको थियो। तर आयोजक समितिका अध्यक्ष जलकुमार गुरुङ सुरुवातमा नै फागुन १८ गतेबाट नै झापा गोल्डकपको मिति तय भएको बताउँछन्। झापा र इलामका प्रतियोगिता मात्र एन्फा क्यालेन्डरका कारण सारिएको होइन। पोखरामा नै जिल्ला फुटबल संघ कास्कीको आयोजनामा दुई वर्षपछि मनकामना केबलकार कपको छैटौ संस्करण हुने भएपछि १७ औ आहा रारा गोल्डकपको मिति परिर्वतन भयो। मोफसलको चर्चामा रहने आहा रारा गोल्ड कप फागुन ९ गते सुरु हुँदैछ। 

एकै महिना दुई वटा प्रतियोगिता आयोजना हुने भएपछि आयोजक सहारा क्लबले विज्ञप्ति नै जारी गरेर प्रतियोगिताको मिति परिर्वतन गरेको थियो। यसअघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने एन्फा खेलतालिका सार्वजनिक गरेको थियो। एकै समयमा दुई दिनको अन्तरालमा हुने भए पछि क्लबले पुनः अर्को मितिमा उक्त प्रतियोगिता सञ्चालनका लागि मिति माग गरेको थियो। सोही माग बमोजिम एन्फा केन्द्रले फागुन ९ गतेलाई नयाँ मिति तोकेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए।

क्लबको सहभागितासम्बन्धी मापदण्ड तय गर्न माग

१४ वटा क्लबलाई सहभागी गराएर एन्फाले शहीद स्मारक ए डिभिजन लिग आयोजना गरेको थियो। तर देशका हरेक जसो गोल्डकपमा मनाङ मर्स्याङदी, थ्रीस्टार र तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफबाहेक अन्य क्लबको सहभागिता न्यून मात्र छ। १\२ वटा प्रतियोगितामा अन्य ए डिभिजनका क्लब सहभागी भएपनि पाँच वटा क्लबकै दबदबा छ मोफसलको गोल्डकप प्रतियोगितामा। देशभरि हुने गोल्डकप फुटबलमा यी पाँच टिमको सहभागिता अनिवार्य जस्तै भएको छ। माइभ्याली गोल्डकपका अध्यक्ष धिरेन चेम्जोङ ए डिभिजन क्लबलाई गोल्डकपको सहभागिता नियमन गर्न सके नेपाली फुटबलको अझै विकास हुने बताउँछन्।

‘ए डिभिजनका पाँचबाहेक अन्य क्लबले सहभागिता जनाउन नपाउँदा खेलाडी पलायन हुनुपर्ने अवस्था सृजना भएको छ। एउटा क्लबले कति प्रतियोगितामा सहभागिता जनाउन पाउने भन्ने एन्फाले मापदण्ड तय गरिदिनुपर्छ’ उनी भन्छन्। अनियन्त्रित रूपमा भइरहेका गोल्डकप प्रतियोगिताले खेल र खेलाडीको स्तर नबढ्ने उनको बुझाइ छ। यता झापा गोल्डकपका अध्यक्ष जलकुमार गुरुङ समेत एन्फाले गोल्डकपको मापदण्ड बनाएर लागू गर्नुपर्ने बताउँछन्।

‘अहिलेको अवस्थामा प्रतियोगिता आयोजना गरे पनि ठिक नगरे पनि ठिकको अवस्थामा छ। नियमनमा एन्फा फितलो देखिन्छ’, गुरुङ भन्छन्, ‘एन्फा नियमनकारी निकाय भएकाले प्रतियोगिताको स्तरका आधारमा क्लबको सहभागीता र आयोजनाका लागि अनुमति दिनुपर्छ।’

अनियन्त्रित गोल्डकपले खेलाडीको स्वास्थ्यमा असर

एन्फाले तय गरे अनुसार पुष २१ गते यता हालसम्म ८ वटा गोल्डकप प्रतियोगिता सम्पन्न हुनुपर्ने हो तर सात वटा प्रतियोगिता मात्र सम्पन्न भयो।  एन्फालाई माघ १८ गतेबाट २७ गतेसम्म प्रथम घैलाडुब्बा गोल्डकप फुटबल प्रतियोगिताका लागि भनेर समय तालिका माग गरिएको थियो। तर प्रतियोगिता आयोजना भएन। क्यालेन्डर अनुसार बैशाख २१ गते भित्रमा बाँकी १५ वटा गोल्डकप प्रतियोगित सम्पन्न हुनुपर्ने हुन्छ, जसको प्रत्यक्ष असर प्रतियोगितामा सहभागी खेलाडीहरूमा पर्छ। पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर प्रतियोगिता आयोजना हुनुपर्ने बताउँछन्।

‘खेलमा सहभागी जनाउने खेलाडीले हो। उनीहरूको स्वास्थ्यलाई नै बेवास्ता गर्ने हो भने खेलमा रोमाञ्चकता कसरी आउँछ? निरन्तरको प्रतियोगिताले मानसिक रुपमा समेत खेलाडी शिथिल हुन्छ। अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजा शून्य’, ए डिभिजनका क्लबहरूको सहभागितासम्बन्धी एन्फाले नीति बनाउन सके खेलाडीको स्वास्थ्यको जोखिम कम हुने उनको बुझाइ छ।

एन्फाले सार्वजनिक गरेको कसिलो मितिका कारण फिफाको नियमविपरीत गत फागुन ४ गते बुढासुब्बा गोल्डकपमा फाइनल खेल आयोजना गरिएको थियो। ४८ घण्टा आरामपछि मात्र अर्को खेलमा सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय नियम हुँदा हुँदै पनि २४ घण्टा पनि नबित्दै बुढासुब्बाको फाइनलमा आयोजकविरुद्ध क्यामरुनी क्लब डाउफिन्स  सहभागी हुनुपर्‍यो। 

क्लब सहभागीको मापदण्ड तय गर्ने : एन्फा प्रवक्ता राई

देशभरमा भएको प्रतियोगितामा निरन्तर सहभागिताले खेलाडीहरूमा परेको असरलाई मध्यनजर गर्दै आगामी वर्षबाट लिग र गोल्डकपलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने योजना रहेको एन्फा प्रवक्ता किरण राई बताउँछन्। ‘लिगमा सहभागी १४  वटै क्लबलाई गोल्डकपमा सहभागिता जनाउने वातावरण मिलाउने छौँ। सुरुमै मिति तय गर्दा कुन क्लब कुन प्रतियोगितामा सहभागिता जनाउने भन्ने निर्क्योलसहित ल्याउने योजना छ’, उनले भने ‘ पहिलो पटक मिति तय भएकाले केही तलमाथि भएको हो। आगामी वर्षदेखि त्यस्तो हुनेछैन।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.