|

नवलपरासी : पश्चिम नवलपरासीको महेषपुर मूल भन्सारको करिव ७ महिनाअघि नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले धुमधामका साथ उद्घाटन गरे। लामो समयदेखि महेषपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारको रूपमा स्तरउन्नतिको माग गर्दै आएका उद्योगी व्यवसायीहरू, राजनीतिक दलका नेतृत्व र नवलपरासीबासी भन्सारको स्तरउन्नति हुँदा हर्षित समेत भएका थिए।

मूल भन्सारमा स्तरउन्नति भए पनि भन्सार कार्यालयमा उद्योगी व्यवसायीहरूको चहलपहल खासै देखिदैन। आवश्यक संरचनाको निर्माण विना नै छोटी भन्सार कार्यालयलाई मूल भन्सारको रूपमा घोषणा गरिँदा अहिले महेषपुर भन्सार कार्यायले सोचे अनुरूपको कार्यसम्पादन गर्न नसकेको हो। यसअघि भैरहवा भन्सार कार्यालय माताहतको छोटी भनसार कार्यालयको रूपमा रहेको महेषपुर भन्सार कार्याल मूल भन्सार कार्यालयको रूपमा स्तरउन्नति भए पनि उद्योगी व्यवसायीहरूले सोचेअनुरूप लाभ लिन सकिसहेका छैनन्।

भन्सारको स्तरउन्नति भए पनि सडकको सुविधा र सामानहरूको भण्डारणका लागि गोदामको अभावका कारण उद्योगी व्यवसायीले महेषपुर भन्सार हुँदै सामान ल्याउन नसकेका हुन्। उद्योगी ब्यबसायीले अहिले पनि भैरहवाको बेलहिया नाका प्रयोग गरेर मालसामान ल्याउने गरेका छन्।

सडक सांघुरो भएका कारण ठूला मालबाहक सवारीहरू संचालन हुन नसक्ने अवस्था रहेको छ भने गोदान निर्माणका लागि जग्गा अभाव रहेको छ। प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरू भन्सारको आवश्यक संरचना निर्माणका लागि  स्थानीयहरूसँग छलफल गर्दै आइरहेका छन्। राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरू रुपनदेहीको बेलहिया–सुनौली नाका जस्तै बनाउनका लागि आवश्यक सुख्खा बन्दरगाहा निर्माणका लागि पहल गर्दै आइरहेका छन्।

भन्सारलाई पूर्ण रूपमा संचालनमा ल्याउन फोर लेन सडक अपरिहार्य जस्तै बनेको छ। सडक विस्तार गर्दा अहिले रहेको १ सय २५ घर पूर्णरूपमा विस्थापित हुने देखिन्छ। उनीहरूको उचित व्यवस्थापन गरेर भए पनि सडकको स्तरउन्नति गर्न सके भन्सार पूर्णरूपमा संचालनमा आउन सक्ने पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताए। गुप्ताले भनसार पूर्णरूपमा संचालनमा आउँदा गाउँपालिकाको विकासले समेत फड्को मार्ने बताए।

मूल भन्सारको रूपमा स्तरउन्नति भए पनि पूर्णरूपमा संचालनमा आउन नसक्दा साजश्व संकलनमा समेत कमी हुँदै आएको छ। छोटी भन्सार हुँदाको समयमा भन्दा पनि कम राजश्व संकलन हुने गरेको तथ्यांकले देखाएको छ। भन्सारलाई पूर्णरूपमा संचालनमा ल्याउन सडक विस्तार र जग्गा अधिकरण गर्नु परेमा पनि आफूहरू तयार रहेको स्थानीयहरूले बताएका छन्। अधिकरण गर्दा उचित मुआब्जा उपलब्ध गराइए आफूहरूको तर्फबाट कुनै अवरोध सिर्जना नहुने स्थानीयको भनाई छ।

महेषपुर भन्सार भारतको कलकत्ता बन्दरगाहाबाट सबैभन्दा छोटो दूरीमा रहेको भन्सार हो। यो नाकालाई व्यवस्थित रूपमा संचालनमा ल्याउन सके उद्योगी व्यवसायीहरूका लागि ढुवानी खर्चसमेत कम पर्ने र छिटो छरितो हुने व्यवसायीहरू बताउँछन्। भन्सार पूर्णरूपमा संचालनमा आए होटल रेष्टुरेन्टलगायत आफूहरूको अन्य व्यवसायमा समेत वृद्धि हुने भएको भन्दै जति सक्यो छिटो नेपाल सरकारले यसमा जोड दिनुपर्ने स्थानीय जितेन्द्र गुप्ताले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.