|

दाङ : ववई गाउँपालिका ६ पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको छ। प्रसारण लाइनकाे उद्घाटन गर्ने क्रममा बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दाङमा अब विद्युतको कम भोल्टेजको समस्या नरहने बताए।

‘दाङबाट लो भोल्टेज भयो भनेर पटक–पटक गुनासो आउने गर्थ्याे’, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनले भने,‘अब भने त्यस्तो समस्या रहँदैन।’ दाङमा यसअघि लमहीबाट घोराही हुँदै तुलसीपुर ३३ केभीको प्रशारणलाइन मात्रै हुँदा कम भाल्टेजको समस्या रहेको भन्दै अब भने हापुरेको सब स्टेशन सुचारु भएपछि २०० केभी विद्युत प्रसारण हुने बताए। दाङमा उपलब्ध २०० केभी विद्युतलाई प्रयोगमा ल्याउन समेत उनले आग्रह गरे।

‘दाङमा यसअघि विद्युत लो भोल्टेजको समस्या थियो। अब त्यो समस्या आजदेखि हट्यो’, उनले भने, ‘अब हामीसँग उपलब्ध भएको २०० केभी विद्युतलाई प्रयोगमा ल्याउनुपर्छ।’ अब दाङमा जस्तोसुकै ठूला–ठूला उद्योगहरू पनि सञ्चालनमा ल्याउन सकिने भन्दै त्यसतर्फ दाङबासी अग्रसर हुनुपर्ने समेत बताए।‘पहिले लो भोल्टेज भनेर धेरै गुनासो आउँथेँ’, उनले भने, ‘तर अब भने उत्पादन भएको एकतिहाई विद्युत पनि प्रयोगमा आउँदैन् की भन्ने चिन्ता छ।’

बिभिन्न कारणले लामो समयसम्म पनि प्रयोगविहीन अवस्थामा रहेको उक्त विद्युत सञ्चालनमा ल्याउनुले दाङमा थप विकसित भएको समेत बताए। अब दाङमा बिभिन्न ठूला उद्योगहरू खुल्ने र थप समृद्धिको मार्गमा लैजाने समेत बताए। उनले ठेकेदारको लापरबाहीले गर्दा काम ढिला हुने भएकाले पनि धेरै विद्युत निर्माणका कार्यले समयमै पूर्णता नपाएको तर केही ठेकेदारले समयमै काम पूरा गर्ने गरेको भन्दै उनले अब समयमै काम पूरा गर्ने ठेकेदारलाई लिस्ट बनाएर निर्माणको जिम्मा दिनुपर्ने बताए।

मुलुकमा राजनीतिक लडाई सकिएको र अब समृद्धिको मार्गमा अघि बढ्नुपर्ने अबस्था रहेको भन्दै त्यही अनुसार उर्जा मन्त्रालय पनि विकास मार्गमा अघि बढिसकेको बताए। उनले तीन वर्षभित्र सबै नेपालीलाई विद्युतको पहुँचमा पुर्‍याउन लक्ष्य रहेको समेत बताए। उनले  दाङको बाँझो जग्गालाई सिंचित गर्न पनि मन्त्रालयले अध्ययन गरिरहेको बताए। उनका अनुसार दाङको सिंचाइका लागि बृहत दाङ सिंचाइ आयोजनाले रोल्पाको माडी, सल्यानको शारदाको दाङ ल्याउने कार्यका लागि अध्ययन भइरहेको बताए। साथै बबई नदीको पानीलाई पनि सिंचाइका लागि प्रयोग गर्नका लागि योजना निर्माण गर्ने काम भइरहेको बताए।

नेपाल जलस्रोतको धनी देश भएको भन्दै नेपालीको पानीलाई सिंचाइ, विद्युत लगायतका क्षेत्रमा लगानी गरी समृद्धिको आधार खडा गर्ने योजना मन्त्रालयले बनाएको समेत उनको भनाई छ। त्यस अवसरमा मन्त्रायलका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङ, प्रदेश ५ का प्रदेशसभा सदस्य इन्द्रजीत थारु, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललगायतले उक्त दाङमा अब विगतजस्तो विद्युत लोड सेडिङ समस्या अन्त्य हुने बताए।

दाङमा स्थापना भएका सिमेन्ट उद्योगलाई विद्युत उपलब्ध गराउने, दाङको लोडसेडिङकाे समस्या हल गर्न सब स्टेशन सञ्चालनमा ल्याइएको हो।  ४३ करोड ८६ लाख लागतमा उक्त सब स्टेशन निर्माण भएको हो। २०६६ सालदेखि निर्माण कार्य शुरु भएको उक्त सब–स्टेशनको काम तीन सिफ्टमा काम पूरा गरिको हो। बिभिन्न कारणले लामो समयदेखि प्रयोगविहीन थियो। उक्त विद्युत सेवा शुरु भएसँगै अब दाङ तुलसीपुरमा ३३ केभी, दाङको पश्चिम क्षेत्रमा ३३ केभी तथा सोनापुर सिमेन्टमा ३३ केभी विद्युत प्रयोग हुनेछ। तर अब भने ठूला–ठूला उद्योगहरू पनि सञ्चालनमा ल्याउन सकिने विद्युत सब स्टेशनका बजुभुषण चौधरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.