|

भक्तपुर : भक्तपुर नगरपालिकाले २५ शैयाको ख्वप अस्पताल सञ्चालनको लागि भवन निर्माण शुरु गरेको छ। भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रको उत्तरतर्फ रहेको १० रोपनी १२ आना ३ पैसा २ दाम जग्गामा निर्माण गरिने सो अस्पतालमा आकस्मिक सेवा, एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, एम.आर.आइ, प्याथोलोजी प्रयोगशाला, प्रसूति सेवा, शल्यक्रिया र सघन उपचार विभाग रहने नपाले जनाएको छ।

त्यसैगरी अस्पताल भवनको जमिनमुनीको तलामा पार्किङका साथै शवगृह लगायतको सुविधा हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। अस्पताल भवन निर्माणका लागि नगरपालिकाले यसवर्ष १४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदैं नगरप्रमुख प्रजापतिले अस्पताल निर्माणमा नेपाल सरकार र कुनै विदेशी दातृ निकायको सहयोग नरहेको बताए। नवनिर्मित ख्वप अस्पतालको भवन ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ।

ख्वप अस्पतालको भवनसहितको बेसमेन्टको क्षेत्रफल ३ रोपनी १५ आना १ पैसा  र भवन मात्रको  (जमिन माथि उठ्ने भाग) २ रोपनी १० आना १.९२ दाममा निर्माण हुने नपाले जनाएको छ। पाँच तल्लाको भवनको बेस्मेन्टमा २८ वडा गाडी र ४५  वटा मोटरसाइकल पार्किङ गर्न सकिन्छ । अस्पतालको भुईंतल्लामा १० शैयाको आकस्मिक सेवा रहनेछ। साथै एक्स–रे, सिटी स्क्यान, एमआरआई र शवगृह भुइँतल्लामा रहने छ।

अस्पतालको पहिलो तल्लामा भिडियो एक्स–रेको व्यवस्था सहितको प्रसूति सेवा, दोस्रो तल्लामा दुई वटा अपरेशन थियटर, आइसियु, तेस्रो तल्लामा आँखा अस्पताल रहने प्रस्ताव गरिएको छ। त्यसैगरी चौथो तल्लामा १५० जना अट्ने बहुउपयोगी हल र २२ जना अट्ने बैठक कोठा र प्रशासन शाखा रहनेछ। साथै अस्पतालका कपडा धुने लउण्ड्री, मेकानिकल शाखा, अक्सिजन आपुर्ती, ममर्त शाखा, स्टोर रुम लगायतको व्यवस्था हुनेछ।

अस्पताल सञ्चालनको लागि आवश्यक पानीको व्यवस्थाको लागि आकासे पानी संकलनको व्यवस्था गरिने र सौर्य उर्जाको अधिकतम प्रयोगको व्यवस्था गरिने उपप्रमुख रजनी जोशीले जानकारी दिए। अस्पतालको लागत भूमिगत तल्लादेखि जमिन तल्लाको १२ करोड ६९ लाख ९२ हजार ७ सय ९४ रुपैयाँ र पूरै भवनको अनुमानित लागत ४५ करोड रहेको उपप्रमुख जोशीले बताए। उनले अस्पताल वातावरणमैत्री, अपाङमैत्री, भूकम्प प्रतिरोधी, सुविधा सम्पन्न हुने बताए।

सो अस्पताल भवन निर्माणको बिहीबार शिलान्यास गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले पैसा कमाउने र भ्रष्टाचार गर्ने उद्देश्य भएकाहरूले देश र समाजको हितमा काम गर्न नसक्ने बताए। उनले सरकारी अस्पतालको सेवा गुणस्तरीय नहुँदा भक्तपुर अस्पतालमा झाडावान्ताबाट समेत बिरामीको मृत्यु हुने गरेको चर्चा गर्दै उपचारको अभावमा कसैको ज्यान जान नदिन ख्वप अस्पतालको निर्माणले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सबैले इमानदारीपूर्वक काम गरे भक्तपुरलाई नमुना नगरको रुपमा विकास गर्न सक्नेमा जोड दिंदै देशभरिका जनताको सेवा गर्ने भावनाले नमुना अस्पतालको रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढ्न आह्वान गरे।

नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले देशमा संघीयता लागू भए पनि संघिय सरकार केन्द्रीकृत मानसिकताअनुसार नै सञ्चालन भइरहेको आरोप लगाए। उनले ख्वप अस्पताल नीजि अस्पतालको विकल्पको रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए।

अस्पताल शिलान्यासको अवसरमा प्रदेश नं. ३ का प्रदेशसभा सांसद सृजना सैंजु, भक्तपुर नपाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, ज्योतिष बिरेन्द्रप्रसाद कायस्थ र नेपाली सेनाका उपरथी भरत खड्कालगायतले अस्पताल व्यापारको निम्ति नभई जनताको सेवाको निम्ति सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।

भक्तपुर नगरपालिकाले हाल च्याम्हसिंहस्थित जनस्वास्थ्य केन्द्र मार्फत इमर्जेन्सी सेवासहित नगरबासीलाई स्वास्थ्य सेवा दिँदै आइरहेको छ। साथै आँखा अस्पताल आर्युवेदिक उपचार केन्द्रमार्फत सस्तो र सुलभ रुपमा विभिन्न उपचार सेवा प्रदान गर्दै आइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.