'मेलम्चीका लागि दुई विकल्पमा छलफल चलिरहेको छ'

|
फोटो : नवीन पौडेल, रासस

काठमाडौं : खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा आफू मन्त्री भएर आएपछि उल्लेखनीय काम भएको बताएकी छन।

प्रतिनिधिसभामा शुक्रबार सांसदले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मगरले आफ्नो कार्यकालमा नै मेलम्ची आयोजनाको टनेलको ब्रेकथ्रु, भेन्टिलेसन निर्माण, पाइप बिच्छ्याउने लगायतका काम भएको जानकारी दिइन।

मन्त्री मगरले मेलम्ची खानेपानीलाई काठमाडौं ल्याउन महत्वपूर्ण काम गर्दा पनि केही संचामाध्यमले नियोजित रूपमा समाचार लेखेको र मन्त्रालयका पूर्वसचिव गजेन्द्र ठाकुरले अनावश्यक हल्ला फिँजाएको बताइन। मन्त्री मगरले कमिशनको कुरा गरेर सरूवामा परेको भन्ने ठाकुरको कुरा गलत भएको बताइन। उनले यसबारे आफूले कतै पनि जवाफ नदिएको बताइन। ठाकुरलाई मन्त्रालयबाट हटाउनुको कारणबारे मन्त्री मगरले भनिन, 'मैले दिएको निर्देशनअनुसार काम गरेको पाइँन। सही ट्र्याक लिन खोज्दा खोज्दै पनि मिडियाले सही लेखेनन। मन्त्री १ अर्ब खायो भनेर पनि समाचार आयो। मलाई त्यसले गम्भीर बनायो। हिसाब हेर्दा मेरो कार्यकालमा ८४ अर्बको मात्रै भुक्तानी भएको पाए।' उनले सही काम गर्न खोज्दा पनि भ्रम फैलाइएको बताइन।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण पूरा गर्नका लागि काठमाडौंका जनता, निर्माण कम्पनी र मन्त्रालयलाई लिएर सचिव तथा आयोजनाका अध्यक्ष रहेका ठाकुरलाई कार्ययोजना दिएको तर काम सन्तोषजनक नभएकाले सरुवा गरिएको बताइन। सचिव अन्य मन्त्रालयका पनि सरुवा भएकाले यसलाई अन्यथा बुझ्न नहुने उनको भनाइ थियो।

काठमाडौं उपत्यकाका जनतालाई मेलम्चीको पानी खुवाउने आफू मन्त्रालय र व्यक्तिगत रूपमा गम्भीर रहेको बताइन। राष्ट्रिय गौरवको आयोजना भएकाले पनि यो आयोजनामा कसैको गिद्देनगर पर्न नदिने बताइन। उनले भनिन्, 'मेलम्चीमा कसैको पनि गिद्देनगर पर्न दिने छैन, पर्न दिँदिन पनि। राष्ट्र डुबाउन खोजेको जसले भनेको छ त्यसको जिम्मेवारी त्यहिँ व्यक्तिको हो।'

मन्त्री मगरले तत्कालिन सचिव गजेन्द्र ठाकुरसहित फिल्डमा गएपछि पानी आउने मितिबारे भनिएको तर विविध कारणले त्यसो गर्न असफल भइएको बताइन।

मन्त्री मगरलाई कांग्रेस सांसद डिला संग्रौला पन्तले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले कहिले खान पाउछन? भनेर प्रश्न गरेकी थिइन। मन्त्री मगरले भने नयाँ मितिबारे कुनै कुरा भनिनन्। त्यसपछि पुरक प्रश्नका रूपमा पाँच सांसदले प्रश्न सोधेका थिए।

मेलम्चीका लागि दुई विकल्प

मन्त्री मगरले ठेकेदार कम्पनी काम छोडेर गएको अवस्थामा मन्त्रालयले दुई विकल्पमा काम गरिरहेको बताइन। इटालियन ठेकेदार कम्पनी सिएमसीलाई फर्काउन पहल भइरहेको र अर्कोतर्फ रिटेन्डर प्रणालीबाट अगाडि बढाउने रहेको जानकारी दिइन।

मन्त्री मगरले सिएमसी आउदा फाइदा रहेको बताइन। उनले भनिन, 'नेपाली भेन्डरको समस्या हल गर्न सक्छौँ। नयाँ कम्पनी आउनेभन्दा छिटो पानी ल्याउन सक्छौँ। विधिसम्मत ढंगले ठेक्का को मान्यताभित्र रहेर सिएमसी आउछ भने सरकार स्वागत गर्न तयार रहेको छ। यसको तयारी गरिरहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.