|

काठमाडौं : मंसिर कृष्ण पक्षको चतुर्दशीका दिन बिहान मृगस्थलीमा सत्बीज छरेर बाला चतुर्दशी पर्व मनाइएको छ। शतबिज छर्नका लागि पशुपतिनाथ मन्दिर लगायत देशभरका देवालयमा भक्तजनको भीड लागको छ।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सतबीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। शतबीज सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा पनि शास्त्रीय रुपमा नमिल्ने उनले बताए। धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता भएको समितिको भनाइ छ।

सतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ। यसैगरी सतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन्।

यसअघि त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको संकल्पसहित दीपदान गरेका थिए। यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ। आइतबार राति पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्ने व्यवस्था मिलाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.