|

सुर्खेत : सुर्खेतको लेकबेसी नगरपालिका-१ काप्रे खोलामा रहेको बस्तीमा  राउटे समुदायका एक बालक उपेन्द्र शाही मोटरसाइकलमा चढेर हुटुटु भन्दै मोटरसाइकल चढेको अभिनय गरिरहेका थिए। उनले बाइकको सिसामा राखेको हेल्मेट लगाए र मुखले हुटुटु भन्दै चलाएको अभिनय पनि गरे।

मोटरसाइकल चालक आएर ‘के गरेको मोटरसाइकल चलाउन आउँछ?’ भनेर प्रश्न गरे। ‘नाइँ चलाउन आउँदैन,’ उपेन्द्रले जवाफ दिए। ‘मलाई मोटरसाइकल चलाउन मन छ, सिकाइदेऊ न’ उपेन्द्रको आग्रहमा मोटरसाइकल चालकले भने, ‘मसँग हिँड सिकाइदिन्छु।’ उनले भने, ‘मुखियाले जान दिन्नन्।’

कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा फिरन्ते रूपमा बसाइँ गर्दै आएका राउटेहरूमा पनि अहिले आधुनिकताको प्रभाव पर्न थालेको छ। कसैसँग नबोल्ने राउटे समुदायका केटाकेटी अहिले जोसँग पनि बोल्ने गरेका छन्। पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदाय अहिले पैसाबिना जीवन धान्न नसक्ने अवस्थामा छन्। विगतमा राउटे बालबालिकालाई नाम सोध्दा पैसा माग्ने, फोटो खिच्दा पैसा माग्ने गर्थे। नदिए जिद्दी पनि गर्थे। तर अहिले उनीहरू आफ्नो नाम बताउन हिच्किचाउँदैनन्। तस्विर खिच्दा पनि पैसा देऊ भनी मागे पनि पहिले जस्तो जिद्दी भने गरेको देखिएन।

ड्राइभर वा डाक्टर बन्ने धोको

अहिले राउटे समुदायका बालबालिका पनि भविष्यमा डाक्टर र ड्राइभर बन्ने सपना देख्न थालेका छन्। राउटे बस्तीका बालबालिका अहिले गोलो घेरामा बसेर अनौपचारिक रूपमा भए पनि कखरा, वान, टु सिकिरहेका देख्न सकिन्छ। यस्तै समूहमा पढिरहेका राउटे बालक विर्ख शाहीले पढेपछि ड्राइभर वा डाक्टर बन्न सकिने बताए। ‘हामीले धेरै पढयौँ भने ड्राइभर, डाक्ट बन्न सक्छौँ,’ उनले थपे, ‘मुखियाले पढ्न दिँदैनन्।’ डाक्टर ड्राइभर बन्ने भने पनि राउटे बालबालिकाहरूलाई पढ्न रहर भने देखिएन। उपेन्द्रले भने, ‘ मलाई पढ्न मन छैन,’ उनले भने, तर धेरै पढे हामी पनि   डाक्टर बन्न सक्छौँ।’

राउटे समुदायका  बालबालिका आफैँ पढ्न भने तम्सिएका होइनन्। सामाजिक सेवा केन्द्र सोसेक नामक गैरसरकारी संस्थाको राउटे परियोजनाअन्तर्गत खटिएका कर्मचारीले उनीहरूलाई समाजअनुसार बदल्न राउटे बालबालिकालाई विभिन्न जुक्ति लगाएर पढ्न र अन्य खेल खेलाएर उनीहरूको चेतनास्तर बढाउन लागिपरेका छन्।

खेलबाट रमाए राउटे बालबालिका

राउटे बालबालिका अहिले कखरा सिक्न थाले पनि उनीहरूका बुबा आमा भने पढ्न लेख्न नहुने भन्दै आएका छन्। तर मोबाइलमा गीत हेर्न पाइने लोभले राउटे बालबालिका कखरा सिक्न थालेका हुन्। उनीहरूलाई कखरा सँगसँगै विभिन्न खेलहरू समेत खेल्न सिकाइएको छ। एउटा घेरा बनाएर उनीहरू खेल खेलिरहेका थिए। घेराभित्र रहेकोले मामाघर जान्छु वा अन्‍त कतै जान्छु भनेमा घेराभन्दा बाहिर जान नदिने तर पढ्न जान्छु भनेमा घेराबाहिर जान दिने नियम त्यो खेलको थियो।

यस्तै, उनीहरू काठबाट बनाइएको गोलो बल, काठबाटै बनाइएको ब्याटबाट क्रिकेट खेलिरहेका थिए। खेल नियममा नभए पनि राउटे बालबालिकाहरू यो खेलबाट रमाइरहेका देखिन्थे। राउटे बालक  टेकबहादुर शाहीले आजभोली हरेक दिन खेल खेल्ने गरेको बताए। ‘मास्टर्नी आएपछि सिकेका हौँ।’ उनले भने ‘खेल खेल्दा राम्रो लाग्छ।’

रूपान्तरणमा आशावादी

सोसेकका राउटे परियोजनाका कर्मचारी दुर्गा खत्री र लालबहादुर खत्रीले आफूहरू केही आशावादी भएको बताए। राउटे बालबालिकाको स्वभाव तथा आनीबानीमा केही भए पनि परिवर्तन ल्याउन सकिएको दुर्गा खत्रीको अनुभव छ। ‘विगत नौ महिनायता राउटे बालबालिकाले नुहाउन सिकेका छन्, साथै आफनो नाम भन्न थालेका छन्’, उनले भनिन्, ‘जथाभावी पैसा माग्नु हुन्न भन्ने पनि सिक्न थालेका छन्।’

खत्रीकाअनुसार विगतको तुलनामा राउटे बालबालिका विभिन्न गित संगीत सुन्न र गाउन थालेका छन्। ‘पहिलेको तुलनमा राउटेहरूको घर पनि सुधार भएको छ,’ उनले भनिन्, ‘बाहिरी रूपमा उस्तै देखिए पनि अहिले राउटेहरू भित्र हरेक दिन लिपपोत गर्न थालेका छन्।’

 जथाभावी बाँडिने राहतले चुनौती

राउटे बस्तीमै बसिरहेका राउटे परियोजनाका लालबहादुर खत्रीले राउटेलाई सुधार गर्न चुनौती रहेको बताए। उनका अनुसार राउटेलाई सुधार गर्न उनीहरूलाई जथाभावी राहत बाँडने काम बन्द गर्नुपर्छ। ‘अहिले राउटेमा यहीँ अवस्थामा रहेको खण्डमा मात्रै राहत पाउने नत्र नपाउने धारणा व्यापक छ,’ उनले भने, ‘यो सोचाइलाई परिवर्तन गर्न सके उनीहरूलाई रुपान्तरण गर्न सकिन्छ।’ उनले थपे, ‘राहात दिए पनि खाने कुरा बाहेक अरु नदिँदा हुन्छ।’

यो हिउँदको चिसोको लागि भनेर दाताले दिएका ४२ वटा फाइबर सिरक उनीहरूले घरभित्र नराख्ने भनेर सबै बिक्री गरेछन्। यस्तै यसअघि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेका महँगा कोट राउटेहरूले एक हजारमा बेचेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.