|

झापा (दमक) : सरकारी स्रोतबाट रकम नपाएपछि चुलाचुली-५ बुकुवास्थित भानु माविमा शिक्षकहरूले निजी खर्चमा विद्यार्थीलाई खाजा खुवाउन थालेका छन्।

विद्यार्थीलाई खाजा खुवाउने रकम सरकारी निकायबाट प्राप्त नभएको तर खाजा खुवाउन आवश्यक भएकाले शिक्षकमार्फत नै उपलब्ध गराउन थालिएको विद्यालयका प्रधानाध्यापक रघुनाथ मिश्रले बताए। अधिकांश विपन्न समुदायका विद्यार्थी पठनपाठन गर्ने विद्यालयमा सरकारी निकायबाट पर्याप्त सुविधा उपलब्ध नहुँदा शिक्षकहरूकै प्रयासबाट गुणस्तर सुधारको काम भइरहेको उनको भनाइ छ।

विद्यालयको साना कक्षामा अध्ययन गर्ने विद्यार्थी दिउँसो भोक लागेपछि घर जाने र पठनपाठनमा समेत समस्या हुने भएपछि खाजा खुवाउन थालिएको विद्यालयकी शिक्षक बिमला भण्डारीले बताइन्। कक्षा नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थीलाई दिउँसो शिक्षकहरूकै खर्चमा खाजा उपलब्ध गराउन थालिएको उनको भनाइ छ।

पढाइ छोड्ने क्रम रोकियो

विद्यालयका शिक्षकहरूमार्फत रकम जम्मा गरि खाजाका लागि कोष बनाइएको छ। सोही कोषको रकममार्फत गत पुष दोश्रो सातादेखि खाजा उपलब्ध गराउँदै आएको शिक्षक धनमायाँ गड्तौलाले बताइन्। खाजा उपलब्ध गराउन थालेपछि विद्यार्थी कक्षा नै छोडेर खाजा खान घर जाने क्रम रोकिएको छ।

सरकारी निकायबाट यसबापतको रकम प्राप्त हुने हो भने सबै विद्यार्थीलाई खाजा उपलब्ध गराउन सकिएने प्रअ मिश्रले बताए। विद्यालयको समग्र गुणस्तर सुधारका लागि विभिन्न निकायमा समेत आग्रह गर्दै आएको उनले बताए। स्थानीय सरकारका साथै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई समेत भेटेर विद्यालयको समग्र अवस्था सुधारका लागि ध्यानाकर्षण गराएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.