सामाजिक प्रतिष्ठा सहितको व्यावसायिक पहिचान

|

काठमाडौं :  नेपालको औद्योगिक घरानामा चौथो पुस्ताको सदस्य हुन् अभिमन्यु गोल्छा। औद्योगिक जग बसाल्ने रामलाल गोल्छाका पनाति अभिमन्युले पछिल्लो १८ महिनादेखि गोल्छा अर्गनाइजेसनमा डाइरेक्टरको जिम्मेवारी लिएका छन्। 

चार पुस्ता अघिदेखिको व्यसयालाई थप सशक्त र मर्यादित बनाउनु अभिमन्यु आफ्नो अभिभारा सम्झन्छ। उनी भन्छन्, 'बिजनेस नाफा मात्रै हैन सामाजिक प्रतिष्ठा सहितको व्यवसाय मेरो सोच हो। मेरो बुबा, हजुर बुबाले पनि यो विषयलाई मनन गरेकै कारण हामी यो स्थानमा रहेका छौँ।'

ठूला घरानामा रहेका छोराछोरी मात्रै हैन ऋण-धन गरेर विदेश पढ्न पठाउनेहरूको लर्को नेपालमा छ। नेपालमै पनि शिक्षाको गुणस्तर बढ्दै गएको बुझाइ अभिमन्युको छ। शिक्षित जनशक्ति राखेर उनीकोहरू इनभोसनकाे काममा लगाउनुपर्ने उनी बताउँछन्।


'देशमा रोजगारी बढाउन ठूला अर्गनाइजेसनबाट आस गरिएको हुन्छ, यसलाई यथार्थमा बदल्न मेरो हरदम प्रयास हुन्छ' अभिमन्युले थाहासँग भने, 'नयाँ पुस्ताले शिक्षित जनशक्ति रोक्न ध्यान दिनुपर्छ, जति सक्यो धेरै शिक्षित जनशक्ति रोक्ने मेरो सपना हो।' २५ वर्षे अभिमन्युको वाककटुता पनि गजब छ। बाबु शेखर गोल्छाबाट उनी प्रभावित छन्।

 

अभिमन्युको केही वर्ष अघिसम्मको सोच नेपालमा बस्ने र परिवारको बिँडो थाम्ने थिएन। नत उनको बुबा-आमाले ‘नेपालमै बस्नुपर्छ है’ भनेका थिए। कक्षा १० सम्म काठमाडौंको रातो बंगलामा पढेका अभिमन्यु स्‍नातक भारतमा र  अमेरिकामा पुगेर मेकानिकल इन्जिनियर पढे। सँगै पढेका दौँतरीहरूको सपनासँग उनको पनि कुरा मिल्थ्यो (त्यति बेला), राम्रो कम्पनीमा जागिर खाने ।

‘म त नेपाल आउने सोच पनि बनाएको थिइनँ, अमेरिकाको रहनसहन राम्रो पनि थियो’ अभिमन्यु भन्छन्। मात्रै यति थियो कि उनी जागिर गर्ने सोच भने गाडी कम्पनीमा नै थियो किनकि उनी बाइक तथा गाडीका सोखिन पनि थिए। उनले अटोमोटिभ्स कम्पनीमा जागिर  गर्ने सोच पालेका अभिमन्यु केही कम्पनीमा आवेदन पनि दिए। 

उनी जतिपटक बिदामा घरमा आउँथे त्यतिबेला अमेरिकामै बस्नुपर्छ भन्ने सोच कमजोर बन्दै जान थाल्यो अभिमन्यु भन्छन्, 'अमेरिमा मेकानिकल इन्जिनियर पढ्दै थिएँ, बिदामा यता आउँदा यतै बसौँ जस्तो र उता जाँदा उतै बस्नुपर्छ जस्तो भयो।'

अन्ततः उनले नेपालमा तीन दर्जन बढी कम्पनी परिवारको स्वामित्वमा रहने तर आफू भने अमेरिकामा जागिरे बनेर बस्ने सोचाइ गलत रहेको महसुस गरे र नेपाल फर्किए। 

 

अभिमन्यु सन् २०१५ मा  नेपाल फर्किए। पारिवारिक व्यवसाय सम्हाल्ने कुरा हुन थाल्यो। त्यतिबेला भने उनका दौँतरीहरूले भन्ने गरेको वाक्य उनले सम्झिए ‘तिमी त व्यापारिक घरानाको मान्छे पढेर सक्नेबित्तिकै स्थापित व्यवसायमा जोडिन पाउँछौ।’ उनलाई व्यवसायमा जोडिनु नयाँ कुरा थिएन त्यो व्यवसायमा आफ्नो भूमिका देखाउनु महत्त्वपूर्ण थियो।

व्यवसाय सम्हाल्नुअघि कर्मचारीलाई उचित जिम्मेवारी दिने र उचित काम लिनु कुशल व्यवस्थापक भूमिका रहेको उनको बुझाइ छ। जागिर गर्दा कर्मचारीलाई कसरी बुझ्ने?  कर्मचारी र मालिकबीच कस्तो सम्बन्ध राख्ने?  बजार व्यवस्थापन कसरी गर्ने? यी विषय उनी जान्न चाहन्थे। यही व्यावहारिक शिक्षा लिने उनी नेपालको जस्तो वर्किङ कल्चर भएको देश भारत पसे जहाँ नेपाली पनि पर्याप्त थिए।

भारतमा अभिमन्युले  सामुसङ कम्पनीमा प्रोडक्ट डिजाइनरको भूमिकामा एक वर्ष काम गरे। त्यसपछि एक वर्ष बजाज कम्पनीमा काम गरे। बजाज कम्पनीमा भने उनको पोस्ट पनि थिएन ट्रेनिङको रूपमा काम गरेका थिए। प्रोडक्सन, अप्रेसन,  मार्केटिङ विभागमा सहयोगकीको रूपमा काम गर्ने अवसर पाए। 
‘दुई वर्षको अनुभवले कम्पनी चलाउन सहज भएको छ’ अभिमन्यु भन्छन् ‘सिधै कम्पनीको डाइरेक्टर भएको भए कर्मचारीलाई बुझ्न समस्या पर्थ्यो'।


अभिमन्यु बजाज थ्री ह्विलर्स, मोटरसाइकल, युरोग्रिप टायरको व्यवसाय हेरिरहेका छन्। उनकै सोचाइमा युरोग्रिप टायर आयात गरिएको ६ महिना भयो यो बीचमा २४ वटा डिलरमार्फत बिक्री गर्न थालिएको बताए। उनको मुख्य ध्यान भने थ्री ह्विलर्समा छ। 'बसको यात्रा हामीले गर्छौं, बसबाट झरेपछि गन्तव्यमा जान थ्री वीलर्सको आवश्यकता पर्छ यो आवश्यकता पूर्ति गर्ने हो' उनी भन्छन्, 'हामीले १२ हजार थ्री ह्विलर्स मात्रै हैन १२ हजार रोजगारी पनि बेचेका छौँ'।
व्यवसायमा जम्दै गरेका अभिमन्यु विदेशको तुलनामा नेेपालको ब्याजदर निकै महँगो हुने र ब्याजदर नै चुनौतीपूर्ण हुने गरेको बताउँछन्।

व्यवसायमा अझै सिस्टम बस्नन नसक्दा स्टाटपको लागि भने अवसर भएको उनको बुझाइ छ। अभिमन्युले भने, 'सिस्टम बसेका ठाउँमा पुरानोहरूले मात्रै धेरै अवसर भएको हुन्छ तर नेपालमा नयाँको लागि पनि अवसर रहेको छ।’ 

उनी आत्म विश्वाससँगै बिजनेस बढाउने योजनामा छन्। व्यापार असन्तुलन कम गर्न आफू र आफ्नो परिवारको भूमिका बढाउने योजना बोकेको उनी सुनाउँछन्। 'नेपालमा धेरै व्यापार हुनेमध्ये मोटरसाइकल पनि हो हामीले कपिलवस्तु मोटरसाइककाे प्लान्ट स्थापना गरिसकेका छौँ' अभिमन्यु भन्छन्, 'कच्चा पदार्थ आयात र बनिबनाउ सामग्री आयातमा राज्यको भूमिका एउटै हुनुभएन तर हामी जस्ता ठूलो अर्गनाइजेसनले व्यापार असन्तुलन कम गर्ने योजना बनाएर अघि बढ्नुपर्छ।' उनले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रमा व्यवसाय विस्तार गर्ने योजनामा रहेको समेत सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.