|

भक्तपुर : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कृषिमा आधारित उद्योग विकासविना मुलुक समृद्ध हुन नसक्ने बताए। 

भक्तपुरको गठ्ठाघरस्थित भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि उत्पादकत्व वृद्धिमा जोड दिए। कृषिमा आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण नै समृद्धिको मुख्य आधार भएको भन्दै उनले कृषि उत्पादकत्व वृद्धि गर्न विज्ञान प्रविधिको प्रचुर प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनले कृषि उत्पादनलाई व्यावसायीकरण गर्दै उत्पादक र उपभोक्ताको दुरी घटाई उत्पादन बढाउने विषय महत्वपूर्ण रहेकाले कृषिलाई उद्योग र व्यवसायको रूपमा विकास गर्नु जरुरी रहेको बताए। उनले शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर कृषि उत्पादनलाई गुणात्मक ढंगले वृद्धि गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताए।

कृषिमा आधारित बजेट नाम मात्रैको हुने गरेको भन्दै उनले कृषिमा आधारित उद्योगको विकास र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाको लागि लगानी अनुदान नबढाएसम्म देशलाई सम्मृद्ध बनाउने सपना पूरा हुन नसक्ने बताए। शिक्षा नीति प्रविधिमैत्री र उत्पादनमुखी नभएका कारण वेरोजगार उत्पादन गर्ने काम मात्रै भएको भन्दै उनले प्रविधिमैत्री शिक्षा नीतिमा जोड दिए। उनले विदेशिने युवालाई मुलुकभित्रै उत्पादनमुखी कार्यमा लगाउने हो भने शिक्षामा आमूल परिर्वतन अत्यावश्यक रहेको बताए।

प्रविधि मैत्री, जीवन उपयोगी शिक्षा नीति नभएका कारण उच्च शिक्षा आर्जन गरेपछि विदेश नै जाने प्रवृति देखिएको भन्दै उनले कृषि क्षेत्रमा रहेको प्रचुर संभावनालाई मध्यनजर गर्दे विदेश जान भन्दा गाउमै बसेर श्रृजनात्मक काम गर्न युवालाई आग्रह गरे।

उनले स्वदेशको संभाव्यता नहेरी विदेशीनेको जमात देखेर आफैँ कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको बताए। 'कहिले काहिँ त म परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ। यो सबै छोडेर आफै खेती गर्न हिँडु कि भन्या जस्तो पनि हुन्छ', अध्यक्ष दाहालले भने,  'सुनको टुक्रा हामीसँगै छ। हामीसँग जति प्राकृतिक साधन स्रोत अन्त कतै पनि छैन। फेरि हामी नै गरिब। कही न कही हाम्रो सोचमा परिवर्तन ल्याउनु जरुरी छ। यसको नेतृत्व राज्यले नै गर्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.