|

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रदेश सरकार, स्थानीय सरकार र जनप्रतिनिधिको कामको समीक्षा आज तेस्रो दिन पनि जारी राखेको छ। जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको केन्द्रीय अध्यक्ष मण्डलले प्रदेश २ का मन्त्री, प्रदेश सांसद, स्थानीय तहका प्रमुख र जिल्ला तहका पार्टी नेतृत्वकर्तासँग पार्टीको समीक्षा थालेको हो।

राजपाका केन्द्रीय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं समन्वय समिति सदस्य सहभागी बैठकमा प्रदेश सरकारको समीक्षा गर्दै छन्। शुक्रबार पहिलो सत्रमा प्रदेश सरकारको काम, फोरमसँगको गठबन्धन र संघीय सरकारको तर्फबाट भएको व्यवहार र दोस्रो सत्रमा प्रदेश सांसदहरूसँग छलफल गरेका छन्। अध्यक्ष मण्डल र प्रदेश २ को सरकारको अवस्था, पार्टीको नीति र अनुभव समीक्षा गर्न जनकपुरमा बैठक बसेको राजपा अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले बताए। 

प्रदेश सरकारको गठबन्धन, सरकारको काम कारबाही, पार्टीबाट सरकारमा सहभागी मन्त्रीको अनुभव र समस्याबारे छलफल भएको छ, यादवले भने, ‘पार्टीको नीति र भविष्य कसरी अगाडि बढाउने विषयमा ३ दिनको छलफल केन्द्रित रहनेछ।’ प्रदेश, पार्टी, संगठन र प्रदेश सरकारको सर्वांगीण विकासका लागि राजपा अध्यक्ष मण्डल र प्रदेशका मन्त्रीहरुबीच बैठकको निर्णय अन्तिम दिन सार्वजनिक गरिने यादवले बताए।

बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर संघीय सरकारको असहयोगले प्रदेश सरकार जनताको पक्षमा काम गर्न भएको समस्या र पार्टीको आसन्न अधिवेशनका लागि जनकपुरधाममा केन्द्रीय समितिको आयोजनामा बैठक जारी रहेको बताए।

संघीयताको नयाँ अभ्यासमा प्रदेशलाई अधिकार, बजेट प्रयाप्त नहुँदा प्रदेश सरकार काम गर्न सकेको छैन, उनले भने, ‘केन्द्रलाई बढी अधिकार दिने कानुन आएको छ। केन्द्रिकृत मानसिंकताले गाउँमा आएको सिंहदरवार सहुलियत दिनुभन्दा पनि सिंहदरबारले कब्जा जमाएको छ।’

राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले संघीय र प्रदेश सरकारको व्यवहार समीक्षा गर्न केन्द्रीय बैठक बोलाइएको बताए। बैठकले पार्टीको महाधिवेशनको अधारसमेत तयार हुने उनले जानकारी दिए। बैठकमा प्रदेश २ का भौतिक विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झा सहित राजपका प्रदेश सांसदहरु सहभागी थिए।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपा गठबधन सरकार छ। राजपाले ३ मन्त्रलाय पाएको छ। प्रदेश २ मा राजपाको २५ सांसद छन्। प्रदेश २ को बैठकपछि राजपाले प्रदेश नं. १, प्रदेश नं. ५ र प्रदेश नं. ७ मा प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला तहका नेतृत्वसँग छलफल गर्ने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.