बादलको नजरमा मुलुकसामू रहेका चार सुरक्षा चुनौती

|
तस्वीर : चन्द्रकला क्षेत्री/रासस

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले संविधान विरोधी शक्ति र राज्य विरोधी शक्तिका रूपमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहले मुलुकका २१ जिल्लामा बम विस्फोट र टेलिफोन सेवा प्रदायक संस्था एनसेलका टावरमाथि आगजनी गराएको बताए।

प्रतिनिधिसभाकाे राज्यव्यवस्था तथा सुशासन समितिमा फागुन १० र ११ गते मुलुकका विभिन्न ठाउँमा भएका बम विस्फोट र आगजनीबारे जानकारी दिँदै उक्त घटनामा विप्लवकाे पार्टीको संलग्नता रहेको अनुसन्धानले देखाएको गृहमन्त्रीले जानकारी दिएका हुन। उनले भने, 'संविधान र राज्यविराेधी समूह, विप्लव नेतृत्वको नेकपाकाे संलग्नता रहेको पाइएकाे छ। जिम्मेवारी कसैले पनि लिएको छैन।' 

गृहमन्त्रीले अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा विप्लवले समानान्तर सत्ताको अभ्यास गर्ने क्रममा उक्त विस्फोट गराएको बताए। उनले भने, 'विप्लवको नजरमा वर्तमान सत्ता जनविरोधी हो, त्यसकारण यो सत्ता उल्टाउनको निम्ती समानान्तर सत्ताको अभ्यास गर्ने क्रममा विस्फोट गरेको बुझिन आएको छ।'

विगतमा पनि विप्लव नेतृत्वको समूहले बम विस्फोट गराएकाे उल्लेख गर्दै गृहमन्त्री थापाले भने, 'हामीलाई प्राप्त सूचनाअनुसार विप्लवकाे नेकपाकाे भर्खरै बसेकाे बैठकले विस्फोटको निर्णय गरेकाे र साेहीबमाेजिम विस्फोट र आगजनी गरिएको हाे।' उनले याे विस्फाेटलाई राज्य र जनताविराेधी शक्तिले गराएकाे बताए। उनले विप्लव राज्य र संविधानविरोधी तत्व भएको र उसले नै विस्फोट गराएको बताए।

गृहमन्त्रीले १० र ११ गते सुदूरपश्चिम प्रदेशका दुई, कर्णाली प्रदेशकाे एक, प्रदेश ५ काे पाँच, प्रदेश चारकाे सात, प्रदेश ३ काे पाँच, प्रदेश १ काे एक जिल्लामा गरी २१ जिल्लामा रहेका एनसेलका टेलिफोन टावरमाथि आगजनी र बम विस्फोट गरिएको जानकारी दिए। ललितपुरकाे नक्खुमा एकजनाकाे मृत्यु र दुईजना घाइते भएको गृहमन्त्रीले जानकारी दिए। उक्त विस्फोटमा संलग्नकाे पहिचान भएको र १६ जना पक्राउ गरिएको पनि उनले जानकारी दिए।

गृहमन्त्रीले घाइतेको उपचार सरकारले गर्ने र मृतकलाई राहत दिने बताए। उनले नक्खुमा भएको विस्फोटमा टाइम बम प्रयोग गरिएको अनुसन्धानबाट खुलेको बताए।

गृहमन्त्री थापाले विगतमा पक्राउ परेका व्यक्तिलाई छाेड्नुपरेकाले विप्लवसमूहको हाैसला बढेको बताए। उनले अब त्यस्ता व्यक्तिलाई निस्तेज र नियन्त्रण गर्नुपर्ने धारणा राखे।

चार सुरक्षा चुनाैती

गृहमन्त्री थापाले चार काेणबाट मुलुकमा सुरक्षा चुनाैती रहेको बताए। पहिलो चुनौती भनेको पृथकतावादी शक्ति रहेको गृहमन्त्रीको दाबी थियो। उनले यो शक्ति कुन हो भनेर स्पष्ट नभने पनि स्वतन्त्र मधेसको माग गरिरहेको सिके राउत समूहतर्फ इंगित थियो। त्यसैगरी दोस्रो चुनौतीका रूपमा संविधानविराेधी शक्ति रहेको मन्त्री थापाको भनाइ थियो। उनले यो चुनौती भनेको विप्लव नेतृत्वको नेकपा रहेको इंगित गरेका थिए। तेस्रो शान्ति सुरक्षाका लागि चुनौती भनेको सामाजिक अपराधी रहेको उनको दाबी थियो। उनले यी तीन शक्तिलाई नियन्त्रण र निस्तेज गर्न सरकार लागिपरहेको र सक्षम रहेको बताए। उनले यी शक्तिलाई विगतमा पक्राउ गर्ने र छोड्ने गर्दा उनीहरूलाई हौँसला मिलेको पनि बताए। 

गृहमन्त्री थापाले यी शक्तिहरूलाई बाहिरबाट समर्थन मिलेको पनि बताए। सिके राउतलगायत नेकपाका नेता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गर्दा पश्चिमा शक्ति र आन्तरिक रूपमा केही मानवअधिकारवादीले विरोध जनाएका थिए। त्यसक्रममा केही राजनीतिक दलहरूले पनि उनीहरूको पक्राउको विरोध गरेका थिए। गृहमन्त्रीले यस्तै गतिविधिलाई इंगित गरेका थिए।

नेपालको शान्ति सुरक्षाको चौथो चुनौतीको रूपमा सरकारविराेधी शक्ति रहेको मन्त्री थापाको भनाइ थियो। उनले यो विषयलाई राजनीतिक तवरबाट पार लगाउनुपर्ने धारणा राखे। यो तत्वले भने सरकारका विरुद्धमा अनावश्यक अफवाह फैलाउने गरेकाले यसलाई राजनीतिक संवादको माध्यमबाट समाधान गर्ने नीति लिइएको गृहमन्त्रीको धारणा थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.