दमक, झापा : जिल्लाको कमल गाउँपालिका १ बाह्रबिघेका महिलाहरू जैविक खेतीमार्फत ‘अर्गानिक भिलेज’ बनाउन जुटेका छन्। खेतबारीमा रसायनिक बिषादी र मललाई विस्थापित गरी क्रमिक रुपमा गाउँलाई नै अर्गानिक बनाउने उनीहरूको लक्ष्य छ। उनीहरूले २ वर्षदेखि यही लक्ष्यलाई पछ्याएका छन्।
महिलाको अग्रसरतामा गठित बाह्रबिघे कृषि समूहका कुनै पनि सदस्य परिवारले खेती गर्दा अचेल रसायनिक मल र बिषादीको प्रयोग गर्दैनन्। समूहकी अध्यक्ष अम्बिका उप्रेतीका अनुसार किसानले जैविक मल र बिषादी बनाउने तालिम समेत लिएका छन्। तालिममा लिएको ज्ञानलाई व्यवभारमा अनुशरण गरेर गाउँलाई नै अर्गानिक भिलेज बनाउने लक्ष्य रहेको उनको भनाई छ। ‘छोरो मान्छे त अरु कामका लागि पनि बाहिर जानु हुन्छ। तर हामी घरमा हुने महिलाहरूले नै खेतीमा बढी समय दिने भएकाले जैविक मल र बिषादी मात्रै प्रयोग गर्न थालेका छौं’, उनले भनिन्, ‘हामी फलाउनेले कुरो बुझ्यौं भने अब उपभोक्ताहरूले पनि कुरो बुझ्न थाल्नु हुन्छ होला भन्ने लागेको छ।’
गाउँपालिकाबाट आइपीएम तालिम तथा जैविक मल र बिषादी बनाउन तालिम लिएपछि अर्गानिकतर्फ रुची बढेको समुहका सचिव लोकप्रसाद पाण्डेले बताए।अर्गानिक खेती गर्दा केही कम उत्पादन भए पनि स्वस्थकर हुने भएकाले क्रमश अन्य किसानको पनि यसतर्फ आकर्षण बढेको उनले बताए। बाह्रबिघे मात्रै होइन, गाउँपालिकामा रहेका अरु कृषक समूहहरूले पनि जैविक तथा अर्गानिक खेतीलाई प्रोत्साहन गरेका छन्।
रसायनिकतर्फ वितृष्णा
गाउँपालिकामा ७२ वटा कृषक समूह मध्ये १५ वटा समूहले पूर्ण रूपमा विषादीमुक्त खेती गर्दै आएको गाउँपालिका, कृषि शाखाले जनाएको छ। बाँके कृषक समूहका सदस्यहरूले पनि क्रमिक रुपमा अर्गानिक र जैविक खेती गर्ने क्रम बढाएको गाउँपालिकाका कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलले जानकारी दिए।गाउँपालिकामा विषादीमुक्त खेती गर्न आइपीएम कृषि सहकारीले सहजीकरण गर्दै आएको छ। जैविक तथा अर्गानिक खेती प्रशिक्षणका सहजकर्ता टंकप्रसाद कट्टेलका अनुसार किसानलाई प्रांगारिक मल र जैविक विषादी सहकारीले उपलब्ध गराउँदै आएको छ।
रसायनिक मल र विषादीले छिटो, राम्रो र धेरै उत्पादन दिए पनि स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नहुने थाह पाए पछि जैविक खेती गर्न थालेको कमल ६ की किसान लक्ष्मीदेवी आचार्यले बताइन्। उनले भनिन्, 'सवै कुरा पैसा मात्रै होइन। खेती गर्ने किसान र खाने उपभोक्ताको स्वास्थ्यनै खराव भयो भने पैसाको के काम र। त्यसैले क्रमिक रुपमा हामीले पनि रसायनिक मल र बिषादीको प्रयोग हटाउँदै लगेका छौं।’
नीतिगत व्यवस्था
गाउँपालिकाले क्रमिक रुपमा गाउँबाटै रसायनिक मल र बिषादीको प्रयोग शून्यमा पुर्याउने लक्ष्य लिएको छ। यसका लागि प्रत्येक वर्ष बजेटमा नै व्यवस्था गरेर जैविक तथा अर्गानिक खेतीलाई प्राथमिकता दिईएको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए। पहिलो चरणमा किसानलाई जैविक र अर्गानिक उत्पादनमा प्रोत्साहन गर्ने र उत्पादन बढी हुन थालेपछि त उपजको बजारीकरणका लागि पनि सहयोग गर्ने नीति बनाइएको उनले बताए।
विषादमुक्त खेतीतर्फलाई प्रोत्साहन गर्न गाउँपालिकाले चालु वर्षमा १५ लाख विनियोजन गरेको छ। यस्तै गाउँपालिकाका किसानलाई प्रांगारिक मलको प्रयोग, मल बनाउने विधि, यसबाट हुने फाइदालगायतका बारेमा सहकारीले तालिम पनि दिने गरेको छ। सुरुवाती अवस्थामा किसानलाई मल र जैविक विषादी पनि सहकारीले निःशुल्क वितरण गर्ने गरेको छ।
प्रशिक्षण र प्रविधि
किसानलाई जैविक मल तथा विषादी उत्पादनका लागि समेत गाउँपालिकाले तालिम दिँदै आएको छ। गाउँपालिकाबाट तालिम लिएका किसानले हाल आँफै बिभिन्न प्रकारका रसायनिक मल र विषादी प्रयोग गरि रहेका छन्। ‘जैविक मल र विषादी आर्थिक र स्वास्थ्य दुवै दृष्टिकोणबाट उपयुक्त पाइयो’ गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्, ‘जैविक मल र विषादी स्थानीय स्राेत साधनबाटै बनाउन सकिने भएकाले रसायनिक मललाई हुने खर्च बाहिर गएन। यस्तै किसान र उपभोक्ताको स्वास्थ्यमा पनि यसले फाइदा गरेको पाइयो।’ यस्तै मल्चिङ् प्रविधिबाट खेती गर्न किसानलाई प्लाष्टिक तथा आवश्यक प्रविधि समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।