विचार

‘जब्बर बिरामीको जब्बर मुटु’
SHARES

फागुन १६, २०७५

    समय जति बलवान हुन्छ, मन त्योभन्दा बेगवान अनि शरीर निकै नै कमजोर। जबसम्म समय र मनको गतिलाई पकडमा राख्न सकिन्छ, शरीरले पनि सोचे जस्तो साथ दिन्छ, नत्र जिन्दगी नै अलपत्र।

    मैले यस पटक लेख्न लागेको विषय धेरैलाई नौलो नहुन पनि सक्ला। कतिपयलाई बिलकुलै नौलो। तर, मैले जीवनमा भोगेको सबैभन्दा नमिठो क्षण नसाटेसम्म मेरो यो ‘बिम्ब’ को यात्रा अधुरै रहन्छ। आखिर जीवन फुल मात्र होइन, काँडा पनि त हो। मेरा परिवार, मुख्यतः धर्मपत्नी मैले आफूलाई लागेका रोगका बारेमा कसैसँग कुरा गर्दा साह्रै चिन्तित बन्छिन्, चित्त दुखाउँछिन्। एक पटक फेरि उनको चित्त दुखाउँदै, त्यही प्रसङ्ग कोट्याउँदै छु। उनलाई लाग्दो रहेछ, आफूले भोगेका पीडा साट्दा अरूको नजरमा कमजोर भइन्छ कि? हेप्छन् कि? भन्ने। त्यसैले ऊ पीडाभन्दा सुख साट्न मन पराउँछिन्।

    म सान्त्वनाको थपथपाहटका लागि होइन, आफूले भोगेका पीडा फेरि अरूले कसैले भोग्न नपरोस् भनेर बेला–बेलामा यस्ता पीडालाई कोट्याउने गर्छु। यसले जिन्दगीप्रतिको असीम लगाव पनि झल्काउँछ नै। खाटा परेका घाउलाई पनि नियालेरै हेर्छु। मलाई यस्ता कुराले बाँच्ने ऊर्जा दिन्छ। जसरी मुर्झराउन लागेको विरुवालाई सूर्यको रापले नयाँ जीवन दिन्छ।

    छोरी जन्मिएको १० वर्षको अन्तरालमा पाएको छोरा २ वर्षको पनि नपुग्दा मैले जीवनमा रोगको सुनामी व्यहोरेँ। भाग्यमानी रहेछु, सकुशल उद्धार भयो। मानिसको मनमा जबसम्म मर्छु भन्ने भाव पलाउँदैन, तबसम्म काललाई पनि जित्न सकिँदो रहेछ। तर, जब बाँच्ने रहर सेलाउँदै जान्छ, संसारको कुनै पनि उपचार पद्धतिले उसलाई बचाउन सक्दैन।

    छोरी जन्मिएको १० वर्षको अन्तरालमा पाएको छोरा २ वर्षको पनि नपुग्दा मैले जीवनमा रोगको सुनामी व्यहोरेँ। भाग्यमानी रहेछु, सकुशल उद्धार भयो। मानिसको मनमा जबसम्म मर्छु भन्ने भाव पलाउँदैन, तबसम्म काललाई पनि जित्न सकिँदो रहेछ। तर, जब बाँच्ने रहर सेलाउँदै जान्छ, संसारको कुनै पनि उपचार पद्धतिले उसलाई बचाउन सक्दैन।

    २०६८ सालको मङ्सिरको आधा–आधासम्म जीवनमा मैले कुरुवाको रूपमा बाहेक कहिल्यै अस्पतालमा रात बिताउन परेको थिएन। पहिरो पनि कहाँ पूर्व सूचना दिएर आउँछ र? अनि भूकम्पको कम्पन पनि त्यसले निम्त्याएको विनाशपछि नै थाहा पत्ता लाग्ने त रहेछ।

    अहिले लाग्छ, त्यो बेला लागेन। मैले समय र मनको गतिमा समानता ल्याउन सकिन। आफैँले आफैँलाई कहिल्यै माया गर्न सकिन। नत्र उद्दण्ड जीवन बिताउने पनि थिइन होला। त्यसैले त जब पहिलो पटक अस्पताल पुगेँ, सिधै आइसीयुमा भर्ना भएँ। मेरो रोग नै कडा परेछ। केही महिनाअघि मात्र डाइबेटिजबाट ग्रस्त भएको रिपोर्ट पाएको थिएँ। पुर्खाको उपहार थियो, त्यो रोग। त्यसैले सामान्यरुपमा नै लिइयो। त्यसको केही वर्ष अघिदेखि ब्लड प्रेसरले सामान्य दुख दिएकै थियो। त्यो पनि पारिवारिक उपहारमा आएको रोग मानेर सहर्ष स्वीकार गरेँ। तर, एक दिन जब धर्मपत्नीले जब फोनमा नै आत्तिएर अस्पतालमा भर्ना हुन जान तयार भएर बस्नु! भनिन्, मन अलि अमिलो भयो।

    कुरा केही दिन अघिको थियो। रूखाखोकीले ग्रस्त हुँदा स्वर पनि भासिँदै गएको थियो। लगभग १०–१२ दिन त आज निको भइहाल्छ, भोलि निको भइहाल्छ भन्ने सोचाइमा दिन कटाइयो। हुन त त आफ्नै मामा डा. अवनीभूषण उपाध्याय नाम चलेका हृदय रोग विशेषज्ञ भए पनि छातिरोग विशेषज्ञ डा. रमेश चोखानीसँग पहिलो परामर्श गरियो।

    पारिवारिक इतिहास सुनेपछि उनले दमको आशंका गरे। केही औषधिका साथ इन्हेलर लिन सिफारिस गरे अनि केही परीक्षण गर्न सुझाव। म नै परेँ, जब्बर। मर्छु भन्ने डर भए पो। एक–दुई दिन खेर फालेपछि मात्रै परीक्षण गराएँ। रिपोर्ट लिन जान पनि ढिल–ढिलै गरेँ। जसले गर्दा रोगबाट मुक्ति पाउँदै पाइएन। अनि रिपोर्ट देखाउन नगएको रिसले आँखालाई आगो झैँ रातो बनाउँदै एक्लै रिपोर्टका झोला बोकेर पत्नी गइन्, डा. चोखानी कहाँ। खै के के बर्बराइन्, थाहा भएन। मलाई नै गाली गरेको हुनुपर्छ। मलाई आँखा तर्दै। आखिर माया भनेकै यस्तै हुँदो रहेछ। आँखाको कड्काइभित्र पनि लुक्न सक्ने, धारे हातमा पनि मुस्कुराउन सक्ने, ओठको बर्बराइमा पनि खित्का छाडेर हाँस्न सक्ने।

    ‘यो छातिको होइन, मुटुको समस्या हो, तुरुन्त डा. अवनीलाई भेटिहाल्नुस्,’ डा. चोखानीले थाहा पाइसकेका थिए अवनी मामासँगको मेरो नाता। डा. चोखानीको त्यो वचनले मेरो पत्नीको रिसको आगोले रातो बनेको आँखामा तत्कालै बादल मडारियो। उनको मप्रतिको स्‍नेह बाढीका रूपमा गालामा दौडिन थालेछन्। उ अलि बढी आत्तिन्छे पनि। अनि मलाई मेडिकेयर अस्पताल जान तयार भएर बस्न आदेश सुनाइ हालिन्, टेलिफोनबाटै। मैले आउँ! भनेँ। अनि आफैँ गाडी चलाएर पुगेँ मेडिकेयर।

    जब मेडिकेयर पुगेँ अवनीमामा केही दिनका लागि विदेश गएका रहेछन्। उनको सट्टा डा. रमणी वैद्यले मेरो इसिजी र इको परीक्षण गरिन्। अनि सिधै आइसीयुमा भर्ना पनि।

    मेरो परिवारमा बिरामीका चाङ नै छन्। डाक्टरी भाषा म अलिअलि भए पनि बुझ्छु। इको कार्डियोग्राम गर्दै डाक्टरहरूले गरेको कुराकानी सुन्दा मलाई कडै रोग लागेछ भन्ने अनुमान गरेँ। तर, मर्ने रोग नै लागे, जस्तो लागेन। आखिर हरेक कुराको दिन हुँदो रहेछ। मेरो निधारमा अल्पायुमै मर्ने लेखिएको रहेनछ। नत्र मलाई लागे जस्तै रोगले चिनापर्चीकै केही जना बाटोमै वा अस्पतालसम्म पुगेर अर्कै लोकको बाटो कटाएको घटना पनि सुनेको छु।

    यस्ता मृत्यु नेपालमा अत्यधिक हुनेरहेछ। मुटु भन्ने चिज नै यस्तो, जहाँ मायाको महासागर अटाउँछ, उसलाई पनि मायाको खाँचो पर्ने, सम्हालेर राख्नुपर्ने। नत्र रिसाएर कहिले धोका दिन्छ, थाहै नहुने। फूल जस्तै, जबसम्म माया गरेर स्याहार्‍यो, सुगन्ध दिने! बोटबाट टिपिएपछि कुहिएर दुर्गन्ध दिने!

    ‘हामी सबैलाई मुटु ठूलो बनाउनु भन्छौँ, तपाईंको मुटु फूलेको देखेर त मलाई टेन्सन भयो,’ डा. रमणीले हाँस्दै भनिन्। मुटु मात्र होइन, मेरो शरीर पनि अत्यधिक सुन्निएको थियो। आइसियुमा भर्ना भएपछि नाम मात्रको पानी खान दिँदा पनि २४ घण्टाभित्र २० लिटरभन्दा बढी पानी मेरो शरीरबाट बाहिर निकालिएको थियो।

    मेरा एक मित्र ज्योतिषशास्त्रमा पनि दखल राख्छन्। अस्पताल जानु अघिल्लो दिन पत्नीले उनलाई घरमा आमन्त्रण गरेकी थिइन्। ग्रहदशा बिग्रियो कि भनेर तर, उनले मेरो शरीरको आकार हेर्दै अस्पताल जान सुझाव दिएका थिए। त्यसको एक–दुई दिनअघि त अर्धाङ्गीनीले सर्लाहीमा रहेका एक ढोँगी तान्त्रिक कहाँ पनि झन्डै लगेकी थिइन्। तर, बागबजारमा बस्ने उनका एजेन्टले सुनाएको उपचार पद्धतिको पछाडिको रहस्य मैले सजिलै बुझेँ, पत्नीलाई बताइँन। गइँन पनि।

    ‘हामी सबैलाई मुटु ठूलो बनाउनु भन्छौँ, तपाईंको मुटु फुलेको देखेर त मलाई टेन्सन भयो,’ डा. रमणीले हाँस्दै भनिन्। मुटु मात्र होइन, मेरो शरीर पनि अत्यधिक सुन्निएको थियो। आइसियुमा भर्ना भएपछि नाम मात्रको पानी खान दिँदा पनि २४ घण्टाभित्र २० लिटरभन्दा बढी पानी मेरो शरीरबाट बाहिर निकालिएको थियो।

    उनका एजेन्टसले उपचार विधिबारे जे बताए, त्यसबाट ‘देवता’ का नामले कुख्यात ती ढोँगी तान्त्रिक एक यौन मनरोगी हुन् भन्ने बुझ्न मलाई कुनै आइतबार कुर्नुपरेन। मैले पत्नीलाई चित्त नदुखोस् भनेर जान्न मात्र भनेँ तर, बागबजारमा रहेका उनका एजेन्टलाई गोप्य कोठामा यसरी हप्काएँ कि उसले राम्रोसँग मेरो मुख पनि हेर्न सकेन। बाहिर रहेकी मेरी पत्नीले उपचार खर्च भनेर ५–७ हजार बुझाइसकेकी रहिछन्, त्यो पनि फिर्ता लिन लगाएँ।

    बस्, ती ढोँगीले पुरुष मात्र होइन कति जना महिलालाई आफ्नो यौन सिकार बनायो होला भन्ने चिन्ताले सतायो। तर, त्यो समय मेरो आफ्नै शरीर आफूलाई बोझिल भइरहेकाले केही गर्ने हिम्मत गरिएन। पछि उ पक्राउ परेको खबर भने पढेको थिएँ। यस्ता ढोँगीको हाम्रो समाजमा कति बिगबिगी होला, सोच्दै कहाली लाग्छ।

    भनेँ नि काल नआएको। झन्डै एक महिना अघिदेखि मेरो मुटु ‘फेल! भएको रहेछ। डा. रमणीले इकोकार्डियोग्राम गर्दा मेरो मुटुको ‘इन्जेक्सन फ्र्याक्सन’ मात्र ३० प्रतिशत रहेछ। जसको सिधा अर्थ मेरो मुटु अत्यन्त जटिल अवस्थामा पुगिसकेको रहेछ। मेरो मुटुले ३० प्रतिशत मात्र काम गरिरहेको रहेछ। हुन त इन्जेक्सन फ्र्याक्सन १० प्रतिशत हुँदा पनि कति मानिसको ज्यान जाँदैन रे।

    साथै लामो समयदेखि मुटुले राम्रोसँग काम गर्न नपाएकोले मेरा मुटुका मांसपेशी पनि बिस्तारै मर्दै जान थालेका पनि रहेछन्। धेरै पछि थाहा पाएँ, मेरो मुटुका दुई–दुई मध्ये एक–एक वटा भेन्ट्रिकल र अर्टियल अहिले पनि कामविहिन रहेछन्। त्यस बेला मरेका मुटुका मांसपेशी अहिलेसम्म आफ्नो काममा फर्कन सकेका रहेनछन्। हुन पनि, आखिर मरेपछि को नै फर्केको छ र! मेरो मुटुको आधा भाग मसँगै रिसाएर निकम्मा भएका रहेछन्।

    जतिसुकै निकम्मा भए पनि आफ्नो भ्रूणबाट जन्मिएका सन्तानको माया आमा–बाबुलाई जति लाग्छ, मलाई पनि त्यति नै लाग्छ, आफ्ना मुटुका निकम्मा भागहरूको पनि माया। ती मांसपेशी केही वर्ष पहिले नै मरेपनि आखिर उनीहरू जल्ने त मसँग नै हुन्। होला समयभन्दा चाँडै मलाई धोका दिए तर, मेरै मुटुमा टाँसिएर बसिरहनुपर्ने बाध्यता पनि छ नै, ती मृत्त कोशिकालाई। अनि मुटुमा टाँसिएकालाई कसरी माया मार्न सकिन्छ र?

    डाक्टरी भाषामा मेरो मुटु जतिसुकै काम नलाग्ने किन नबनेको होस्, मेरो मनमा यति चाँडै मर्दिन भन्ने अहँ सधैँ नै चट्टान झैँ अडिग रह्यो, अहिले पनि छ। चिकित्सक र नर्सले बेड प्यानमा मै पिसाब गर्न दिएको आदेश पनि अटेर गर्दै ट्वाइलेट जान्थ्ये म। अनि नर्स र डाक्टर रिसले मुर्मुराउँदै कानेखुसी गर्दा रहेछन्, ‘कहिले मर्छ थाहा छैन, यस्तो बल देखाउँछ!’ धेरैपछि डा. रमणीले मलाई जब्बर बिरामीको संज्ञा दिँदै त्यो कुरा सुनाएकी थिइन्।

    मेडिकेयरको आइसीयुमा भर्ना भएको एकाध दिनपछि अवनीमामा आइपुगे। उनको राय थियो, तत्काल इन्जियोग्राम गर्नुपर्ने। जसबाट मुटु किन बिग्रिएको हो भन्ने पत्ता लाग्न सक्थ्यो। त्यस बेला इन्जियोग्राम परीक्षण त्यति सुलभ थिएन। कि गंगालाल कि त नर्भिक अस्पतालमा मात्र त्यो परीक्षणको सुलभता थियो। एन्जियोग्राम गर्न जान्ने निकै नाम चलेका एक डाक्टरलाई मेडिकेयरमा नै बोलाइयो। उनले ठाडै तत्काल इन्जियोग्राम गर्न नपर्ने तर पानी कम खान सल्लाह दिए। मनै ढुक्क भयो। फुलेको मुटुको आयतन नै घटे झैँ लाग्यो। उनको भनाइप्रति विश्वास पलायो।

    मेरो मन ढुक्क भए पनि मामाको मन ढुक्क भएन फेरि बोलाए, तीनै डाक्टरलाई। फेरि पनि उनको जवाफ त्यही रह्यो। हुन त पेसाले पत्रकार अनि आमाबाबुको पुलपुलिएको छोरो। जिन्दगीलाई सधैँ हलुकोसँगै लिइयो। अरूलाई माया गर्दा मन सधैँ प्रफुल्लित हुन्छ तर, मेरा हर्कतले आफैँलाई माया गर्न सकेनछ। न व्यायाम नत खानामा नै कहिल्यै कुनै परहेज। साना तिना रोगलाई रोग नै नमान्ने बानी। बाउ बाजेदेखि लागेका डाइबेटिज र प्रेसर त रोग नै होइन झैँ लाग्ने। यसले पनि मलाई ३८ वर्षकै उमेरमा मुटु रोगी बनाउने खेल खेलेकै छ।

    अस्पतालमा रहँदा मेरो मनले तँ मर्छन् भनेर कहिल्यै भनेन तर, आफन्तका ढोंगी शब्दहरूले भने कहिँले काहीँ मर्छु कि क्या हो? जस्तो भने लाग्थ्यो। कहिले काहीँ सान्त्वनाको शब्द पनि मुटुमा बिझाउँदो रहेछ भन्ने मैले त्यही बेला बुझेँ। ‘पिर नगर्, केही हुँदैन,’ मैले कहिले पो केही हुन्छ भने भनेर चिच्याउँ झैंं लाग्ने। एंकान्त कति आनन्ददायक हुँदो रहेछ भन्ने पनि थाहा पाएँ, त्यस बेला। भन्ने हो भने, को मेरा हुन् र को पराइ भन्ने छर्लङ्ग पनि भएँ। रक्सी खान बनाइएका मित्रहरू कहिल्यै मनमा बस्दा रहेछन्, थाहा पाएँ। ढोंगमा बाँचिएको पो हुँदो जीवनका अधिकांश समय। पत्ता लाग्यो। 

    शल्यक्रिया गर्नुअघि नै चिकित्सकले अपरेसनका क्रममा मेरो मर्न सक्ने सम्भावनाका प्रतिशतसमेत बताइदिएका थिए, मलाई। जुन कुनै ठुलो जटिल सङ्ख्या लागेन मलाई। शल्यक्रिया गर्ने दिन, एकाबिहानै खसी खुल्याए झैँ आफैँलाई खुल्याएँ मैले। अनि हाँसे जस्तो गर्दै सबैलाई हात हल्लाउँदै गएँ, अपरेसन थिएटरतिर।

    नेपालमै एन्जियोग्राम गराउने अवनीमामाको पहलमा ती डाक्टरले साथ दिएनन्। (ती डाक्टरको नाम म उल्लेख गर्न चाहन्न। एकाध पटक उल्लेख पनि गरेको थिएँ, चित्त दुखाएछन्।) मेरो अवस्था देखेर मामा वास्तव मै बेचैन बने, आफ्नो पहुँचभन्दा बढी उपचारको आवश्यकता रहेको महसुस गरे। अनि हाम्रो सल्लाहमै अवनीमामाले नयाँ दिल्लीस्थित फेर्टिज् एस्कर्ट हर्ट सेन्टरका निर्देशक डा. उपेन्द्र कौलसँग भेट्ने समय मिलाइदिए। दिल्ली जानुअघि मेरी पत्नीले फेरि ती वरिष्ठ डाक्टरलाई भेटेर तेहराएर आग्रह पनि गरिछन्। उनको जवाफ उही थियो, ‘अहिले केही गर्नु पर्दैन।

    डा. अवनी त्यसै तर्सिरहनु भएको छ। जानु हुन्छ भने जानुस्!’ अनि दिल्ली लागियो, भर्खर दुई वर्षको छोरा काखी च्यापेर धर्मपत्नी, सुसुराबा र सासुआमासहित। डा. कौलसँग भेटे लगत्तै उनले भोलिपल्टै एन्जियोग्राम गर्ने बताए। साथमा भने पनि, ‘दुवा करो तुम्हारे भेन में ब्लक दिख जाए।’ डा. कौलका अनुसार मेरो आधाभन्दा बढी ‘ड्यामेज’ भएर बाँकी रहेको मुटुका मांसपेशीमा थप क्षति पुग्न नदिने उपचार रक्त नलीहरू ब्लक भएको अवस्थामा मात्रै सम्भव रहेछ। अन्यथा अरू कारणले भएको भए, क्रमशः मेरो मुटुका मांसपेशीहरू मर्दै जाने रहेछन्। अनि तीसँगै म र मेरा बाँकी शरीर पनि। 

    धन्य भोलिपल्ट एन्जियोग्राम गर्दा मेरो मटुका केही नली ब्लक भएको देखिएछ। मेरी धर्मपत्नी र सुसुराबासँगको सल्लाहपछि चिकित्सकको टोलीले एन्जियोप्लास्टमार्फत दुइटा नलीमा स्टेन्ट हालेको जानकारी गराए। कुनै रिपोर्ट दिएनन्, दिए त बस् अस्पतालमा गरिएको उपचारको लाखौँको बिल। जसमा दुइटा स्टेन्टसमेत उल्लेख थियो। उपचारपछि के के रिपोर्ट आवश्यक छ र माग्नुपर्छ भन्ने जानकारी नराख्दा एन्जियोप्लास्टको मात्र रिपोर्ट लिइयो तर सिडी लिइएन।

    एस्कर्ट अस्पतालको दुई दिने बसाइपछि डा. कौलले औषधिका भारी मात्र बोकाएनन् फेरि ३ महिनापछि आउने समय पनि तोकिदिए। औषधि पनि कस्ता भने कुनै त नेपालमा पाउँदै नपाउने अनि एक ट्याबलेट कै दाम पनि झन्डै ५ सय रुपैयाँसम्म पर्ने। ‘मर्ता न क्या कर्ता’ भने झैँ त्यति महँगा औषधि पनि खाइयो। आखिरमा जे भए पनि ढुक्क भइयो, दाबी अनुसार आफ्नो विधामा संसार कै उत्कृष्ट १० चिकित्सकभित्र पर्ने डाक्टरबाट उपचार गराएर स्वस्थ्य हुन पाएको भ्रममा।

    केही दिन दिल्लीको बसाई अनि बृद्धावन र मथुराको धार्मिक यात्रापछि घर फर्कियो। जेट एअरवेजको रातिको विमानमा घर फर्कँदा झन्डै ज्यान गुमाउनु नपरेको। काठमाडौंमाथि आइपुगेको विमानले ल्याडिङ गियर झारेपछि खराब मौसमका कारण झन्डै एक–डेढ घण्टा विमान अवतरण गराउन सकेन अनि बादलमाथि मडारिरह्यो। पहिलो प्रयासमा विमान नै दुर्घटना होला जस्तो भएपछि चालकले फेरि माथि उठाएका थिए। कालो बादलभित्र चट्किरहेका चट्याङले फाल्ने प्रकाश पनि यात्रु तर्साउन सहायक बन्दै थिए।

    सबैको आँखामा भयले ताण्डव गरेको सहजै देखिन्थ्यो। चालकले दोस्रो पटक अवतरणको प्रयास गर्दा विमान यति बिघ्न हल्लियो कि काठमाडौँ वरिपरिका कुनै पहाड हाम्रो चिहानमा परिणत हुने पो हो कि भन्ने त्रास मेरो मनमा पनि पलायो। पुरा हलिउडका चलचित्रमा विमान दुर्घटना हुनुअघि देखाइने दृश्य आफ्नै आँखा अगाडि नाचिरहेका थिए। वरिपरिका सबै रामनाम जपिरहेको बेला दुई वर्षे छोरा काखमा राखेर बसिरहँदा, एउटा कुरामा भने ढुक्क थिए, ‘लाखौँ खर्च गरेर त्यति ठुलो रोगबाट भर्खर छुटकारा पाएर फर्किँदै गरेको म बाबा–ममीलाई एक पटक अङ्कमाल नगरिकनै कहाँ पो मर्छु र?’ भन्नेमा।

    विमान फेरि उठ्यो बादलभन्दा माथि। काठमाडौंको आकाशमा मडारिंदा मडारिदैं इन्धन सकिन लागेको बताउँदै विमानका कप्तानले बनारस वा लखनउ लैजाने तयारी गरिरहेको जानकारी पनि गराए। तर, मौसममा आएको केही सुधारले विमान तेस्रो प्रयासमा अन्ततः काठमाडौंमा नै अवतरण भयो। सबैले चालक दललाई धन्यवाद दिए, मैले पनि। किनकी त्यो विमान अन्यत्र कतै अवतरण गरिएको भए मेरी पत्नीले अर्कोदिन सडकमार्गबाट काठमाडौं फर्कन बाध्य पार्थिन् भन्ने पक्का विश्वास पनि त थियो नै।

    काठमाडौं फर्कंदा स्वस्थ्य भएँ भन्ने जुन जोस थियो। त्यो बिस्तारै सेलाउँदै गयो। तीन महिनापछि फेरि दिल्ली गएँ, जचाएँ। अनि आराम महसुस गर्न नसकिरहेको पनि बताएँ। डा. कौलले फेरि तीन महिनापछि आएर एन्जियोग्राम गर्नुपर्ने बताए। आफैंले देखेको थिएँ, स्टेन्ट हालेका बिरामी केही दिनपछि सामान्य अवस्थामा फर्किएका। तर, म त दिनदिनै गल्दै थिएँ। आफन्तको नजरमा बहाना बनाए जस्तो पो हुन थाल्यो।

    घर परिवारमै रोगलाई बहाना बनाएर अल्छि गरेको जस्तो नजरले हेर्न थालियो। जागिर (जहाँ पत्रकारिता गरेको भन्नै मन लाग्दैन) खाएको ठाउँका मालिकले पनि यस्तै सोचे। सीधा भनेनन्, भन्न लगाए। मैले ठाडै जागिर छाडिदिएँ। पत्रकारिताको पहिलो ‘इनिङ’ को अन्त्य पनि गरेँ। कहिले काहीँ एक्लै हुँदा ‘म आफ्नो रोगलाई बहाना बनाएर जीवन घिसार्ने श्रेणीमा पर्दिन’ भनेर चिच्याउन मन लाग्थ्यो। कोही कसैसँग मिल्दाजुल्दा पनि आर्थिक सहयोग मागिहाल्छ कि भन्ने जस्तो भयको भाव उनीहरूमा देखिन्थ्यो। यस्ता मामिलामा वास्तवमा हामी पत्रकारको छवि बिग्रिएकै छ।

    आफन्तको मुहारमा पनि त्यस्तै भाव देख्थ्येँ, मैले। शायद डिप्रेसनको पनि सिकार भइयो कि? थाहा भएन। तर, म खल्तीमा पैसा थुपारेर उपचारका लागि सहयोगको याचना गर्ने निम्न कोटीमा दरिन कहिल्यै चाहिन। चाहे आफ्नो खल्ती भ्वाङ परेकै किन नहोस्, कसैसँग सहयोगको अपेक्षा राखिन। जे जस्तो सकेँ, आफैं गरेँ। आड भरोसाका लागि घर-परिवार त थियो नै। आफ्नो दुख आफैंभित्र दबाउनु पर्छ, सुख मात्र बाँड्नु पर्छ भन्ने अठोट अहिले पनि मभित्र ‘म’ जस्तै ज्युँदै छ। यस्ता कुरामा घमण्डी बन्दा पनि गर्व नै लाग्दोरहेछ।

    दिनदिनै गल्दै भएको शरीरले मलाईभन्दा बढी मेरो बाबालाई बढी पिरोल्दै गयो। उनी पनि मसँगै गल्दै थिए। चिकित्सक र पारिवारिक सल्लाहपछि मेरो बिग्रँदै गएको मुटुको पूर्ण परीक्षण अमेरिकामा हुन सक्ने पत्ता लाग्यो। त्यहाँ हुने परीक्षणपछिका उपचार नेपालमा सम्भव हुने राय पाइयो। चिकित्सकहरू कै रायमा मेरो मुटु क्रमशः बिग्रँदै गयो भने कुनै दिन ‘मुटु प्रत्यारोपण’ कै आवश्यकता पर्ने सम्भावना पनि रहेछ।

    जसको सिधा अर्थ थियो, असम्भव उपचारका कारण जिन्दगीसँगै ‘बाइबाई’ गर्नुपर्ने। उपचार होइन मुटुको परीक्षणका लागि मात्र त्यस बेला अमेरिकामा १५ हजार डलर लाग्ने रहेछ। त्यति खर्च गर्ने योजनासहित अमेरिकी अस्पतालमा समय पनि मिलाइयो। समय लिन सहज नहुँदो रहेछ। मेरो बाबाको भित्री चाहना छोरा जसरी पनि बाँच्नुपर्छ भन्ने नै थियो। तर, हाम्रो आर्थिक क्षमता उपचार नै होइन, परीक्षणसम्म गराउन सक्ने मात्र थियो। आखिर म यो देशको नेता पनि थिइन नि। पुष्टि गरिदियो, अमेरिकी दूतावासले ‘भीजा रिजेक्ट’ गरेर। मुटु घरकै दराजमा लुकाएर आएका हुँदा रहेछन् कन्सुलरले, झैँ लाग्यो। त्यो अस्वीकारताले कताकता मेरा बाबा झन् कमजोर बने।

    उता, मेरो समस्या यथावत् नै थियो। भनौँ बढ्दै थियो। अकस्मात फेरि अस्पताल भर्ना हुनुपर्‍यो, शरीरले साथ नदिँदा। फेरि एस्कर्ट जाने सल्लाह भयो, टिकट किनियो। अनि बाबाको आग्रहमा नै सीधैं आइसीयुबाट घर आइयो, सोमबार दिल्ली जाने निधोसहित बिहीबार नै। तर, विधिको विधान, शनिवार नै बाबालाई आइसीयुमा भर्ना गर्नुपर्‍यो, त्यो पनि भेन्टिलेटरमा राखेर। दिल्ली जाने योजना स्थगित भयो।

    अवनीमामासँग सल्लाहपछि यहीँ नर्भिक अस्पतालमा डा. भरत रावतले एन्जियोग्राम गरे। त्यो एन्जियोग्रामले डा. रावतलाई मात्र होइन, हामी सबैलाई चकित बनायो। एस्कर्ट अस्पतालले थमाएको रिपोर्ट र मेरो मुटुमा गरिएको उपचार बिलकुलै फरक भेटियो। एस्कर्टमा दुइटा भनिएपनि मेरो मुटुमा एउटा मात्र नलीमा स्टेन्ट हालिएको रहेछ। जसले गर्दा मेरो मुटुले काम गर्न सकिरहेको थिएन। धन्य बाँची नै रहेको रहेछु।

    डा. रावतको एउटै मात्र निष्कर्ष थियो, अब हर्ट बाइपास नै गर्नुपर्छ। डा. रावत र हामीले एस्कर्टबाट पहिलाको परीक्षणको रिपोर्ट मगाउने हरसम्भव प्रयास गर्‍यौँ। सबै नकाम भए। मेरो देशका एक डाक्टरले मेरो उपचारप्रति देखाएको उदासीनताका कारण विदेशमा उपचारका नाममा ठगिने बिरामीको सूचीमा मेरो पनि नाम दरियो।

    भेन्टिलेटरमा राखेको १० दिनपछि नै बाबाले फर्किएर कहिल्यै मेरो चिन्ता नलिने लोकको मार्ग तताए। कहिले काहीँ लाग्छ, मलाई दिल्ली जानबाट रोक्न नै बाबाले त्यो नाटक रचेका हुन् कि? आफू मरेर मलाई बचाउने। नत्र एस्कर्ट कै विश्वासमा बसेको भए आज मैले पनि ४–५ वटा पिण्ड पचाइ सकेको हुन्थ्ये होला। तर, बाबाको काजक्रिया सकिएको १५ दिनभित्रै मेरो बाइपास भयो।

    अहिलेसम्म चलिरहेको छ मुटु, ढकढक–ढक्ढक्। अब चाँडै थाक्दैन जस्तो पनि लाग्छ। ‘कहाँ गर्ने अपरेसन,’ मनमोहन कार्डियोभास्कुलर सेन्टर भर्खरै जस्तो स्थापना भएको थियो, त्यसका निर्देशक डा. भगवान् कोइरालाले पहिलो भेटमा नै मसँग सोधे। ‘म त सुत्ने न हो, अपरेसन त डाक्टरसाबले नै गर्ने हो, जहाँ भन्नु हुन्छ त्यही गर्ने। तर, तपाईँसँगै गर्ने,’ मैले सहज जवाफ दिएको थिएँ। त्यो कुरा भएको एक साता पनि नबित्दै मेरो शल्यक्रिया भइसकेको थियो। त्यही अस्पतालमा।

    अति नै दुर्लभ मानिने बि नेगेटिभ रक्त समूहको रहेछ मेरो रगत। मलाई ‘हर्ट बाइपास’ का लागि आवश्यक रगत खोज्न आफन्तले निकै मिहिनेत गरे। एक जना हितैसीले त हेटौँडादेखि मानिस पठाइदिएका थिए। जेठी फुपूका छोरा, दाइ नयनराज पाण्डेको आग्रहमा केही साहित्यकार पनि आएका थिए रे।

    शल्यक्रिया गर्नुअघि नै चिकित्सकले अपरेसनका क्रममा मेरो मर्न सक्ने सम्भावनाका प्रतिशतसमेत बताइदिएका थिए, मलाई। जुन कुनै ठुलो जटिल सङ्ख्या लागेन मलाई। शल्यक्रिया गर्ने दिन, एकाबिहानै खसी खुल्याए झैँ आफैँलाई खुल्याएँ मैले। अनि हाँसे जस्तो गर्दै सबैलाई हात हल्लाउँदै गएँ, अपरेसन थिएटरतिर। तर, मेरा परिवार र आफन्तको अनुहार मलिन नै थियो।

    उनीहरूको मनमा कता–कता म फर्कन्न कि भन्ने दोधार त थियो नै होला। म भने कहिल्यै दोधारमा फसिनँ। तर पनि, उनीहरूको आँखामा हेर्न सकिनँ, लाग्यो हेरेँ भनेँ म पनि भक्कानिने नै छु। मनमा एउटै कुरा खेल्थ्यो, म मरेँ भने पनि आँखामा आँसु हैन मुस्कान छाइरहोस्। जसले मेरा आमा, पत्नी र सन्तानलाई बाँच्ने आधार मिलोस्। म रोएर हैन, हाँसेर गएको थिएँ भनेर देखाउने रहर पनि थियो।

    तर पनि विश्वास थियो, मेरो लेखान्त त्यति कमजोर छैन भन्ने। साथ थिए नै, आफ्नै देशका सफल चिकित्सक डा. भगवान् कोइराला। मेरो विश्वासलाई उनले तोडेनन्, नत कुनै प्रसिद्ध विदेशी अस्पताल झैँ भर्खर खुलेको स्वदेशी अस्पतालले धोका नै दियो। जसले गर्दा आजसम्म हाँसेको छु, बाँचेको छु। शल्यक्रिया गर्ने डाक्टरले १० वर्ष ढुक्क रहन भनेका पनि थिए। भिन्दै कुरो ७ वर्ष बितिसकेछ तर पनि, बिन्दास नै छु। किनकि हरेक सूर्योदय र सूर्यास्तको गणना राख्दिन म। त्यसपछिका दिनमा नियमित परीक्षण गराउँदा मेरो मुटु कहिल्यै गलेको भेटिएन, थाकेको भेटिएन। एउटा जब्बर बिरामीलाई दह्रैसँग साथ दिइरहेकै छ, उसको ‘रिकन्डिसन’ जब्बर मुटुले।

    हुन त धेरैले मलाई एस्कर्ट अस्पताललाई मुद्दा हाल्न पनि सल्लाह दिए। कतिले आफैँ मुद्दा लडिदिने प्रस्ताव पनि ल्याए। त्यसलाई मैले कहिल्यै स्वीकार गरिनँ। मेरो देश र नेताले घुँडा टेकेको देशको अति धनी अस्पतालसँग मुद्दा लडेर थुप्रने तनावलाई सञ्चय गर्ने क्षमता मसँग छैन, मेरो मुटुसँग छैन। के थाहा, मेरो जब्बर मुटु त्यो तनावलाई थेग्न असमर्थ रहन्थ्यो कि? ‘म जे छु, ठिकै छु, बिथोल्न नआऊ’ भन्दै त्यस्ता प्रस्ताव ल्याउने सबैलाई बिदा गर्दा हर्ष नै लाग्थ्यो।

    मेरो रोगको सकारात्मक पक्ष पनि छ। यसले मलाई धेरै स्वार्थी व्यक्तिलाई मनबाट ‘डिलिट’ गर्न हौसला दियो। जीवनका हरेक लडाइँ एक्लै लड्नुपर्छ भन्ने पाठ पढायो। अनि आफ्नै देशका सक्षम हातहरूप्रति विश्वास गर्ने हौसला दियो। बस्, मनलाई बलियो बनाउन सक्नुपर्दो रहेछ, शरीर स्वाभाविकै बलियो बन्दै जान्छ। त्यसैले होला, म त्यहीँ उभिन सकेको छु, जहाँ एउटा तन्दुरुस्त मानिस विन्दास भविष्यका खातिर उभिन्छ।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]