|

मनाङ : हिमाली जिल्ला मनाङमा फागुन  १ गते देखि नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक अझै आइपुगेको छैन। विद्यार्थीहरू हिउँमा चिप्लदै विद्यालय आउन थाले पनि नयाँ पाठ्यपुस्तक पठनपाठन भइरहको छ।

विद्यार्थी भर्ना अभियान सुरु भइसके पनि पाठ्यपुस्तक कहिले आउने भनेर टुङ्गो लागिसकेको छैन। चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले भने, ‘विद्यार्थी भर्ना हुन आइसके तर पाठ्यपुस्तक आइसकेको छैन। पाठ्यपुस्तक ल्याउने पसलसँग सम्पर्क गरेको छु। ल्याउँछु–ल्याउँछु भन्छन्, ल्याएका छैनन्।

नासो गाउँपालिका–५ थोंचेस्थित प्रकाश ज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीका अनुसार फागुन १ बाटै भर्ना अभियान सुरु गरिएको थियो। विद्यार्थी आउने क्रम जारी रहे पनि पाठ्यपुस्तक भने आएको छैन। 

नासो गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिवप्रसाद ढुंगानाले बिल भरपाईका आधारमा गाउँपालिकाले विद्यालयलाई रकम उपलब्ध गराउने उल्लेख गर्दै पाठ्यपुस्तक भने आइनसकेको बताए। उनका अनुसार शिक्षा विकास तथा समन्वय इकाइको अनुमतिमा स्टेसनरीले सिधै विद्यालयलाई पाठ्यपुस्तक दिन्छ।

४ गाउँपालिका रहेको मनाङमा मनाङ ङिस्याङ र नार्पाभूमिका विद्यालयमा पठनपाठन सुरु भएको छैन। चामे गाउँपालिकाका ४ र नासो गाउँपालिकाका ११ गरी १५ विद्यालयमा पठनपाठन सुरु भइसकेको छ। यस जिल्लाको ४ गाउँपालिकामा जम्म २८ वटा विद्यालय छन्। १५ वटाबाहेकका विद्यालयमा फागुन १६ बाट पठन पाठन सुरु हुने अन्नपूर्ण माविका प्रधानाध्यापक आन्नदराज घिमिरेले बताए। फागुन १३ सम्म हिमपात हुनाले पाठ्यपुस्तक समयमा पुर्‍याउन नसकिने उनले बताए।  

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खुलानाथ गौतमले पठनपाठन सुरु भइसकेको स्कुलमा छिटो पुस्तक ल्याउन भोटेओडारस्थित सापकोटा स्टेशनरीलाई ताकेता गरिरहेको बताए। ‘आफूलाई चाहिने डाटा पुस्तक पसललाई टिपाउन सबै स्कुललाई भनिसकेको छु। कति भर्ना हुन्छन् भनेर यकिन नभएर पनि हेडसरहरूले डाटा नटिपाएको हुनसक्छ’ उनले भने।

पुस्तक पसलले मनाङमा २ पटक पुर्‍याउन गाह्रो हुने भएकाले एकैपटक लैजाने र सबै भेगमा पुर्‍याउने भन्दै आएका छन्।

चामेस्थित लोकप्रिय माविले अन्य जिल्ला सरह वैशाखबाट शैक्षिक सत्र थालेको छ। चैतमा परीक्षा लिने र वैशाखबाट नयाँ शैक्षिक सत्र सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सुरेश थापाले जानकारी दिए।

‘हामीले अन्य जिल्ला सरह शैक्षिक सत्र चलाउन थालेका छौँ। सबै स्कुलमा फागुनबाट शैक्षिक सत्र सुरु भए पनि हाम्रोमा वैशाखबाट हुन्छ,’ उनले भने। आवासीय व्यवस्थापनबाट स्कुल चलाउन थालेपछि शैक्षिक सत्र, पठनपाठन व्यवस्थापन फेरिएको उनले बताए।

सापकोटा स्टेनरीका सञ्चालक ज्ञानहरि सापकोटाका अनुसार माथिल्लो मनाङका स्कुल नखुल्दा पुस्तक पटक–पटक गरी लैजानुपर्ने अवस्था छ। माथिल्लो मनाङ, आवासीय र तल्लो क्षेत्र गरी ३ पटक छुट्टाछुट्टै लानुपर्ने र अहिले बाटो पनि पूर्ण रूपमा नखुलेको खबर आएकाले समस्या भएको जानकारी उनले दिए।

‘चामे र नासोका विद्यालयका लागि प्याक गरेर राखेको छु। माघ २० गते नै पोखराबाट पाठ्यपुस्तक आएको हो’ उनले भने। उनका अनुसार कक्षा १० को अर्थशास्त्र र अतिरिक्त गणित विषयको पाठ्यक्रम परिमार्जन भएर आउने भएकाले पनि समस्या भएको उनले भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.