‘अख्तियारमा पार्टीका मान्छे भर्ती गर्दा भ्रष्टाचार बढ्यो’

|

डडेल्धुरा : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताएका छन्।

पार्टीको जनसंवाद यात्राका क्रममा मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले विकास र समृद्धिको बाटोमा देशलाई अगाडि बढाउनका लागि राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनु पर्ने बताएका हुन्।

संयोजक भट्टराईले भने,‘अब हामीले विकास र समृद्धिको बाटोमा जाने हो भने राजनीतिलाई हामीले भ्रष्टाचारमुक्त नगरिकन हुँदै हुँदैन।’ कांग्रेस, तत्कालीन एमाले, एमाओवादीले त्याग र बलिदान गरेर संघीय लोकातान्त्रिक गणतन्त्र ल्याएको उल्लेख गर्दै भट्टराईले नेताहरूले विगत बिर्सेर भ्रष्टाचारमा लिप्त भइरहेको आरोप लगाए। ‘हामी सबै पार्टीका साथीहरू क्रान्तिकारी हौँ। सबै साथी जेल बस्नु भएको हो। धेरैले सहादत प्राप्त गरे। तर सत्तामा पुगेपछि हाम्रो इतिहासको रेकर्ड राम्रो छैन। नेपाली कांग्रेस २०४६०/४७ मा, तत्कालीन एमाले पनि २०५४/०५५ र २०५६ पछि सत्तामा गयो र तत्कालीन माओवादी २०६३/०६४ मा सत्तामा गयो र त्यसैगरी अहिले दुई तिहाको सरकार बनेको छ। तर सत्तामा पुगेपछि जानेर होस् या नजानेर भ्रष्टाचार भयो।’

उनले भने, ‘सत्तामा पुगेपछि सबैले आफ्नो आदर्शलाई बिर्सेका छन्। जसरी गुलीयोमा डुबेको झिँगा जसरी उड्न सिक्दैन। त्यसरी सत्ताको चासनीमा डुबेर क्रान्तिकारी साथीहरू डुबेको र ठूला–ठूला भ्रष्टाचार प्रकरण भएको हामीले देखेका छौँ।’ वाइडबडी, बुढीगण्डकी, एनसेल, ३३ किलो सुन प्रकरणमा हाकाहाकी रुपमा भ्रष्टाचार भएको उनको आरोप छ। जनताले तिरेको करको पैसामा ठूलाठूला भष्टाचार हुने हो भने देश समृद्ध बन्न नसक्ने उनको भनाइ थियो। 

‘हिजोका क्रान्तिकारी भनिने कम्युनिस्ट र कांग्रेस लोकतन्त्रवादी भनिने साथीहरूले समेत पन्चायत र राणाकालको जस्तै भ्रष्टाचाराका काण्ड गरे। अझ त्यतिबेला पारदर्शिता भएन। तर आजभोलि जनताले हाकाकाकी थाहा हुने गरेर भ्रष्टाचार गरे।’ उनले भने,‘चाहे वाइडबडी काण्ड भन्नुस् चाहे बुढीगण्डकी प्रकरण भन्नुस्।अथवा एनसेल प्रकरण वा ३३ किलो सुन काण्ड यी त बाहिर आएका कुरा हुन्। भित्री कुरा त कति छ कति! ‘यसरी राज्यको देशको निम्ति उठाएको राजश्वको रक्षा गर्ने जिम्मेवारी पाएका व्यक्तिले नै आफू आफ्ना आसेपासेलाई मिलाएर खाएँ।’

जनताबाट उठाएको राजश्व ठीक ढंगबाट सदुपयोग गर्ने मान्छेहरूले नै आफ्नो पदको दुरुपयोग गरेर भष्टाचार गरिरहेको उनको तर्क थियो। आफ्नो पदको दुरुपयोग गरेर भष्टाचार गरेपछि देश कसरी समृद्ध हुन सक्छ? उनले प्रश्न गरे।

भष्टाचार नियन्त्रण गर्ने संस्थाहरू कामजोर

उनले भष्टाचार नियन्त्रण गर्ने, नियम कानुन लागू गर्ने, दण्डित गर्ने संस्थाहरू कामजोर भएको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पार्टीका मान्छे भर्ती गर्दा भ्रष्टाचार बढेको उनको बुभाइ छ। पार्टीका मान्छेले भागबण्डा गरेर संवैधानिक समितिमाफर्त भने पनि अन्ततः आयुक्तहरू नियुक्त हुने गरेको उनले ठोकुवा गरे। 

‘हाम्रा अनुसन्धान गर्ने संस्थाहरू कमजोर भए। आयोगमा पार्टीका मान्छेहरूले भागबन्डा गरेर आयुक्तहरू नियुक्त गर्छन्। पार्टीकै मान्छेहरू नियुक्त भएपछि तिनले कसरी भ्रष्टाचार नियन्त्रण गर्लान्?’ उनले प्रश्न गरे। ‘हामीले थुप्रै प्रकरण देखिरहेका छाैं। भ्रष्टाचार रोक्ने मान्छेहरूले आफैँ भ्रष्टाचार गरिरहेका छन्।’ उनले अघि थपे, ‘त्यसैले त्यो संस्था काम लागेन हामीले त्यसलाई सच्याउनुपर्छ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काम नलाग्ने भइसकेकाले देशमा अब सशक्त जनलोकपाल आवश्यकता छ।’

गरिबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै डा. भट्टराईले औषत प्रतिव्यक्ति आय १० हजार डलर पुर्‍याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अंकमा बढ्नुपर्ने आवश्यकता औँल्याए। निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उनले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए।

नेताहरू राजामहाराजा जस्ता भए

फरक प्रसंगमा पूर्वप्रधानमन्त्री भट्टराईले नेताहरू राजामहाराजा जस्ता भएको टिप्पणी गरे। ‘म आफैं पार्टी बनाएर चलाएर आएको मान्छे। मैले के अनुभूति गरें भने हामीले आफूलाई लोकतान्त्रिक भन्छौं। समाजवादी भन्छौं। उनले भने,‘तर हामी आफैं नेताहरू राजामहाराजा जस्ता हुने। तल्लो तहका नेता कार्यकर्ताको कुनै सुनुवाइ नहुने। जसले नेतालाई रिझायो त्यसको मात्रै सुनुवाइ हुने र चुनावमा टिकट पाउँछन्।’ 

नेपालका पार्टीहरूको केन्द्रमुखी ढाँचा भएको उल्लेख गर्दै भट्टराइले सर्वसाधारण नेता कार्यकर्ता सम्मेलन वा महाधिवेशनमा ताली मात्रै पिट्ने प्रचलन रहेको बताए। ‘सर्वसाधारण नेता कार्यकर्ता सम्मेलन वा महाधिवेशनमा ताली मात्रै पिट्ने। तर नेताहरू फेरि छोटेराजा जस्ता हुने जुन पार्टीको ढाँचा भयो।’ उनले भने,‘यो ढाँचा राम्रो होइन। नेतालाई कार्यकर्ताले नै प्रत्यक्ष निर्वाचित गर्छ नेतालाई।’

सुदूरपश्चिम प्रदेशको नाम उपयुक्त भएन

संयोजक भट्टराइले सुदूरपश्चिम प्रदेशको नाम उपयुक्त नराखिएको तर्फ गरे। ‘काठमाडौंबाट पो सुदूर.., यताबाट त सुदूर छैन होला नि?’ उनले प्रश्न गरे। यस प्रदेशको आफ्नै पहिचान होला त! त्यसबाट नाम राख्न सकिन्थ्यो नि!’ उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै भने, ‘यहाँका नेताले नाम सुदूरपश्चिम राखे, हुँदा हुँदा राजधानी पनि तराई तोके।’ पहाडाबाट राजधानी कैलाली सारिनु यहाँका नागरिकलाई ठूलै धोका भएको समेत बताए।

 यात्राको भोलि समापन गरिँदै

नयाँ शक्ति पार्टीले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा जारी राखेको बताउँदै उनले यात्राका क्रममा मध्यपहाडी राजमार्गको निर्माण कार्यको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सर्वसाधारणसँग संवाद गरिएको बताए। उनका अनुसार माघ १५ गतेबाट सुरु भएको यात्रा फागुन १५ गते भोलि (बुधबार) बैतडीको झुलाघाट पुगी गोठलापानीमा समापन गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.