विदेशबाट फर्किएपछि पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने

|

काठमाडौं :    सरकारले विदेशमा काम गर्न तथा पढ्न जानेहरुको लागि छुट्टै नीति ल्याउने तयारी गरेको छ।

हाल सो नीतिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ड्राफ्ट तयार गरिरहेको  जनाइएको छ। आन्तरिक तथा बाह्य आप्रवासनका तथा विभिन्न देशमा काम गर्न जाने कामदार तथा पढ्न जाने विद्यार्थीहरुमा हुनसक्ने स्वास्थ्यसम्बन्धी जोखिम र न्यूनीकरणको लागि ‘राष्ट्रिय आप्रवासन स्वास्थ्य नीति २०७५’ ल्याउने तयारी गरिएको हो।

खाडीका विभिन्न मुलुक तथा अन्य मुलुकहरुमा पनि काम गर्न जानेकामदारहरु धेरै बिरामी हुने तथा कामकै सिलसिलामा विभिन्न रोगका कारणले मृत्यु हुनेको संख्या धेरै रहेको बताइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक आप्रवासनका क्रममा हुने स्वास्थ्य जोखिमको छुट्टै नीतिमार्फत सम्बोधन गर्ने तयारी गरेको मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले बताए।

उनले भने 'विदेशमा काम गर्न जाने धेरैमा स्वास्थ्य समस्या बढेपछि त्यसको न्यूनिकरण गर्न हामीले छुट्टै आप्रवासन स्वास्थ्य नीति बनाउन लागेका हौँ हामीले यसको ड्राफ्ट पनि तयार गरिसकेका छौँ।'

अब विदेशमा काम गरेर फर्किएपछि पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने

हाल विदेश जादा जानु पूर्व मात्र स्वास्थ्य परीक्षण गर्ने अवस्था भए पनि अब नयाँ आप्रवासन स्वास्थ्य नीति लागू भएपछि विदेश जानेहरुको लागि चार चरणमा स्वास्थ्य परीक्षण गरिने छ। जसमा सरकार आफैले विदेश जान पूर्व, गन्तव्य मुलुकमा रहँदा र स्वदेश फर्कंदासमेत छुट्टाछुट्टै स्वास्थ्य परीक्षण गर्ने छ।

आप्रवासन नेपालीहरुको स्वास्थ्यलाई ध्यान दिँदै बनाउन लागिएको सो नीति  निर्माणको लागि हाल मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरुको एक समितिले तयार गरेको उक्त नीतिको ड्राफ्टसमेत तयार भइसकेको छ। उक्त ड्राफ्ट राष्ट्रिय आप्रवास स्वास्थ्य नीति २०७५ उच्चस्तरीय समितिले पारित गरेपछि मन्त्रिपरिषद्मा लगिने तयारी छ।  

सरकारले विदेश गएर फर्कने प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्थाको ख्याल गर्नु मात्र नभएर भित्रन सक्ने संक्रामक रोगहरूको निगरानी, पहिचान तथा नियन्त्रण गर्दै त्यसबाट जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने उद्देश्य रहेको अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले बताए।

स्वास्थ्यको उच्च जोखिममा छन् विदेशमा जाने नेपाली

राष्ट्रिय जनगणना २०६८ का अनुसार हालको कुल जनसंख्याको करिब सात  प्रतिशत नेपाली आन्तरिक तथा बाह्य आप्रवासनमा जाने देखाएको छ।

सरकारी तथ्याङ्कमा हाल करिब ४ लाख नेपाली युवा श्रमका लागि विदेशिने गर्छन्। जसमा ९५ प्रतिशत नेपालीमा उचित सिप र दक्षताको कमी भएकाले विभिन्न जोखिममा पर्ने गरेका छन्। जसले गर्दा विदेशमा अझ खाडी मुलुकमा रोजगारीको लागि जाने नेपालीहरुमा मुटु, श्वासप्रश्वास र मिर्गौलासम्बन्धी रोग तथा सडक दुर्घटना र विभिन्न प्रकारका शारिरीक शोषण र मानसिक तनावले गर्दा आत्महत्या गर्नेको संख्या उच्च रहेको देखिन्छ।

जसको न्यूरिकरणको लागि छुट्टै राष्ट्रिय आप्रवासन स्वास्थ्य नीति २०७५ को तर्जुमा नीति ल्याउन लागिएको हो। हाल नेपालबाट  विश्वका १ सय १० गन्तव्य राष्ट्रहरू संस्थागत रूपमा वैदेशिक रोजगारमा जानका लागि खुला गरिएको छ भने व्यक्तिगत तवरबाट विश्वका करिब १ सय ७२ मुलुकमा नेपाली नागरिक श्रम तथा रोजगारीका लागि जाने गरेको देखिन्छ।

हाल विदेश जानेको लागि सरकारी मान्यता प्राप्त दुई सय ३४ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्ता र एक सय ५९ वटा केन्द्रमा वैदेशिक रोजगारीमा जानेको लागि परामार्श केन्द्र स्थापना गरिएको छ। यस्तै अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँचका लागि अन्तर्राष्ट्रिय विमानस्थल एवं विभिन्न सिमा नाकाको प्रवेश विकेन्द्रहरुमा स्वास्थ्य परीक्षण कक्षको समेत व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.