वैधानिकतामाथि एन्फाको प्रश्न

|
सहारा क्लबको फेसबुक पेजबाट साभार

इलाम : नेपाली फुटबलमा क्यामरुनको दाफिन्स फुटबल क्लबले सहभागिता भएको पाँच खेलमध्ये तीन खेलमा उपाधि चुमेको छ। गत माघ पहिलो साता सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करणमा सहभागिताका लागि आमन्त्रण गरिएको क्यामरुनी क्लब दाफिन्स छोटो समयमा नै नेपाली फुटबल प्रतियोगिताहरुमा चम्किएको छ। 

दाफिन्सले एकपछि अर्को गर्दै रुपन्देहीमा भएको तिलोत्तमा गोल्डकपको उपाधि जित्दै नेपाली फुटबल प्रतियोगितामा ह्याट्रिक गर्‍यो। अग्ला र बलिया कदका अफ्रिकी खेलाडी रहेको दाफिन्सका खेलाडी तुलनात्मक रुपमा नेपाली खेलाडीहरुका लागि चुनौती बनेका छन्। पहिलो र दोस्रो सहभागितामा खासै ‘नोटिस’ नभएको टिमले त्यसपछिका हरेक प्रतियोगितामा घरेलु फुटबलका पावरहाउहरुका लागि चुनौती बनेको छ।

दाफिन्सको प्रदर्शन

पहिलो सहभागिताको खप्तड गोल्डकपमा एलोन म्याक्सबेल प्रेरित खेलमा संकटासँग १–० झिनो अन्तरले दाफिन्स पराजित बन्यो। खप्तडमा सहभागी हुन दाफिन्सका ११ खेलाडी काठमाडौं हुँदै धनगढी पुगेका थिए भने पाँच जना कलकत्ताबाट लखनउ हुँदै खेलस्थल पुगेका थिए।

खप्तड गोल्डकप आयोजक समितिका अध्यक्ष सुरेश हमालले क्यामरुनी टोली बलियो रहेको बुझेर नै आमन्त्रण गरेको बताउँछन्। ‘धनगढी आइपुगेको एक घण्टा नबित्दै खेल मैदानमा उत्रिनु परेकाले थकित खेलाडीहरुले खप्तड गोल्डकपमा हारेका हुन्,’ उनले भने, ‘टिम त बलियो नै हो। नेपालको मैदानबारे जानकारी पनि थिएन त्यसैले खप्तडमा खासै राम्रो प्रदर्शन नभएको हो।’

त्यसलगत्तै माघ १२ मा सुनसरीको इटहरीमा भएको मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उद्धघाटन खेलमा झापाली टोली काँकडभिट्टा ट्रेनिङ सेन्टरसँग टाइब्रेकरमा ३–१ ले पराजित भयो। 

नेपाली भूमिमा दुई वटा प्रतियोगिताको सहभागितापछि भने दाफिन्सले लय समात्यो। विश्व फुटबलमा क्यामरुनको खासै सशक्त प्रदर्शन नभए पनि देश चिनाउन बार्सिलोनाका पूर्वस्टार सामुएल इटो नै पर्याप्त बने। इटो कै लय नेपालमा दाफिन्सले देखाउने प्रयास थालेको छ।

दुई प्रतियोगितामा हार व्यहोरेको दाफिन्सले तेस्रो प्रतियोगिताबाट उपाधि यात्रा थाल्यो। त्यसपछिका १० वटा खेलमा अपराजित कीर्तिमान बनाएको छ। माघ १६ गते पोखरा कपको प्रि–क्वाटरको दोस्रो खेलमा ए डिभिजन क्लब भ्याली च्यासललाई १–० ले हरायो। क्वाटरफाइनलमा नेपाली फुटबलको पावरहाउस विभागीय टिम त्रिभुवन आर्मीलाई ४–१ ले पराजित गरेको थियो। 

आर्मीका कप्तान भरत खवास शारीरिक बनावटले पनि दाफिन्स नेपालका जाइन्ट क्लबमाथि हाबी भएको बताउँछन्। ‘उनीहरुको गेम खासै राम्रो चाहिँ होइन। उत्कृष्ट टिम भएको भए हामीबाहेकका अन्य टिमसँग पेनाल्टी सुटआउटसम्म पुग्नुपर्ने थिएन,’ उनले भने, ‘तर फिजिकल फिटनेस र स्टामिना चाहिँ राम्रो छ। अग्लो कद र बलियो शरीरको फाइदा उठाएका हुन्। जति पनि जित निकाल्यो अधिकांश पेनाल्टी सुटआउटमा नै हो। अझै थ्रीस्टारसँग खेल्नै बाँकी छ।’

पोखरा गोल्डकपमा आर्मीलाई पराजित गरेर उच्च मनोबलमा रहेको टोलीले फाइनल प्रवेश गर्न लिग लिडर मनाङ मस्र्याङदीलाई पराजित गर्‍यो। सो प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबमाथि १–० को जित दर्ता गरेपछि दाफिन्सले उपाधि चुम्यो। उसको यो सफलतालाई मनाङका प्रशिक्षक फुजा टोपे ‘टिम सेट’ कारक भएको बताउँछन्। ‘अब उनीहरुले नेपाली फुटबल बुझिसके,’ उनले भने, ‘लगातारको सहभाीग्ताले उनीहरुको टिम सेट भइसकेको छ। उनीहरुको शारििरक कदले पनि अरु क्लबपछि पर्छन्।’

पोखरा गोल्डकपको उपाधि उचालेको तीन दिनपछि दाफिन्सले सुनसरीको धरानमा भएको बुढासुब्बा गोल्डकपमा एपिएफलाई नै २–० ले हरायो। सेमिफाइलनमा विभागीय टिम नेपाल पुलिस क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ ले हराएर उपाधि चुम्यो। दुई उपाधि चुमिसकेपछि उपाधि ह्याट्रिक गर्न दाफिन्सलाई खासै चुनौती सामना गर्न परेन। मोफसलको किङ मानिएको झापा–११ लाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै रुपन्देहीको बुटबलमा भएको तिलोत्तमा गोल्डकपमा पराजित गर्‍यो। टोलीले फाइनलमा पुलिस क्लबलाई सडनडेथमा दोस्रो पटक हराउँदै उपाधि चुम्यो। आहा रारा गोल्डकपमा समेत पुलिसमाथि दाफिन्स हावी भयो। अतिरिक्त समयमा २–१  गोल अन्तरले पुलिस तेस्रो पटक दाउफिन्ससंग पराजित बन्यो।

पेनाल्टी सुटआउटको साहरा

पाँच वटा प्रतियोगिताको प्रदर्शनका आधारमा दाफिन्सको मुख्य खम्बा यान्निक दाफिनास देखिए। पछिल्लो १० खेलमा उनले सात गोल गरेका छन् भने १ रेड कार्ड समेत व्यहोरे। तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा खेलको ६८ औँ मिनेटमा उनले रेड कार्ड पाएका थिए।

दाफिन्स क्लबले जित निकाल्न टाइब्रेकरसम्म पुग्ने गरेको छ। आर्मीका कप्तान भरत खवास दाफिन्स टिमको पेनाल्टी सुटआउट राम्रो भएको बताउँछन्। ‘उनीहरु सबै जसो टिमलाई गेममा गलाएर पेनाल्टी सुटआउटसम्म पुर्‍याउँछन्,’ उनले भने, ‘पेनाल्टी प्रहारमा जित निकाल्न सक्नेमा विश्वस्त छन्। जति पनि प्रतियोगितामा हेर्नुस् धेरै जसो पेनाल्टीमा नै जित निकालेका छ।’ दाफिन्सले पाँच प्रतियोगिताको १२ वटा खेलमा पाँच वटा पेनाल्टी सुटआउट र सडन डेथमा जित निकालेको छ।

वैधानिकतामा प्रश्न

पछिल्लो समय मोफसलमा आयोजना भएका प्रतियोगिताहरुमा एकछत्र राज जमाउँदै आएको दाफिन्स फुटबल क्लबको सहभागितामाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रश्न उठाएको छ। प्रतियोगिता आयोजकहरुलाई दाफिन्स मान्यता प्राप्त टोली नभएको र सहभागी नगराउन जानकारी गराए पनि आयोजकहरुले आफुखुशी सहभागी गराएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको दाबी छ। 

‘हामीले दाफिन्सलाई मान्यता दिएका छैनौं। मान्यता नदिएपनि खेलिरहेको छ,’ खप्तडमा एन्फाको स्वीकृतिमा सहभागिता जनाएको भन्ने प्रश्नमा शेर्पाले भने, ‘हामीले क्यामरुनी फुटबल संघको चिट्ठी ल्याउने भन्ने सहमतिमा सहभागी हुन दिएका हौँ। तर अहिलेसम्म ल्याएको छैन।’

अध्यक्ष शेर्पाले सकेसम्म कानुन कार्यान्वयनमा कडाइ गर्ने प्रयास जारी राख्ने बताए। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले टोलीलाई मान्यता दिएको र राखेप एन्फाभन्दा माथिल्लो तहमा रहेका कारण कारवाहीमा कठिनाई भएको उनको भनाइ छ। अध्यक्ष शेर्पाले अहिलेको अवस्थामा प्रतियोगिता नियमावली स्वीकृत नभएको कारण आयोजकहरुको मनपरी रहेकोले आगामी वर्षबाट नियमन हुने बताए। ‘अहिले मोफसलमा हुने प्रतियोगिता आयोजना नियमावली एन्फाबाट स्वीकृत भएको छैन,’ उनले भने, ‘आगामी साधारणसभाबाट हामी नियमावली स्वीकृतीसम्बन्धी मापदण्ड बनाउँछौ। त्यसपछि अनियन्त्रित गोल्डकपहरु समेत नियमन हुनेछन्।’ 

एजेन्ट मार्फत नेपाल प्रवेश

प्रशिक्षकबिना नै मोफसलको प्रतियोगिता खेल्दै आएको दाफिन्स टिमलाई स्थानीय संयोजकको रुपमा आशिक थापा मगरले मदन भण्डारी गोल्डकपमा सहभागी गराएका थिए। त्यसलगत्तै खेलेको बुढासुब्बा गोल्डकपको अन्तिम समयमा दाफिन्सले क्यामरुनबाट प्रशिक्षक झिकाएको थियो।

पोखरा कपको सेमिफाइनल खेल्दा दाफिन्ससँग दोस्रो जर्सी नहुँदा आयोजकको जर्सी लगाएर मनाङविरुद्धको म्याच खेलेको थियो। टिममा अहिले १८ खेलाडी, एक प्रशिक्षक र नेपाली एक स्थानीय संयोजक रहेका छन्। दाफिन्स टिमलाई नेपाल झिकाउने काम फुटबल एजेण्ड नेपाल नामक संस्थाले गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.