|

डडेल्धुरा : सुदूरपश्चिमका डडेल्धुरा लगायतका पहाडी जिल्लाहरूमा सोमबार रातिदेखि हिमपात सुरु भएको छ। सोमबार र मंगलबार राति भएको हिमपातका कारण चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित बनेको छ।

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएपछि चिसो ह्वात्तै बढेको हो।उता, बैतडीको सतबाँझ, ग्वाल्लेक, खोड्पे, श्रीभावर, ढोल्यामोड, बाचपानी, नाचन्थली, जित्कीजुँवाड, सिगासधुरा लगायतका उच्च क्षेत्रमा भारी हिमपात भएको छ।

करिब दुई दशकपछि डडेल्धुरामा फागुनमा हिमपात

करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ। केही दिन यतादेखि भइरहेको मौषम बदली र हल्का वर्षासँगै गए राति डडेल्धुरामा हिमपात भएको हो। जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भएको हो। लामो समयपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको स्थानियको भनाई रहेको छ। फागुन महिनाको दोस्रो हप्तामा भएको हिमपात भएपछि डडेल्धुराबासी हर्षित भएका छन्।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीय बताउँछन्। एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन्।

पटकपटक भइरहेको हिमपातका कारण पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि निरन्तर रुपमा भइरहेको वर्षाका कारण सिँचाई हुने खेतमा लगाइएको गहुँ लगायतको अन्नबाली भने नहुने हो की भन्ने पिर यहाँका किसानमा छ। यो वर्ष डडेल्धुरामा पाँचौ पटक हिमपात भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.