|

काठमाडौं : बुधबार दिउँसो करिब १:५५ को समय। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारमा चलिरहेको थियो। बैठकमा नागरिकता विधेयकबारे दफाबार छलफल भइरहेको थियो। त्यतिबेलै गृह सचिव प्रेमकुमार राईलाई कसैको फोन आयो। उनले बाहिर निस्केर फोन उठाए।

उनी मलीन अनुहार लिएर बैठकमा फर्केर भने, ‘एउटा दु:खद् खबर छ। पर्यटन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टि हेलिकोप्टर दुर्घटना भएको छ।’ एकाएक बैठकमा उपस्थित सबैको अनुहार मलीन देखियो। यत्तिक्कैमा समिति सभापति शशी श्रेष्ठले दुःखद खबर सुन्नु परेकाले बैठक स्थगित गरेको उद्घोष गरिन्।

त्यतिनैं बेला बैठकमा सहभागी पत्रकार माधव दुलालले थाहा सञ्चार नेटवर्कको समाचार कक्षमा फोन गरे र घटनाबारे जानकारी गराए। अनि थाहा खबर डटकम अनलाइन सहित सञ्चार माध्यममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा परेको समाचार ब्रेकिङ बन्यो।

केहीले समाचारको पुष्टि गर्न फोन घुमाउन लागे। यो पङतिकारलाई पनि घटनाको बारेमा बुझ्न ताप्लेजुङ र तेह्रथुमका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई सम्पर्क गर्न करिब २० मिनेट लाग्यो। उनीहरूका फोन दिनभर नै व्यस्त रहे।

घटना भएको पुष्टिसहितका समाचार अनलाइनमा आउन थाले। योसँगै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि यो खबरलाई लिएर स्ट्याटसको वर्षा भयो। शुरुमा घटना पत्याउन गाह्रो भए पनि अन्त्यमा सत्यमा विश्वास गर्न बाध्य हुनु पर्‍यो। दुर्घटनाका बारेमा फरकफरक कोणबाट ब्रेकिङ समाचारको ओहिरो लाग्यो। सामाजिक सञ्जालमा पनि निधन भएका मन्त्री अधिकारीसहितका मृतका तस्वीर ब्ल्याक एन्ड ह्वाइट बनाएर श्रद्धाञ्जलि व्यक्त हुन थाले।

गृहमन्त्रालयले पनि पत्रकार सम्मेलन गरेर घटनाको पुष्टि गर्‍यो। गृहप्रवक्ता रामकृष्ण सुवेदीले सातै जनाको शव फेला परेको बताए। उनले मन्त्री अधिकारी र उनका पिएसओको मात्र शव पहिचान गर्न सकिने अवस्थामा रहेको बताए। घटनामा निधन भएकामध्ये दुई जनाको मात्र शव पहिचान भएको उनले सुनाए।

बुधबार दिनभर ताप्लेजुङको पाथिभरा नजिकै भएको हेलिकोप्टर दुर्घटनाको खबर भाइरल बन्यो। योसँगै सामाजिक सञ्जालमा समवेदना र श्रद्धाञ्जलि दिनेको ओहिरो लाग्यो। यतिबेला समाचार तयार गर्दै गर्दा मन्त्री अधिकारीका समकक्षीहरू उनीसँगैको तस्वीर पोष्ट गरेर घटनाप्रति दुःख व्यक्त गरिरहेका छन्। सरकारका मन्त्रीहरू, सरकारी अधिकारीहरू, राजनीतिक दलका नेता, कलाकार, पत्रकार, सर्वसाधारणलगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

मन्त्री अधिकारीका समकक्षीहरूले उनलाई मिलनसार, उदयमान युवा नेता र राजनीतिका योद्धाका रूपमा चित्रण गरेका छन्। अब उनीसँगका यादहरू मात्र बाँकी रहेको उनीहरूले बताएका छन्। कतिले घटनाबारे विश्वास गर्न कठिन भएको प्रतिकृया दिएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको कारण पत्ता लगाउन सरकारलाई तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.